नौरङ्गी (एक सय एक लधुकथा) सरण राई

 

नौङ्गी



नौङ्गीएक सय एक लधुकथा


           
सरण राई 
धरान, मो–९८४२०५५२६२




         














































सम्बोधन
(लक्ष्मी राईको सम्झनामा ..)

तिमीले जन्माएका साश्वत माया प्रेम— स्याहार्नु छ
तिमीले रोपेका सुन्दर पूmल बिरुवा विचार— गोडमेल गर्नु छ
तिमीले स्याहारी सम्भालीरहेको मायालु ‘म’....स्याहार्नु सम्भाल्नु छ
सबैभन्दा मुस्किल... तिमी सम्झि रुने मन बुझाउनु छ !

सुन्दर सप्तरङ्गी रङहरूले सजाएथ्यो मलाई
प्रेम गगनमा साथ साथ उडाएथ्यो मलाई
अझै मुटुमा  छौ बस्छौ  
नौरङ्गी जीवनमा  पनि साथ दिन्छौ  साथ साथ छौँ 
असीम मायाले भिजाउने तिमी अजर अमर अजम्बरी छौ !!

तिमी निर्मित प्रेम सागरमा पौडिरहन सकूँ
पखेटा काटिए पनि तिमी निर्मित प्रेम गगनमा उड्न सकूँ
तिमीले छाडेका थालेका अधुरा सपना पूरा गर्न सकूँ 
(तिम्रै साथ पाएर तिम्रो लागि मुस्कुराउथे, हाँस्थे)
तिमी सम्झि (तिमी नभएपछि हाँस्ने कसरी ?) अझै धेरै  रुन सकूँ !!!





नौरङ्गी

मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।





 
लघुकथा क्रम


१.मुकुट
२..किम्बदन्ती  यती हिमतालको
३.आफ्नो घर
४.आनन्द
५.सम्मान
६.अन्धा जनता
७।हार्न नचाहने मान्छे 
८।चमत्कारी कुटी
९।तस्विर
१०.राखन 
११.भिन्नता
१२.महान साहित्यकार
१३.समय गुज्रेपछि
१४.नयाँ परिभाषा
१५.फूल कि तरकारी
१६.लहै लहैको देश
१७.जन्म, जीवन र मृत्यु
१८.अर्को उज्यालो
१९.मान्छेको माया
२०.पसिनाको स्वाद
२१.भ्रम 
२२.त्याग
२३.कुल्लीको छोरो
२४.‘फिनिसिङ टच’
२५.क्रन्दन
२६.समकालिन संसार
२७.एक दिन
२८.गरिबको गायक
२९.बाँच्ने कसरी ?
३०.त्यो मान्छे
३१.एक पैसा 
३२.भेल
३३.तुच्छ धन
३४.बाँचेकै छु !?
३५.फेरि भेट होला ?
३६.युक्ति
३७.अहङ्कार
३८.मलामि चाहिँदैन
३९.बौरिने जीवन
४०.सर्कसको सिंह
४१.ज्ञानको परिधि
४२.चासो
४३.साथीको सहयोग र माया
४४.आशको चरी
४५.अधुरो जीवन
४६.असल साथी
४७.महान्
४८.मोह 
४९.सहज मृत्युवरण 
५०.चुरीफुरी
५१.सपना र जीवन
५२.कल्पनाको सुख
५३.काठको बाकस
५४.आस्था
५५.गणतन्त्र
५६.बीस वर्ष
५७.राष्ट्रिय सहमति
५८.फेसबुके  सुख
५९.रोग र समय
६०.सर्वकृपालु
६१.प्रतीक्षा
६२.सुन्दर संसार
६३.अभिभावक
६४.आफैँ आफ्नो मालिक
६५.अर्को ढोका
६६.पीडाबोध
६७.आत्मियता
६८.एक छाके
६९. मनोभाव
७०.दुःखको मुहान्
७१.जिउँदै छु 
७२. अन्तिम यात्रा
७३.मोतीबिन्दु
७४.शक्तिको स्रोत
७५.अन्तिम सम्मान
७६.अन्तरदृष्टि
७७.सजिलो
७८.सुस्त मनस्थिति
७९.अवस्था
८०.गुठ
८१.चरित्रमानहरू
८२.विश्वास
८३.नयाँ संस्कृति
८४.किसानको बालीनाली
८५.ऊ पनि मरेछ
८६.रुवाइ
८७.सिडी र भ¥याङ
८८.अनमोल आँसु
८९.एकल जीवन
९०.विछोड
 ९१.आमा
९२.मुस्कान
९३.साथ
९४.अर्को साल
९५.दोधार
९६.अन्तिम सहारा
९७.फेरि आँसु झर्छ
९८.रूने किन ?
९९.चकलेट
१००.फ्रेमभित्र मुस्कुराइरहेको तस्वीर
१०१.जीवनको नियम


 













मुकुट

ऊ असफल भएर आर्थिकरूपले समस्याग्रस्त भयो  । नोकरी, व्यापार, खेती  केही  थिएन । भोकै हुने अवस्था आएपछि उसले युक्ति निकाल्यो—  एउटा मुकुट बनाएर समाजको सबैभन्दा ठूलो मान्छेलाई सम्मान गर्दै पहि¥याउने ।
‘गणतन्त्रको युगमा पनि के को मुकुट ?’ मानिसहरूले भने ।
‘राजा बनाउन मुकुट पहि¥याउने नभएर सबैभन्दा ठूलो मान्छेको सम्मान गर्ने असल तरिका हो ।’ उसले भन्यो ।
मुकुट भनेपछि महँगो हुने नै भयो । आफ्नो ठाउँको इज्जत जाला भन्दै उसले सबैसंँग थुप्रै चन्दा उठायो । नेता, उद्योगी, व्यापारी, साहित्यकार, समाजसेवी र अन्य सबै ठूला मानिसहरू आपूmलाई त्यस ठाँउको सबैभन्दा ठूला मानिस सम्झन्थे । त्यो मुकुट आपूmले नै पहिरिन पाउँछु भन्ने सोच्थे । त्यसैले उसको काममा सबैले साथ दिए । मुकुटका लागि उसको चाकडी गर्न थालेका थिए ।
‘मुकुट पाइयो भने त चुनाव जित्न सजिलो हुन्छ’ नेता सोच्थे । ‘ठूलो मान्छे भइन्छ’ अरुहरू सोच्थे ।
ठूलो धनराशि उठ्यो, हेर्दाहेर्दै ऊ धनाढ्य भयो । उठेको कुल रकमको सय भागको एक भाग खर्च गरेर उसले सुन, चादी र रत्नमिश्रित मुकुट बनायो ।
     मुकुट पहि¥याउने भव्य समारोहको आयोजना ग¥यो । सबै ठूला भनाउँदाहरूले मुकुट आपूmले नै पाउँछु भन्ने सोचेका थिए । त्यसैले कसैले विरोध गरेनन् । सबै ठूलाहरूले त्यस कार्यक्रममा ठूला ठूला भाषण र शुभकामना मन्तव्य दिए । अन्त्यमा मुकुट पहि¥याउने समय आयो ।
ऊ उठ्यो र मुकुट सबैलाई देखाएर आफँैले पहि¥यो । उसका पत्नी ,नातागोता र पाल्तुहरूले ताली बजाए । विरोध गर्न भनेर नेताहरूले उठेर आफ्ना पाल्तुहरूलाई हेरे । पाल्तुहरू त कहिलेकहिले उसैले किनिसकेको रहेछ । उसकै  भिजिलान्तेहरूको ठूलो समूह देखेर आफूलाई ठूला सम्झनेहरू चुप भए । 
मुकुट पहिरेर ऊ त्यस समाजको सबैभन्दा सम्मानित ठूलो मान्छे भयो ।
मधुपर्क  पुर्णाङ्क  ५५५, २०७२  भदौ


२.

किम्बदन्ती  यती हिमतालको

ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोर दोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध खुवाए हुँदैन ?”
“यो काखको नानी मेरो नानी होइन, मेरो लोग्ने हो ।” उसको जवाफ सुनेर छक्क पर्दै म सोच्न थाल्छु, उसको दिमागी तन्तुहरू पनि खुस्केको हुनु पर्छ ।
“काखको नानी कसरी तपाईँको लोग्ने हुन्छ ?” म सोध्छु ।
ऊ केही बेर निर्निमेष दृष्टिले पर टाढा हेर्छे र मलाई । भन्छे— “यो काखको नानी मेरो लोग्ने हो । हामी लोग्ने स्वास्नी यहाँबाट हजारौँ किलोमिटर टाढा हिमालयको फेदिमा बस्थ्यो । खेती किसानीका साथ भेडा पालन हाम्रो पेसा थियो । त्यहाँ  हामीले चालिस वर्षभन्दा बढि सँगसँगै बसेर छोराछोरीहरू हुर्कायौँ । ठूला भएपछि छोराछोरीहरू गुडबाट उडेको बचेराझैँ टाढा गए । कहाँ गए ? फर्केर आएका छैनन् ।”
“खोइ त तपाईँको लोग्ने ?”
“इ, मेरो काखमा ।”
“होइन के भनिरहनु भएको छ ? यस्तो नानी पनि कसरी तपाईँको लोग्ने हुन्छ ?”
“यो त्यो दिनको यती हिमतालको जलको फल हो ।”
“कस्तो फल ?” म सोध्छु ।
“त्यो दिन म मेरा भेडाका पाठाहरू हराइरहेकाले हिउँले सधैं ढाकिरहने हिमरेखाभन्दा माथिको अग्लो स्थानमा पनि गएँ । त्यहाँ मैले यतीका पाइलाहरू देखेँ । ती पाइलाहरू पछ््याउँदै जाँदा एउटा हिमतालमा पुगेँ । थाकेको र प्यास पनि लागेकोले त्यसको पानी खाएँ । पानी खानासाथ  म ६० वर्षकी बूढी १७ वर्षकी तरुनी भएछु । त्यही तालको सङ्गलो पानीमा आफ्नो रूप हेरेर दङ्ग पर्दै म घर फर्किएँ । घरमा मेरो लोग्नेले मलाई चिनेनन् । मैले सबै कुरा बताए पछि उनी पनि त्यहाँ जाने भए । भोलिपल्ट बिहानै उनी त्यता गए । दुई दिनसम्म पनि उनी फर्केर नआएकोले खोज्दै म त्यही हिमताल पुगेँ । त्यहाँ मेरो लोग्ने  सानो नानी भएर किनारामा लडिरहेका थिए । उनलाई बोकेर म गाउँ फर्किएँ । गाउलेहरूले हामीलाई चिनेनन् । हाम्रो कुरा पनि पत्याएनन् र त्यहाँ बस्न दिएनन् । त्यसपछि आफ्नो लोग्नेलाई बोकेर म एक महिना हिडेर यहाँ आइपुगेकी छु ।  जीविकोपार्जनको केही उपाय नहुँदा मागेर गुजारा चलाइ रहेका छौँ ।”
उसको कुरा सुनेर म ‘विश्वास गरुूँ कि न गरुूँ’को स्थितिमा पुगेर उनीहरूलाई हेरेको हेरेकै हुन्छु । अहा, साँच्चै त्यो हिमताल  छ ? यौवन दिने हिमताल भए ...
ज्योति — 
(२०६८।१०।२६, धरान)




आफ्नो घर

मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ ।
मेरा उत्तराधिकारीहरू भन्न थालेका छन् ‘यो घर उनीहरूको हो ।’ हो पनि, घर मरम्मत, सह्यारसम्भार, सुग्घर सफाइ गरेर घर सुन्दर राख्नमा उनीहरूको ठूलो योगदान छ । म नबसे पनि उनीहरू यो घरमा बसिरहने छन् ।
घर भत्कियो भने मलाई भन्दा बढि उनीहरूलाई नोक्सान हुनेछ । उनीहरू घरबारविहीन हुनेछन् । तसर्थ पनि उनीहरूको मान्यता छ, ‘घर भइरहनु पर्छ ।’ तर विवाद छ, घर कस्को ? घर बनाउने मेरो कि उनीहरूको ?
सबै जीवितहरूको जस्तै घरमा वा पृथ्वीमा बस्ने मेरो अवधि धेरै छैन । घर उसैको हो जो त्यहाँ बस्छ । बसुन्जेल उसले ‘आफ्नो घर’ भन्छ तर अन्तमा घर उसको पनि हुँदैन ।
र, अब मैले आफूले बनाएकै भए पनि घरलाई ‘आफ्नो घर’ भन्न छाडेको छु ।

बागियान  साहित्यिक द्वैमासिक, वर्ष १, अङ्क १


आनन्द
एकजना आफन्तलाई सिलगडी उपचार गर्न लगेको बेला सस्तोमा किनेको जुत्ताको सम्झनाले अझै पनि मलाई मनमनै हसाउँछ ।
नरसिङ्गहोममै चिनजान भएको जोरथाङको एकजना नेपालीसँग प्रधाननगरको व्यस्त सडकमा घुम्न गएका थियौँ । एकजना खम्पाजस्तो देखिने आइमाई ‘वुडल्यान्ड’ ट्रेडमार्कको जुत्ता सडकको छेउमा फिजाएर बेचिरहेकी थिई । जुत्ताको मूल्य सोध्दा १५०।– भनिन् । त्यस्तो जुत्ताको मूल्य (शोरुम)दोकानमा अठार,उन्नाइस सय रुपियाँ पथ्र्यो ।
मान्छेहरू  तँछाडमछाड गर्दै फटाफट जुत्ता किनिरहेका थिए । हेर्दाहेर्दै ३०÷४० जोडी बिक्री भयो । मैले पनि एक जोडी किनेँ । जोरथाङको नेपाली साथीले नौ जोडी किने । मसित पनि पैसा भएको भए नौ जोडी नै किन्ने थिएँ, त्यति सस्तो पाएको बेला !
सस्तोमा पाएको जुत्ता नेपाल फर्केपछि गमक्क पर्दै लगाएँ । पहिलो दिन जुत्ताको अलिकति सिउनी उध्रियो, दोस्रो दिन अर्को ठाउँ फाट्यो । हप्ता दिन बित्न पाएको थिएन, जुत्ता फाटेर टुक्राटुक्रा भयो । कति नराम्ररी फसिएछ । १५०।– रुपियाँ सित्तै गयो । मन च्वास्स दुख्यो । ‘सस्तो बेसाहाले पखाला चलायो’ सम्झेँ । मन खिसिक्क भयो ।
तर जोरथाङको साथी (जसले नौ जोडी जुत्ता किनेका थिए) सम्झदा आफू ठगिएको कुरा बिर्सिएर मलाई आनन्द लाग्यो ...परपीडाको आनन्द !
हप्तादिनमै टुक्रा टुक्रा हुने नक्कली नौ जोडी जुत्ता किन्ने उनको अवस्था कस्तो भयो होला ?
२०६९ असोज ११, धरान



 
सम्मान

म केही कामको सिलसिलामा काठमाडौ आएको छु । धेरै वर्ष अगाडि पढाएको एकजना बिद्यार्थीसँग दिनैपिच्छे भेट भैरहेको हुन्छ । मलाई देख्नासाथ ऊ टाढैबाट झुकेर नमस्कार गर्छ । उसको यस्तो गुरुप्रतिको सम्मान देखेर म हर्षले गद् गद् हुन्छु ।
आज पनि उसँंग भेट हुन्छ । म हिड्नै आटेको हुन्छु । झन्डै झन्डै  बाटो नै छेकेर ऊ भन्छ— “अग्रिम बधाई, सर !”
“के को बधाई ?” म छक्क परेर सोध्छु ।
“सरको पनि भावी  मन्त्रीहरूको सूचीमा नाम सुनिन्छ । सांसद त भैहाल्नु भयो, मन्त्री भैसकेपछि यो पुरानो  बिद्यार्थी रामप्रसादलाई पनि सम्झनु होला, सर ।”
ऊ झुक्किएको रहेछ । मसंँगै काम गर्ने अर्को प्राध्यापक सांसद भएका छन् । उसले देखाएको सम्मान र घनिष्टता त ती  सांसद र सम्बावित भावी  मन्त्रीका लागि पो रहेछ ।
उसले त मलाई (अथवा मेरो नाम समेत) बिर्सिसकेको रहेछ ।


साब्लाबुङ  कातिक–माघ, २०६७)

अन्धा जनता


     “सम्पूर्ण दुःखको मुहान आँखा हो । यसलाई चिम्म पारेर केही बेर मोक्ष अनुभव गर्नुभन्दा आँखालाई फुटाई नै दियो भने सधैंका लागि मोक्ष प्राप्त हुन्छ । हो कि होईन ?” नेता आफ्ना पिछलग्गु कार्यकर्ता र जनताहरूलाई सोध्छन् ।
“हो, हो ।” भिजिलान्तेहरू कराउछन् ।
“हो, हो ।” एकोहोरिएका पिछलग्गु कार्यकर्ता र जनताहरू पनि कराउछन् ।
हो, आँखाले देखेर त लोभ लालच पलाउँछ । प्राप्तिको इच्छा जाग्छ र प्राप्त गर्न नसक्ता दुःख जन्मन्छ । आँखै नभएपछि दुःख स्वतः समाप्त हुन्छ भन्ने सोचेर पिछलग्गु कार्यकर्ता र जनताहरू आफ्ना आँखा फुटाउन राजी हुन्छन् ।
उनीहरूका आँखा निर्दयतापूर्वक फुटाइन्छ । आँखा गुमिसकेपछि पो आँखाको महŒव उनीहरूलाई थाहा हुन्छ । आँखा त राम्रो–नराम्रो, सुख–दुःख, शोषण, अन्याय, प्रेम, घृणा, सत्य–असत्य, विविध रङ्ग, रमाइलो संसार आदी छुट्याउने चेतना पो रहेछ ।
“फुटाइसकेको आँखा फेरि बन्न सक्तैन । म तिमीहरूलाई मानिसहरूको भीड हुने ठाँउहरू दोबाटो, बसपार्क, हटियामेला, रेल्वेस्टेसन, आदी स्थानहरूमा पु¥याउछु । भीख माग्नु । भीखबाट उठेको सबै रकम मेरो हुनेछ । भीख मागेर कमाइन्जेल म तिमीहरूलाई दया गरेर आधि पेट खान दिइरहनेछु ।”
नेता अट्टहाँस गर्छ । नेताको लहैलहैमा लागेर अन्धा भइसकेका पिछलग्गु कार्यकर्ता र जनताहरू नेताका नीजि सम्पत्ति भइसकेका हुन्छन् । र, विवश उनीहरू पूर्णतया नेतामाथि आस्रित हुन्छन् ।
सौर्य  दैनिक, २०७२ माघ १६ शनिवार  

हार्न नचाहने मान्छे 
उसले आफ्नो लामो जिन्दगी फर्केर हे¥यो । जितेको अनुभूति भएन । ऊ सधै हारेको रहेछ । पेट पाल्ने सुसे धन्दामै  उसको सम्पूर्ण जीवन बितेको रहेछ ।
सम्झेर निस्सार जीवन उसको मन हुडलिएर आउँछ । आँखामा आँसु आउँनुका साथै उसको मन एक तमासको हुन्छ । थाहै नपाई व्यर्थ गएको जिन्दगी सम्झेर आँसु तर्तरी झर्छ ।
ऊ स्कुलमा पढ्दा कविता लेख्ने गथ्र्यो । आज अचानक उसलाई कविता फुर्छ । लेख्छ मन, मुटु र मगजमा थुप्रिएको अनगिन्ती पीडा, व्यथा र ... के के !
कविता सुन्दर बन्छ । स्थानीय पत्रिकामा छपाउछ । असफल एउटा सङ्गीतकारलाई त्यो कविता मन परेछ । निकै मिहिनत गरेर सङ्गीत भर्छ । गाउने कसले ? एउटा असफल गायकलाई त्यो गीत गाउँन लगाउछ । 
गीत ‘सुपरहिट’ हुन्छ । सुन्नेहरू कोहि क्वाँक्वाँ  रुन्छन भने कोहि अत्यन्त प्रसन्न भएर मुस्कुराउँछन् । कस्तो अचम्भको गीत ! सबको मन र मुटु छुन सफल हुन्छ । सबै त्यो गीत गुन्गुनाउन मन पराउछन् ।
त्यो एउटै कविता (गीत)ले तीनजना हार्न लागेका मान्छेहरूलाई हार्न दिदैंन । उनीहरू त्यो एउटै कविता (गीत) जीवन्त रहुन्जेल बाँचिरहेका हुनेछन् ।
ऊ असाध्य बिरामी भएको खबर सुनेर संङ्गीतकार र गायक उसलाई भेट्न जान्छन् । उनीहरू कविको उपचारको लागि जति पनि खर्च गर्न तयार थिए । तर ऊ मान्दैन । भन्छ— “बरु त्यहि गीत मलाई सुनाउनुहोस, म सुन्दै मर्न चाहन्छु ।” गीत सुन्दै उनी बिते ।

हार्न नचाहने मान्छे आफ्नो कृति र असल कामले सदैव जीवित रहन्छ । ऊ बिजेता बन्छ ।                     
२०७१ फागुन ६
                


चमत्कारी कुटी

चमत्कारी कुटीदेखि धेरै पर अग्लो स्थानमा मजस्तै रमिता हेर्न आएका धेरै मानिसहरू छन् । उनीहरू सबैको नजर चमत्कारी कुटीमा नै केन्द्रित छ ।
चमत्कारी कुटी बीचमा रहेको छ । त्यस्तो ठूलो होइन, मुस्किलले पचासजना मान्छे अट्दो होला । तर त्यसको सजावट भने आँखा तिर्मिराउने किसिमको छ । सुनको भित्तामा टाँसिएका बहुमूल्य हिरा जवाहरात, मणिमाणिक्य चमचम चम्किरहेको देखिन्छ । जति हे¥यो हेरिरहूँ लाग्ने ।
यो कहिले बन्यो मानिसहरूलाई थाहा छैन । यसका वरिपरी सहर बसेको छ । सहरको पनि आफ्नै विशेषता रहेको छ । महँगा होटल, बहुमूल्य गहना र लुगाको पसल, फोटो र भि.डि.ओ स्टुडियोहरू चमत्कारी कुटीका वरिपरी रहेका छन् ।
चमत्कारी कुटीले ठूलो धनराषी लिएर ८०वर्ष नाघेका वृद्ध वृद्धाहरूलाई एक घण्टाका लागि एक पटक लक्का तन्नेरी वा तरुनी बनाउँछ । एक घण्टाका लागि तन्नेरी वा तरुनी बन्न संसारभरिका हजारौँ धनि मानिसहरू त्यहाँ आएर आफ्नो पालो पर्खिरहन्छन् । चमत्कारी कुटीको चमत्कार हेर्न आउने पर्यटकहरू र पालो पर्खने वृद्धवृद्धाको घुइचो सधै हुने भएकोले त्यस सहरका बासिन्दाहरूको आम्दानि बढेको बढेकै छ ।
चमत्कारी कुटीको एकापट्टिको ढोकाबाट ८०वर्ष नाघेका वृद्ध वृद्धाहरू पस्छन् र करिब त्यहाँ तीन घन्टा बसेर लक्का जवान भएर अर्को ढोकाबाट निस्कन्छन् । उनीहरू एक घन्टा तन्नेरी रहन्छन् । एक घन्टामा के के गर्ने उनीहरू सबैको तालिका मिल्दोजुल्दो देखिन्छ ।
फोटो र भिडिओ खिच्छन् । नजिकै रहेको रिसोर्ट र होटलको कोठामा तन्नेरी भएका जोडीहरू तन्नेरी रहुन्ज्याल बस्छन् । आफ्नो अतृप्त प्यास मेटाउछन् । जोडी नभएकाहरूलाई जोडि उपलब्घ गराउने व्यवस्था पनि रहेको छ । ती रिसोर्ट र होटलबाट तन्नेरी भएका वृद्ध वृद्धाहरू फेरि अघिजस्तै वृद्ध भइसकेपछि निस्कन्छन् । तर उनीहरूको अनुहारमा भने परम सन्तोषको सुखानुभूति देखिन्छ ।
सबै वृद्ध वृद्धाहरूले भन्दा अलग एकजना वृद्धले भने पत्रकार सम्मेलन गरेर भनेका हुन्छन्— “तन्नेरी हुँदा आफूले राखेको खेलको किर्तीमान म एक घन्टा तन्नेरी भएको बेला तोड्न चाहन्छु ।”  साँच्चै उनी एक घन्टा तन्नेरी भएर त्यो रिकर्ड तोड्न सफल हुन्छन् तर त्यसलाई विशेषज्ञहरूले मान्यता दिँदैनन् । “मान्यता नपाए पनि अब म यो जीवनसँग तृप्त छु” प्रसन्न भएर त्यो वृद्ध भनिरहेको हुन्छ ।

२०७२ चैत ४, सुकेधारा






 ९

तस्विर

परम्परागत नेपाली गहनाहरू कमाउन सक्ने सुनार मेरो घरमा भाडामा बसेको थियो । हङकङबाट भर्खरै आएका हर्कबहादुर र फूलमायाले  ती सुनारलाई कण्ठा, नौगेडी, शिर र कानको चेप्टे सुन कमाउन दिएका थिए । उनीहरू प्रत्येक दिन आएर गहनाहरू ठीकसँग तयार भईरहेका छ कि छैन भनि जाँचिरहेका हुन्थे । एघार तोला सुनको ती गहनाहरू तयार गर्न दुई हप्ता लाग्यो ।
उनीहरूको चित्त बुझ्दो गरी गहनाहरू तयार भए । खुशी भएर ज्याला र थप केही बक्सिस पनि दिएर गहनाहरू लगे ।
एक महिना पनि बित्न पाएको थिएन । सुन्छु पूmलमायाको मृत्यु भयो । सम्झन्छु एकदिन उनीहरूको घर जाँदा मधुमेह, मृगौला र मुटुको रोगी तिनी गहनाहरू लगाएर नै सुनिएका खुट्टाहरू कुर्सीमा तेर्साएर खाटमा बसेकी थिइन् । गहनाहरूले साँच्चै सुहाएको तिनको अनुहारमा प्रसन्नता र तृप्तिका झझल्को थियो । त्यति बेला तिनलाई देख्दा तिनी यति छिट्टै मर्छिन् जस्तो लागेको थिएन ।
म हर्कबहादुरको घरमा समवेदना प्रकट गर्न पुग्छु । मोनालिसा पाराको गहनाहरूले झकिझकाउ पूmलमायाको मन्द मन्द मुस्कुराउँन खोजेको ठूलो तस्विर अगाडि तपरीभरी चामलमाथि दियो र धुप बलिरहेको हून्छ । जेहोस् जीवनको अन्तिम कालखण्डमा नेपालीपनको सुनका गहनाहरूले झकिझकाउ भएर तस्विर खिचाउने तिनको रहर पूरा भएको थियो । त्यो सुन्दर तस्विर देख्दा लाग्छ तिनी जिउदै छिन् । 

आँखा डबडबाउदै बसेको हर्कबहादुरलाई समवेदना प्रकट गर्न तस्विर अगाडि राखिएको शोक–पुस्तिकामा  लेख्छु— ‘क्षणभङ्गुर चोला मानिसको ! काया नरहे पनि सम्झनामा सदैव जीवित रहने असल कृतिजस्तो तस्विरहरू प्रेमी मनभित्र अमर भएर रहन्छन् ।’
२०७२ चैत १४, सुकेधारा
१०
राखन 
माइला र माइली आफूसित भएको थोरै जग्गा जमिनमा धेरै परिश्रम गरेर जीवन निर्वाह गरीरहेका थिए । प्रसस्त सम्पति नभए पनि माइलीको हंसमुख स्वाभावले गाउँलेहरू उनीहरूको घर आईरहन्थे । जे जस्तो खाने चिज छ ,खुसी हुदै माइली खान दिन्थिन् ।
माइलीको आथित्य सत्कारबाट गाउँलेहरू खुसि हुन्थे र आफुले सकेको मद्दत गर्न चाहन्थे । माइला भने उसको सबैलाई खान दिने बानी देखि खुसि थिएन । माइली एक्लै भएको बेला भन्थ्यो— “त्यसरी खाने कुरा नबाँड, हामीलाई नै खाने कुराको अभाव छ ।“
रहदै बस्दा उनीहरूको पनि छोरा छोरीहरू जन्मिए, हुर्किए र बिहेवारी गरेर बेग्लाबेग्लै बस्न थाले ।
एकदिन सिकिस्त बिरामि भएर माइली परमधाम गईन्  । माइला बुढेसकालमा एक्लो भयो । उसलाई हेरचाह गर्ने कोहि थिएन । सकेको बेला पकाएर खान्थ्यो नभए भोकै बस्थ्यो । सार्है भोकाएको बेला भने ऊ गाउँलेहरूको घर जान्थ्यो । जसको घर गएपनि “माइलीले हामीलाई कति खाने कुराहरू दिएकी थिइन् ।” भन्दै उसलाई अघाउन्जेल खान दिन्थे ।
यस्तो देखेर माइली जीवित हुँदा उसले खाने कुराहरू गाउँलेहरूलाई दिँदा रिसाउने माइला सोच्न पुग्छ,“ माइलीले त अनेक खाने कुराहरू गाउँलेहरूलाई बाड़ेकी होइन रहेछ । मेरो लागि पो ति खाने कुराहरू राखनधरनमा राखी छाडेकी रहेछिन् जो गाउँलेहरूले अहिले मलाई दिई रहेका छन् ।”
२०७२ असोज १७, धरान

११
भिन्नता


“परिवार नियोजन नगरी धेरै सन्तान जन्माएर तपाईँहरू गरिब भएको हो !”
“होइन । गरिब बाबुको सन्तान भएको र गरिबको लागि काम गर्ने सरकार, नेता र दलहरू नहुनाले हामी गरिब भईरहेका छौँ ।” गरिबको जवाफ हुन्छ ।
पत्रकारको चित्त बुझ्दैन । पत्रकारभन्दा गरिब जान्ने ?
“महाभूकम्प र भारतीय नाकावन्दीले गरिबी अझ बढ्दै छ ।”
“होइन, भ्रष्ट र कामचोर सरकार र सरकारमा रहेका नेताहरूले ‘दिन दुना रात चौगुना’ कमाउनाले गरिबी अझ बढ्दै छ ।”
पत्रकार छक्क पर्छन् । गरिबहरू पनि  नेताझैँँ  कुरा गर्न खप्पिस छन्, तर यीनीहरू नेता चाहिँ किन  नभएका होलान् ? नेता भएको  भए त गरिबीमा  कहाँ रहन्छन् र ? यी पनि धनी भईहाल्छन् नि  ।
नेता र गरिबको भिन्नता भनेको नै ‘नेता गरिब नरहनु र नेताहरूको कारण गरिब धनी नहुनु’ रहेछ ।

प्रहरी  वर्ष ः ५८ अङ्क ः १ २०७३ वैशाख–जेठ



१२

महान् साहित्यकार

महान् साहित्यकार फेसबुकमै जन्मियो, बाँच्यो र म¥यो । उसले फेसबुकमा थुप्रै कविता, अकविता, कथा, अकथा र अन्य रुचिकर सुन्दर रचनाहरू जन्मायो र विभिन्न साहित्यिक ग्ु्रपहरूमा पोस्ट गर्यो । धेरैले पढ्दै नपढी ‘लाइक’ गरे । महान् साहित्यकार मख्ख पर्दै रह्यो । अझ धेरै रचनाहरू पोस्ट गर्दै रह्यो ।
रचना पोस्ट गर्नु उसको लत भयो । अझ धेरै रचनाहरू पोस्ट गर्दै रह्यो । कुनै समालोचक फेसबुकमा थिएन । फेसबुकको रचनाको कमेन्ट गरेर कोहि गतिलो समालोचक हुन सक्तैन भन्ने समालोचकहरूले बुझेका थिए  । हल्का कमेन्ट... कमेन्ट गर्नेहरू त धेरै थिए तर ति रचनाका पारखीहरू थिएनन् ।
जेहोस फेसबुकको ‘लाइक र कमेन्ट’हरूले उसलाई आफु महान् साहित्यकार भएको भ्रम दियो ।
त्यही भ्रममा ऊ फेसबुकमा जन्मियो महान् साहित्यकार भएर ! ऊ फेसबुकमा बाँच्यो महान् साहित्यकार भएर ! ऊ फेसबुकमा म¥यो महान् साहित्यकार भएर !
कति मिठो भ्रम थियो । भ्रममा बाँच्नु कति रमाइलो थियो  । जीवन भनेकै के हो र ? भ्रम त हो । अहिले म छु, भोलि हुने छुइनँ । म, हामी जो कोहि पनि साश्वत र सत्य हौँ भने त भोलि पनि हुन्थ्यो, सधै हुन्थ्यो । अहिले छ भोलि हुँदैन भने अहिले भएका सबै पानीको फोकाजस्तो भ्रम मात्रै रहेछन् ।
महान् साहित्यकारले यो बुझेको रहेछ तसर्थ ऊ कहिल्यै साश्वत र सत्यको पछी लागेन । भ्रमलाई सत्य सरह माया गर्न सक्ने ऊ साँच्चै महान् थियो ।
(म पनि त्यहि साहित्यकारको सिको गरिरहेको छु । भ्रममै बाँच्न विवश भएको छु र भ्रमलाई सत्यभन्दा बढि माया गर्न थालेको छु ।)



१३
समय गुज्रेपछि


मलाई पढ्न भनेपछि अल्छि लागेर आउथ्यो । त्यसैले पढाईलाई जिविकाको साधन बनाउन सकिनँ । पुख्र्यौली सम्पत्तिलाई नै प्रयोग गरेर जिविका चलाईरहेको छु । अहिले पढाई र तालिमको महŒव थाहा भयो । म पढ्न चाहन्छु तर समय गुज्रिसकेकोले फेरि पढाइ सम्भव छैन ।
मलाई मन परेको एउटी केटी थिई । उसले पनि मलाई मन पराएको कुरा मैले थाहै पाइनँ । उसको बिहे भएपछि थाहा पाएँ । तर समय गुज्रिसकेको थियो । मैले पनि बिहे गरेँ । बिहेपछि पत्नीसित कहिल्यै असल पतिको रूपमा प्रश्तुत भइनँ, त्यस्तो प्रयत्न पनि गरीनँ ।
उमेरले डाँडा काट्न थालेपछि कहिल्यै वास्ता नगरेको पत्नीको अग्घोर माया लाग्न थालेको छ । ऊ मुटु र मृगौला रोगले ग्रसित भएकी छे । । ‘तरुनीको पोइ नमरोस् र बुढाको जोइ नमरोस् ।’ किन भनेका होलान्— अहिले बुझ्दै छु ।
अब म जसरी पनि उसलाई निको पारेर मबाट उसले पाउनु पर्ने सारा सुख दिन चाहन्छु । त्यसैले उपचारका लागि खर्चको अभाव नहोस् भनेर मेरो नामको जग्गा बेच्नका लागि दिव्यलाई अधिकृत वारेसनामा दिएको छु । 
जग्गा बिक्री भएको भए त पैसाको चिन्ता हुने थिएन । पैसाकै चिन्ता गर्दै निदाएकोले होला । सपनामा तराजुमा एकापट्टि मेरी पत्नी र अर्कोपट्टि मेरै पत्नीको तौल बराबरीको सुन राखेर मलाई भगवान सोधिरहेका हुन्छन्—“कुन लिन्छौ ? सुन कि पत्नी ?”
म “पत्नी” भन्छु ।
आश्चर्यजनक रूपमा त्यो सपना बारम्बार दोहोरीरहन्छ । जबसम्म म ‘पत्नी’ रोज्छु । अस्पतालमा पत्नी जीवित रहेकी हुन्छे । मलाई ऊ निको हुन्छे भन्ने विश्वास हुन्छ ।
फेरि एकरात त्यो सपना दोहोरिन्छ । भगवान सोधिरहेका हुन्छन्— “कुन लिन्छौ ? सुन कि पत्नी ?”
पापी लोभी मन मैले नचाहँदानचाहँदै मुखबाट निस्कन्छ—“सुन ।”
अकस्मात बजेको मोबाइलको धन्टिले म ब्युझन्छु, छोरा रुँदै भनिरहेको हुन्छ—“अब आमा रहनु भएन ।”
मेरो संसार डुब्छ । म अग्घोर पीडाबोधले रुन रुन लागेको बेला फेरि मोबाइलमा धन्टि बच्छ । दिव्य भनिरहेको हुन्छ— “जग्गा तपाईँले तोकेकोभन्दा दोब्बर दामले बिक्री भयो । तपाईँको खातामा पैसा पठाइसकेको छु ।”
म चिच्याउँछु— “समय गुज्रिसक्यो । अब मलाई केही चाहिँदैन । समयले लात मारेको मलाई... केही चाहिँदैन । यो म्याद गुज्रेको समयलाई, मलाई लात मार्ने समयलाई म लात मार्छु । ...लात मार्छु ।”

२०७२ चैत ४, सुकेधारा



१४
नयाँ परिभाषा


अवकासप्राप्त सचिव बुढाको गफ सुन्न मानिसहरू लालायित हुन्छन् । नौलो मानिस देखे भने मसिनो मीठो स्वरमा शिष्टतासाथ परिचय गरेर गफ गर्न थालि हाल्छन् ।
मलाई उनको बारेमा थाहा थियो तर केही कुराहरू उनैको मुखबाट सुनेर पुष्टि गर्न चाहन्थे । परिचयपछि सोधिहाल्छु, “तपाईँले जागिरबाटै सबै सम्पत्ति कमाउनु भएको हो ?”
“ए गाठेँ ! तपाईँ अख्तियारको मान्छे हो कि क्या हो ?”
“होइन । मेरो जिज्ञासा मात्र हो ।”
“त्यसो भए सुन्नुहोस् मेरो जागिरको नालीबेली । जागिर पाएको सुरुसुरुमा म इमानदार भएर काम गर्थे । सरकारी जागिरे जनताको सेवक हो भन्ने सम्झन्थेँ । तर ...” गफ गर्न थालेपछि उनको स्वर चर्को  भइहाल्दो रहेछ । वरिपरिका मानिसहरू पनि उनको कुरा ध्यान दिएर सुन्न थाल्छन् ।
“म  पहिला भर्खर भर्खर जागिर खान थालेको बेला शाखा प्रमुख भएर राजधानी बाहिरको शाखामा गएको थिएँ । कामहरू फटाफट नियमअनुसार गराइरहेको थिएँ । म आफैँ फाँट फाँट घुमेर कर्मचारीहरूलाई छिटोछिटो काम गर्न लगाउँथे । एक महिना माात्र बितेको थियो, मुख्य केन्द्रीय कार्यालयबाट एउटा टोली आएर सोधपुछ गर्न थाल्यो । घरी नाम,  घरी उमेर, घर र कार्यालयको नियम आदि  सोध्न थाल्यो । टोलीको डाक्टरले मेरो स्वास्थ परिक्षण पनि ग¥यो । ‘दिमाग र स्वास्थ सबै ठीक छ’, अन्तमा उनीहरूले भने ।”
“मेले सोधेँ, ‘मलाई के भएको छ ?’ प्रत्युत्तरमा उनीहरूले मेरो मातहत रहेका कर्मचारीहरूको निवेदन देखाए । जुन निवेदनमा मेरो दिमागी असन्तुलन भएकोले बर्खास्तीको माग गरिएको थियो । निवेदनमा सबै कर्मचारीको हस्ताक्षर थियो । म छाँगाबाट खसेँ । के भएर मेरा मातहतका सबै कर्मचारीले त्यस्तो निवेदन दिए ?  मैले आफैँ केलाएँ, नियमसित काम गर्दा अतिरिक्त आम्दानी सुक्यो । ढिलासुस्ती गरेर जागिर खाने बानी परेका उनीहरू मलाई ठेगान लगाउन एकमत भए । ‘हामी मुख्य कार्यालयमा रिपोर्ट बुझाउछौँ, तपाईँ त्यहाँ हाजिर हुनु होला’ भनेर उनीहरू गए । अर्कै शाखामा सरुवा भएर मेरो जागिर थामियो  । मैले अनुभव बटुलेँ, सबै कर्मचारीहरूसँग मिलेर जेजति सकिन्छ कमाउनुपर्छ । कमाउन थालेँ, कमाएपछि हाकिमहरूलाई पनि खुसी पार्न थालेँ । बढुवा हुँदै सचिव भएँ । पैसाको जोडमा छोराहरू एकजनालाई डाक्टर र अर्कोलाई इन्जिनीयर बनाएँ ।  छोरी अहिले सह सचिव छे, पहिलो महिला सचिव बन्दै छे ।”
“यत्रो जागिरे जीवनमा के, कति, कस्तो देश सेवा गर्नु भयो ?” म सोध्छु ।
“हा..हा..हा..।” उनी जोडले हाँस्छन् र भन्छन् “मैले छोराछोरीहरूलाई योग्य नागरिक बनाएर देश सेवा गरेको छु । मेरा डाक्टर छोराले स्वास्थ क्षेत्रमा, इन्जिनीयरले निर्माण र छोरीले प्रशासनमा रहेर देश सेवा गरिरहेका छन् । गरिब र निम्छराले  देश सेवा कसरी गर्न सक्छ र ? केही धन दिएर म दानवीर भएको छु । धन कमाएर मात्र देश सेवा गर्न सकिन्छ भनेर पाठ सिकाउने मेरा मातहतका कर्मचारीहरू धन्यवादका पात्र थिए । उनीहरूले नै मलाई जागिरको परिभाषा बुझ्न सिकाए ।”
म देश सेवाको नयाँ परिभाषा   सचिव बुढाको मुखबाट सुन्छु ।
हरेक क्षेत्रमा आफ्नो आफ्नो  अनुकुल  यस्ता नयाँ नयाँ परिभाषाहरू भईरहेका छन् । ठीक या गलत ?  समयले निक्र्यौल गर्नेछ ।



१५

फूल कि तरकारी


फूल कसलाई मन पर्दैन र ? फूल रोप्न, स्याहार्न र फुलाउन पाए मलाई समय बितेको थाहै हुँदैन । फूल फुलेको देख्दा अपार आनन्द लाग्छ ।
कोठेबारीमा कोदालीले खनजोत गरेर आफूले किनेर ल्याएका फूलको बीउ छर्छु । केही फूलका बेर्नाहरू पनि रोप्छु । नियमित मल जल गर्छु ।
केही दिनपछि हेर्छु त फूलबारीको दुई छेउमा तीन चारवटा लौका र घिरौलाका बिरुवाहरू उम्रेका छन् । जङ् चलेर आउँछ ‘आफै उम्रेको होइन, पत्नीले रोपेको हुनु पर्छ ।’
“किन रोपेको ?”
“तरकारी कस्तो महँगो छ । भयोभने खानु हुन्छ नि ।”
म केही भन्न सक्तिनँ । होपनि फूलले के दिन्छ र ? न खानुहुन्छ न बिक्री नै हुन्छ थोरै फूलहरू ।
केही दिनपछि हेर्छु बुरुरु बेर्नाहरू उम्रिएका छन् । झार हो कि ? होइन, मुलाको बेर्नाहरू रहेछन् । झार गोडेझैँ सबै बेर्नाहरू उखेलेर फाल्छु ।
केही दिनपछि राम्ररी नियालेर हेर्दै पत्नी भन्छे “मुलाको बेर्नाहरू त उम्रेनछ ।”
“सेपमा के उम्रन्थ्यो ।” उखेलेर फालेको कुरा लुकाउँदै भन्छु ।
“लौ, लौका र घिरौलालाई थाक्रो लगाई दिनुहोस् ।”
“हुन्छ ।” भनेर सिघ्राहरूको थाक्रो लगाउँछु । केही दिनपछि पत्नी फेरि भन्छे “अरु थाक्रा थप्नु प¥यो ।”
बाँस चिरेर फूलबारी माथि नै भाँटाहरू तेर्साएर छानाजस्तो थाक्रा बनाउँछु । लौका र घिरौलाका लहराहरू घामै छिर्न नसक्ने गरी थाक्रा ढाकेर फैलिन्छन् । फूलहरू सेपले भसक्कै मर्छन् ।
“अहो, तिम्रो बिस पच्चिस रुपिया पर्ने लौका र घिरौलाको सेपले जम्मै फूलहरू मरे ।”
“कहाँ जम्मै मरेका छन् र ? घिरौलाका पहेला र लौकाका सेता फूलहरू कति राम्ररी फुलेका छन् !”
पत्नी प्रसन्न मुद्रामा मुस्कुराउँछिन् । मलाई पत्नीको मुस्कान मोहक लाग्छ । फूल र मुस्कान कुन बढि मनमोहक ? फूल कि तरकारी बाँच्नका लागि अनमोल ? लौका र घिरौला मास्ने मेरो विचार क्षणभरमै बिलाउँछ । चित्त बुझाउँछु लौका र घिरौला फलिसकेपछि ‘अफसिजन’ फूल रोपेर फुलाउँनु पर्ला !

समष्टी  २०७३ असार २९, धरान







१६
लहै लहैको देश


लहै लहैको देशमा जन्मेको उसले पढ्ने विषय पनि लहै लहैमा छान्यो ।
पढ्दा पढ्दै लहै लहैमा लागेर सङ्गीत र नाटक सिक्ने भयो । सङ्गीत र नाटकमा पार पाउन नसकेपछि जुडो कराते बक्सिङ्ग आदि ‘मार्सल आर्ट’ सिक्यो । त्यो ‘मार्सल आर्ट’ उसलाई पछि राजनीतिमा काम लाग्यो ।

ऊ पढाई, सङ्गीत, नाटक, ‘मार्सल आर्ट’, फुटबल आदिमा  प्रगति गर्न नसके पछि लहै लहैमा नै  राजनीतिमा लाग्यो । राजनीति सङ्गीत, नाटक, ‘मार्सल आर्ट’, फुटबल आदि खेलहरूभन्दा  रमाइलो हुँदो रहेछ । झेल गर्न पाइने, ‘मार्सल आर्ट’ देखाउन पाइने, जे गर्दा पनि हुने रमाइलो नाटक रहेछ । चन्दा उठायो, खायो पचायो । चाहिदो नचाहिदो गफ छाट्यो, आकाश पाताल ढाक्ने धुँवाधार भाषण ग¥यो । ‘यो त्यो’ देखायो, झुक्कायो । बोलेको केही पु¥याउनु परेको छैन । बसीबसी गफै गरेर अर्काकै खायो, अर्काकैमा बस्यो । उसलाई राजनीति खुब मन प¥यो । उसले आफूलाई ठूलो त्यागी नेता देखाउन आडम्बरी जीवनको सुरुवात ग¥यो ।
चुनाव आयो । लहै लहैमा उसले पनि उम्मेदवारी दर्ता ग¥यो । धनी मानिसहरूकहाँ पुग्यो, धाकरवाफ देखाउदै ( आवश्यकता अनुसार धम्की पनि दिँदै) चन्दा राषी बटुल्यो । मनलाग्दो खर्च गरेर मतदाता किन्यो । लहै लहैमा उसले चुनाव जित्यो ।
आश्चर्यचकित ऊ राजनीतिको मज्जा लिइरहेको थियो । गिन्ती नपुगेर नयाँ सरकार गठन गर्न गा¥हो भइरहेको बेला  ऊ पनि गठजोडमा समावेश भयो र मन्त्री पड्कायो ।
विचित्र राजनीति ! विचित्र सरकार ! विचित्र लहै लहैको देश !
मन्त्री भएर उसले पनि करोडौं अरबौ कुम्लायो । करोडौं अरबौले उसलाई शक्तिसाली राजनितिज्ञ बनायो । देशी विदेशी शक्तिहरूको प्यारो भयो । ऊ लहै लहैमा लाग्ने धेरै धेरै मतदाताको मालिक भयो । निष्ठा, सैद्धान्तिक सुजबुझ, त्याग बलिदान किन चाहियो ? देश विकास गर्ने र जनताको हित हुने काम पनि किन गर्नु प¥यो र !?

२०७३ साउन १७, धरान










१७

जन्म, जीवन र मृत्यु


म हरेक उमेर समुहका मानिसहरूलाई जन्म, जीवन र मृत्युबारे बुझ्न–जान्नका लागि तीनवटा प्रश्नहरू सोध्छु ।
मानिस भएर जन्मेकोमा कस्तो लाग्छ ? जीवन के हो ? कस्तो मृत्यु चाहनु हुन्छ ?
तन्नेरीहरू मेरो प्रश्नहरू हाँसेर उड़ाउँछन् । भन्छन्— “यसबारे सोचेकै छैनौँ ।”
अधवैसेंहरू भन्छन्— “मान्छे भएर जन्मेकोमा गौरव लाग्छ । जीवन के हो ? बुझ्न सकेको छैन । मृत्यु पीडापूर्ण नहोस् । मृत्युलाई जित्न–पन्साउँन नसके पनि मृत्युले जीवन सार्थक भएको पुष्टि गरोस्... चाहना छ ।”
जीवनको अवकास नजिक पुगेका वृद्धहरूको जवाफ भने अलिक फरक किसिमको हुन्छ — “जन्म पनि आफ्नो खटनमा थिएन । जीवनलाई खटनमा राख्ने प्रसासमा तागत, समय र बलवैंस सकियो । थाहै नपाई जीवन सकिन लागेको छ । जति बाँचियो, बांँचिसकियो । के के नपुगेको जस्तो जिन्दगी बाँचियो । अर्कै किसिमको जीवन बाँच्न पाएको भए हुन्थ्यो— मन कल्पिन्छ । बाँच्न पाइने जीवन एउटा हो । अब त्यसमा कुनै सुधार हुँदैन भने त्यसबारे घोत्लिन आवश्यक रहेन । मृत्युबारे सोच्नै परेन, जान्नै परेन ... त्यो आफै सर्वव्यापी ... आफैँ आईहाल्छ । आईहाल्छ !”
२०७३ साउन २०, धरान




१८

अर्को उज्यालो


केहि समय अघिसम्म एउटा टापुको सबै मानिसहरू अन्धा थिए । किन सबै मानिसहरू अन्धा भए ? अनुशन्धानबाट थाहा भयो— त्यहाँको वायुमण्डलमा आँखा बिगार्ने किटाणु व्यापक रूपमा मौजूद रहेको थियो । त्यसैले त्यहाँ जन्मेका हरेक नानीहरू आँखा बिगार्ने किटाणुले गर्दा दुई तीनवर्षकै उमेरमा अन्धा हुन्थे । आँखा बिगार्ने किटाणुनाशक औषधि वायुमण्डलमा छरेपछी नानीहरू अन्धा हुन् छाडे ।
यो त अन्धाहरूको टापुको कथा थियो । त्यो अन्धोपनबाट त्यहाँका मानिसहरूले छुटकारा पाए । तर संसारभरि नै नानीहरूलाई साँचो ज्ञानबाट विमुख गराउने ति किटाणुहरूभन्दा डरलाग्दो ‘वातावरण’ व्याप्त छ । नानीहरूमा ज्ञान पलाउँन थालेदेखि नै ‘आबुई भुत, प्रेत, बोक्सी, राक्षस, आदि काल्पनिक त्रासका छायाहरू’ दिमागमा नमेटिने गरि पसाइन्छ  । बालकहरुको मानसिक विकासमा ‘देवता, शर्वशक्तिमान भगवान, चमत्कार, भाग्य, आदि’ चर्को अन्धविश्वासहरूले तुवाँलो लगाईन्छ । संसार हेर्ने दृष्टिकोणमा बाल्यकालदेखि नै धमिरा लाग्छ । सत्य , वास्तविकता र सहि ज्ञानबाट विमुख मानिसहरू सत्य देख्न नसक्ने मानसिक अन्धा हुन्छन् ।
यस्ता अन्धा मानिसहरुले विश्व भरिएको छ ।
यस्तो अन्धोपनबाट छुटकारा नदिलाएसम्म मानिसहरू सत्य र वास्तविकता नजिक पुग्न सक्तैनन् । अन्तरचक्षुलाई भ्रमित पार्ने वातावरण अन्त्य गरि विज्ञानसम्मत सत्यको उज्यालो आजका मानिसहरूलाई आवश्यक छ भन्ने निष्कर्षका साथ विज्ञानसम्मत आधुनिक ज्ञानको प्रादुर्भाव हुन्छ । आधुनिक ज्ञानले आलोकित मानिसहरू बढ्न थाल्छन् । तापनि पुरानो सडेगलेको सोचका अन्धविश्वासीहरू भएभरको बलले नयाँ सोचको विरोध गर्छन् । उनीहरू संसारलाई सुल्टो बनाउने प्रयत्नमा लागेका अभियानकर्ताहरूलाई सुकरात, गेलेलियोलाई झैँँ हमला गर्छन् । उल्टो सोच र उल्टो दृष्टिले अन्धा भएकाहरू एवं आधुनिक ज्ञानले आलोकित मानिसहरू वीच चर्को सङ्ंघर्ष हुन्छ ।
अन्तमा नयाँ ज्ञानको विजयसँगै मानसिक संसार सुल्टो हुन्छ । आधुनिक मानिसहरूले मानसिक संसारमा ‘अर्को उज्यालो’ प्राप्त गर्छन् ।

२०७३ कार्तिक १३, बुढ़ानीलकण्ठ

१९

मान्छेको माया



    विदेशबाट धेरै पैसा कमाएर ल्याएको छ भन्ने हल्ला चल्न थालेपछि ऊ त्यो समाजको गन्यमान्यमा गनिन थालेको हुन्छ ।
“पैसा छँदैछ, एउटी गतिली केटी पाए घरजम गर्नुपर्ला ।” ऊ सोचिरहेको हुन्छ ।
एउटी रूपवती केटी उसको आँखामा पर्छ । चिनजान हुन्छ, चिनजान मायामा रूपान्तरित हुन्छ । मायामा परेर आफूसित भएको सम्पत्ति सक्छ । तन्नम ऊ रूपवतीलाई भेट्न जान्छ । तर छ सातजना भुसतिघ्रेहरूले कठालोमा समातेर सोध्छन्— “चिनेको छस् ? हामी को हौँ ?”
“अँ हँ, छैन ।”
“उहाँ (एकजना गुन्डा टाइपको केटो देखाएर) रूपवतीको हुनेवाला पति याने कि ब्यायफ्रेन्ड । हामी उहाँका पाल्तु सेवकहरू, जोसुकैको हात खुट्टा भाँच्नु, आवश्यकता परे ज्यान लिनु हाम्रो पेसा । ज्यानको माया छभने यता  रूपवतीलाई  भेट्न नआउनु । ”
ऊ चेतावनी सुनेर नजिकै उभिएकी रूपवतीलाई  हेर्छ ।  रूपवती निङ्गुरमुन्टी भएर भुँइतिर हेरिरहेकी हुन्छे ।

२०७३ भदौ १५, मेडिकेयर अस्पताल


२०

पसिनाको स्वाद


पसिनाको कदर नहुने देशमा ऊ छात्रकाल देखि नै फोहोरी राजनीतिको स्वाद चाखेर राजनीतिमै चुर्लुम्म डुबेको छ । एउटा पार्टीको संगठनमा आबद्ध भयो। फिरौती जस्तै धम्क्याएर चन्दा उठायो, रक्सी जाड़ मासु खायो । फोकटमा आएको पैसा ! बिद्यार्थी कालमै उसको बानिब्येहोरा बिग्रियो । केहि काम नगरी फोकटमा खाने, आकाश पाताल जोड्ने नचाहिदो गफ गर्ने तर पसिना कहिल्यै नबगाउने । उसले पढ़ाई सकेर पनि जागिर खोजेन । व्यवसाय केही गरेन । राजनीतिमा पूर्णकालीन भएको छ, नेता कहलिन थालेको छ । अर्काकै खायो, अर्काकै सम्पत्तिमा भोजमोज गरेको छ । क्या मज्जाको गजव राजनीति !
बहुदल ! सिध्दान्त केहि छैन, जसरी पनि सरकारमा पुगेर कुम्ल्याउने एक मात्र उद्देश्य । त्यसै अनुसार लाग्दालाग्दा उसको पार्टी पनि सरकार बनाउने अवस्थामा पुग्यो । ऊ मन्त्री भयो । सधै सित्तैमा खाने सोहोर्ने बानि परेको उसले राष्ट्रिय ढिकुटीको हुर्मत लियो । नियम कानुन सब मिचेर मनपरी गर्यो । अति सर्बत्र बर्जयेत । भ्रष्टाचारको मुद्दा लाग्यो । मन्त्री पद पनि गयो । भागाभाग ! रातारात भागेर ऊ सुदुर गाउँ पुगेको छ । मान्छे देख्दा डराउछ । पुलिसको त के कुरा ? बैंकमा करोडौ छ । तर ऊ भोकभोकै लुकीलुकी भागिरहेको छ । भोकले आन्द्रा  बटारीदै छ । ऊ एउटा किसानको घरमा खानाको लागि अनुरोध गर्छ ।
“तपाईँ हाम्रो पाहुना हो तर कामको चटारो छ । मकै भाँचेर थुपार्नु छ । यो काममा सघाउनु हुन्छ भने जहानले खाना पकाएर खुवाउने छ ।”
मरता क्या न करता । डोको बोकेर मकै भाँच्न थाल्छ, बोकेर ल्याउँछ । दिनभर काम गरिसकेपछि उसले खान पाउछ । झ्वार्लाङ्ग पानीमा पकाएको गुन्द्रुकको तिहुन, मकैको च्याख्ला मिसाएको भात । अपूर्व स्वाद ! पसिनाको स्वाद पहिलो पल्ट अनुभव हुन्छ ।
 “पसिना नबगाई देश र समाजमा “प्यारासाइट’ भएका मजस्ता मान्छेहरूले देश बिगारेका रहेछन् ।” ऊ सोच्छ तर समय बितिसकेको हुन्छ । समय बितिसकेको भए पनि ऊ सजाय भोगेरै आफु सुध्रिएर समाज सुधार्ने अठोठसाथ प्रहरी चौकीतर्फ जान्छ ।
 
२०७४ जेठ २१, धरान







२१
भ्रम 
मलाई जिन्दगी जिउनु थियो । अमृत वृक्षको बिरुवा रोपेर जीवनभरी प्रतीक्षा गरिरहेँ । ‘अमृत फल्ला र त्यो फल खाएर अजम्बरी हौला ।’— आशा गरि रहेँ ।
आशा बलवान हँुदोरहेछ । जिन्दगीको दस बल्ड्याङ, पचास लात्ता र सय गुस्सा आशाकै सहारामा सहेँ ।
मैले रोपेको बिरुवा ठुलो भएर फल्नफल्न लागेको छ । मन अत्यन्त प्रफुलित भएको छ । परिश्रमको फल चाख्न पाइने भएको छ ।
लटरम्म फल फलेको छ । म फल चाख्ने र टिप्ने मनसायले रुखमुनी जान्छु । तर के अचम्भ ? भँुईमा चरा चुरुङ्गि सोत्तर भएका छन् । एउटा स्याल पनि मरिरहेको छ । म फल टिपेर खान लागेको हुन्छु । मनमा सङ्का उत्पन्न हुन्छ— ‘कतै यो रुखको फल खाएर यी चरा चुरुङ्गि र स्याल मरेका त होइन ?’
म कुकुरलाई फल खान दिन्छु । फल खाईसकेपछी कुकुर काईकाई कुईकुई गर्दै पछारिन्छ र खुत्रुक्कै त्यहि मर्छ ।
मेरो फल खाएर अजम्बरी हुने सपना तुहिन्छ । अज्ञानतामा मैले अमृत र विष वृक्षको बिरुवा चिन्न सकिनँ । मैले जीवनभर अमृत रोपेँ  भनेर हुर्काएको बिरुवा त विष वृक्ष पो रहेछ । म कति ठुलो भ्रममा बाँचेछु । थुक्क जिन्दगी !!!
त्यो रुख ढाल्ने विचारले बन्चरोले काट्नै  आँटेको हुन्छु । एक हुल राजनीतिज्ञ र समाजसुधारकहरू कराउँदै आउछन् । भन्छन्— “नकाट । हामी त्यो रुखको फल किन्न चाहन्छौँ । त्यस फलबाट हामी विरोधीहरूलाई नष्ट गर्ने औषधि बनाउने छौँ ।“
म फेरि  भ्रमित हुन्छु— त्यो रुखको फल अमृत कि विष ? ‘औषधि बनाउने छौँ ।’  भन्दै छन् ।
२०७३ असार १९ , धरान


२२
त्याग

पतिको प्रतीक्षा गरिरहेकी गोरी पतिको आगमनमा अत्यन्त खुसी भइन् । तर पति नरबहादुर पत्नीलाई भेट्दा पहिलाझैँ प्रसन्न भएन । पतिको सबै आनीबानी थाहा पाएको गोरीले सम्झिन्— ‘कतै सन्चो छैन कि !’
बेलुका पनि नरबहादुर उनीहरू सधैं सुत्ने कोठामा नसुतेर अर्कै कोठामा सुत्न गए । गोरीले ‘त्यस्तो किन गरेको?’ भनेर सोध्दा बम्किए— ‘आफ्नो खुसी ! खाने, बस्ने, सुत्ने मेरो आफ्नो मर्जी ।’ पतिलाई के भयो ? गोरीले बुझ्न सकिन । एक दसक लामो प्रेम माया प्रीतिमा अचानक कसरी धमिरा लाग्यो ?
भोलि पर्सि पनि पतिको चालामाला त्यस्तै रह्यो । उनले कहिल्यै बेच्न नचाहेको खेत बेचे । छ महिना बित्यो । पति पत्नी बीच मेल भएन । नरबहादुर एउटी चरीत्रहीन आइमाईको मायामा फसेको छ रे भन्ने गाईगुई हल्ला गोरीले पनि सुनिन् । त्यही आइमाईसँग अर्कै गाउँमा बस्ने रे भन्ने पनि  सुनिन् । तिनलाई सम्पूर्ण जगत नै अँध्यारो लाग्न थाल्यो ।
एकान्तमा एक्लै बसेर तरर आँसु चुहाउँदै रोइरहेका पतिलाई देखेर तिनको मन झन् रोयो, सोधिन्— ‘यत्रो वर्षको हाम्रो मायाप्रीति के भयो ? छोराछोरीको पनि माया लाग्दैन ? सौता नै ल्याउने भए पनि ल्याउनोस् । म बहिनी सम्झि मिलेर बस्छु ।’
‘गोरी, म भोलिदेखि तिमी, छोराछोरी र गाउँघर सबै छोडेर जाँदै छु । फेरि कहिल्यै फर्केर आउँदिनँ । म तिमीलाई असाध्यै माया गर्छु । परदेशमा रहदाँ मेरो कुबुद्धि र कुकर्मले गर्दा मलाई ‘एड्स’ रोग लागेको पत्ता लाग्यो । यो रोग तिमीलाई सरोस् भन्ने म चाहन्नँ । तसर्थ मलाई माफ गर ! मरेको ठानी मलाई बिर्स ! र, सदाका लागि बिदा देऊ ....’
स्तब्धता, समयको गति रोकिएझैँ महाशून्यता ।  निकैबेर दुवै अमुक ...
‘यतिका महिना तपाईँले यो कुरा लुकाउनु भएकोमा म दुःखि छु । मलाई ‘आफ्नो’ सम्झिनु भएन । म तपाईँको लागि आफ्नो तुच्छ जीवन त्याग्न सक्दिनँ भन्ने कसरी सोच्नु भयो । मानसिक पीर यतिका महिना एक्लै सहनु भयो, मसँग बाड्नु भएन । अझै म तपाईँलाई पहिलाजस्तै माया गर्छु । आजदेखि सँगसँगै बसौँ, फेरि एकाकार भएर हाम्रो प्रेम अमर बनाऊँ...।’
भोलिपल्ट छिमेकिहरूले देखे— लोग्ने स्वास्नीको मेल भएछ । उनीहरू एकक्षण पनि छुट्टिँदैनथे । जहाँ पनि सँगसँगै हुन्थे । तर केही महिनापछि ती दुवै हराए, कहाँ गए ? फेरि फर्केर आएका छैनन् । कसैलाइ थाहा छैन— कहाँ गए ? 

२०५४–११–२१, धरान





२३
कुल्लीको छोरो

आफैले निर्माण गरेका आफ्ना पात्रहरूसित अचानक भेट हुँदा आनन्द वा पीडा हुन्छ ।
एकपल्ट जसको कथा लेखिन्छ, ऊसित भेट नहोस् भन्दाभन्दै पनि भेट भइरहन्छ । प्रतिकुल दुःखि अवस्थामा छाडेको पात्रले परिस्थितिसँग लडेर जीत हासिल गरेको देख्दा आनन्द लाग्छ । त्यस्तै आफूले जति राम्रो देखाउन सकिन्छ देखाएको पात्र आफूले देखाएको वा चाहेको जस्तो हुन नसकेको देख्दा पीडा हुन्छ ।
एउटा कुल्लीको छोरो कुल्लीले दुःख गरेर महँगो स्कुलमा पढाइरहेको देखेर त्यही कुल्लीको छोरोलाई मुख्य पात्र बनाएर कथा लेखेको थिएँ । कथामा त्यो केटो पढाई राम्रो भएकोले छात्रवृत्ति पाई डाक्टर भएको थियो  ।
कुल्लीसित समय समयमा भेट भइरहेको थियो । छोरालाई पढाइ नै रहेको  थियो । उसको पत्नी सुन्दर थिई । ‘सुन्दर पत्नी गरिबले कहाँ पाल्न सक्छ र !’ भनिएझैँ उसको पत्नी एकजना सम्पन्नसँग पोइल गई । कुल्लीले केही वर्ष त अर्को बिहे नगरी छोराको हेरचाह गर्दै बितायो । तर केही वर्षपछि उसले आफूसित मिल्दोजुल्दो एउटी आइमाई बिहे ग¥यो । सौतेनी आमाले कुल्लीको छोरोको फिस नतिर्न कुल्लीलाई भन्यो— “अहिले तागत भइन्जेल जति कमाउछौ छोराको पढाईमा खर्च गरेर पछि बुढो भएको बेला तन्नम भएर के खान्छौ नि ?”
“हो त नि ।” कुल्लीलाई पनि पत्नीको कुरा ठीक लाग्यो । फिस तिर्न छाड्यो । फिस नतिरेपछि कुल्लीको छोरोलाई स्कुलले निकाल्यो । पढाई अधकल्चो भयो । कुल्लीको छोरो के को डाक्टर हुन्थ्यो ! त्यसको अन्य परिचय बन्न सकेन । केही हुन नसकेर आखिर त्यो ‘कुल्लीको छोरो’ मात्र भयो । 
 कथाको पात्र  यथार्थमा कथामा मैले  देखाएको जस्तो हुन नसकेको देख्दा  पीडा हुन्छ ।


२४

‘फिनिसिङ टच’

‘पेन्टिङ’ मेरो जीवन हो, बाँच्ने उद्देष्य र गन्तव्य । मेरो जीवनकै उत्कृष्ट चित्र बनाइरहेको छु । एक महिनामा सक्ने बिचार गरेर  थालेको चित्र एक, दुइ, तीन.. छ महिनामा मात्र पूरा हुन लागेको छ ।
अझै ‘फिनिसिङ टच’ बाँकि छ । जेहोस् चित्र पूरा हुन लागेको छ । आनन्दित भएर ‘इभिनिङ वाक’मा जान्छु । एक जना नामी कला समिक्षकसँग भेट हुन्छ । कुरैकुरामा म आफ्नो चित्रबारे बताउँछु । उनी हेर्न आतुर हुन्छन् ।
उनी मसँगै मेरो ‘पेन्टिङ स्टुडियो’मा पस्छन् । मेरो अबोध सानो नाति मेरो चित्रमा जथाभावी ‘ब्रस’ले  कोरीरहेको छ । चित्र विचित्र भएको छ । सुन्दर चित्र कुरूप भएको छ । म कराउँछु “कसले नातिलाई भित्र पस्न दियो ?”
आफ्नै बेहासी ! चित्र पूरा हुन लागेको खुसीमा ढोका बन्द गर्न बिर्सेछु । ‘फिनिसिङ टच’का लागि घोलेको ‘आयल कलर’ नातिको हातमा परेछ ।  रुनु न हाँस्नु हुन्छु ।  मेरो चिच्याहत सुनेर बुहारी आउँछिन् । नातिलाई लिएर जान्छिन् । अक्क न बक्क म मौन ... ‘पेन्टिङ’को मृत्युमा शोक मनाइरहेको हुन्छु । 
कला समिक्षक चित्रलाई निकै बेर नियालेर  हेरि सके पछि  भन्छन्— “चित्रको ‘फिनिसिङ टच’ भइ सक्यो । चित्र  आकर्षक, प्रभावकारी र अर्थपूर्ण छ ।  तर... चित्रको शिर्षक भने  ‘राजनीति’ राख्नु पर्छ ।”
२०७३ साउन २४, धरान



२५
 क्रन्दन
स्वास्नीले छाडेको मेरो छोरो र नाति मसँग बिदा भएर गैरहेका छन् । छोरा एकापट्टिको काँधमा झोला र अर्को पट्टिको काँधमा नाति बोकेर हिंडिरहेको छ । सानो नानी छोडेर पोइल हिडेकी बुहारीलाई आधुनिक ‘माधवी’ सम्झेर नाति पाई दिएकोमा म मनमनै धन्यवाद नै दिन्छु ।
“खोई, मेरी आमा ?” नातिको सोधाईको उत्तर “पैसा कमाउन गएकी छे ।” भनेर दिन्छौँ । उसको आमाले जाने बेला “पैसा खोज्न जान्छु ।” भनेर गएकीले पनि ऊ पत्याउछ ।
“आमा कहिले आउछिन् ?” त्यो प्रश्नको पनि तयारी जवाफ दिन्छौँ “पैसा कमाएर ।”
तर उसको आमा फर्केर आउदिन भन्ने हामीलाई थाहा छ । बिचरा ऊ ! आमाको माया, ममता र प्यारो काख सम्झेर  क्रन्दन गरिरहेको हुन्छ  । अव्यक्त क्रन्दन ...
२०७३ माघ ३ धरान




२६
समकालिन संसार
अथाह वेदनाले पानी बीनाको माछाझैँ छटपटिएर हिँडेको म रेश्माजीको घर पुगेँ । रेश्माजीलाई भेटेपछि थाहै नपाई समकालिन संसारमा अवतरण हुन पुगेछु ।
शारदा, अन्नपूर्णा, कुसुम आदि मेरा क्लासमेटहरू...। नामको पछाडि ‘जी’ सम्बोघन । आत्मिय सम्बोधन जवान युवाहरूको ! कति थिए कति त्यस्ता केटासाथीहरू, केटीसाथीहरू !
पढाइ सकेपछि शारदासित एउटै अफिसमा जागिर खायौँ । म तिनलाई मन पराउथेँ । सायद तिनले मलाई पनि । तर फरक धरातलमा उम्रेका हामी । उनी सहरमा म गाउँमा । मैले प्रेम प्रस्तााव राख्ने आँटै गर्न सकिनँ । त्यही अफिसमा काम गर्दागर्दै तिनको विवाह भयो । निम्तो पाएर पनि विवाहमा गइनँ, नगएकोमा पछि भेट हुँदा तिनले हकारिन् ‘किन नआएको ?’ सायद आफ्नो बेहुली रूप मैले पनि हेरोस् भन्ने चाहेकी थिइन् । म निङ्गुरमुन्टि... नगएकोमा पछुतो बाहेक के गर्न सकिन्थ्यो । म जागिर छोडेर गाउँ फर्किएँ । आजभोलि जस्तो मोबाइल थिएन । सम्पर्क हुने कुरै भएन । बीसौ वर्ष बितिसकेको छ । अझै तिनी बाँचिरहेकै रहुन्— कामना गरिरहेको हुन्छु ।
समकालिन संसार !
समकालिन संसारका सुनौला हर कुराहरू... जी भनेर बोलाउने साथीहरू, रमणिय सुन्दर परिवेश आदि आदि !
अझै जी भनेर बोलाउने बोल्ने साथीहरू एकजना मात्र भएपनि रेश्माजी रहेछिन् । रेश्माजीलाई भेट्दा अथाह वेदना भुलेर म रमाइलो समकालिन संसारमा अवतरण हुन्छु ।
फेरि फर्केर नआउने तात्कालिन रमाइलो समकालिन संसार !
२७
एक दिन
  “एक दिन मर्नैपर्छ । किन नखाने रक्सी ?” भन्दै क्षणिकले रक्सी छाडेन ।
“एक दिन म राष्ट्रपति हुन्छु । रक्सी छाडेर बाँच्यो भने हेर्ने छौ ।” शिक्षकले भनेको थियो ।
“हा..हा..हा..” यो सुनेर मरिमरि हाँस्दै क्षणिकले भनेको थियो, “राजतन्त्र भएको देशमा राष्ट्रपति ?”
क्षणिकले रक्सी छोडेन । पत्नीले आजित भएर उसलाई छाडी । सम्पत्ति र स्वास्थले उसलाई छाड्यो । एक दिन रक्सी खाँदाखाँदै उसले धरती छाड्यो । शिक्षकले पनि राजनीति छाडेन । राजनीतिको नसा रक्सीको भन्दा डरलाग्दो हुन्छ । पहिला पहिला ऊ प्रजातन्त्रको लागि लड्यो । प्रजातन्त्र प्राप्ति पछि लोकतन्त्र र गणतन्त्रको लागि लड्यो । सपनामा पनि नचिताएको गणतन्त्र प्राप्त भयो । 
धेरै वर्ष पहिला क्षणिकले रक्सी छाडोस् भनेर मात्र ‘आफू राष्ट्रपति हुन्छु’ भनेको थियो । उसले पनि नसोचेको कुरा, ऊ राष्ट्रपति हुन्छ । राष्ट्रपति भएपछि ऊ युवाकालको साथी क्षणिकलाई सम्झन्छ । “एक दिन मर्नै पर्छ” ऊ भन्थ्यो ।
“एकदिन मर्नै पर्छ” सम्झेर राष्ट्रपति शिक्षकको आँखामा आँसु टलपल गर्छ ।
“देश र जनताको मायाले राष्ट्रपति शिक्षकको आँखामा आँसु टलपल गरिरहेको छ ।” समर्थकहरूले तस्विर सहित प्रचार गर्छन् । “एक दिन मर्नै पर्छ” सम्झेर लोभ पापको दलदलबाट उनी टाढा रहन्छन् र लोकप्रिय हुन्छन् ।
“एकदिन मर्नै पर्छ !” जसले यो सम्झेर काम गर्छ, उसले नरामो काम गर्दैन । 
राष्ट्रपति वा सर्वसाधारण आम मान्छे सबैले एकदिन मर्नै पर्छ । राम्रा काम गर्नेहरूको अन्तरमनमा जुन सन्तोष हुन्छ, नराम्रा काम गर्नेहरूको ठूलो दुर्भाग्य उनीहरूले कहिल्यै त्यस्तो सन्तोष अनुभूत गर्न सक्तैनन् ।
राम्रा काम गर्नेहरू मरिसकेपछि पनि मानिसहरूको हृदयमा जीवित रहन्छन् । तर नराम्रा काम गर्नेहरू मर्नुभन्दा अगाडि नै मानिसहरूका आँखामा मरिसकेका हुन्छन् ।

२०७२ चैत २४ (६९औं जन्मदिन), धरान


२८
गरिबको गायक


मर्सि्डिज बेन्च कारमा चढेर गरिबको गायक आए । दुई लहरमा पंक्तिबद्ध उभिएका गरिब कामदारहरूले जोड जोडले ताली बजाएर स्वागत गरे । एकजना मजदुरले ग्रिज, मोबिल लागेको आफ्नो मैलो हात गरिबका गायकतर्फ बढाए । गायकले हात मिलाएनन् । पंक्तिबद्ध उभिएका गरिब कामदारहरूको ताली अचानक बन्द भयो तर गरिबको गायकले वास्ता गरेन ।
पत्रकारहरूले गरिबको गायकलाई विविध प्रश्नहरू सोधे । एउटा प्रश्न— “किन तपाईँलाई गरिबका गायक भनिन्छ ?”
“गरिबको गीत गाएर मैले नाम, दाम र यश कमाएको छु । मेरो ‘गरिबको गीत’ एल्बम  लाखौं बिक्रि भयो र अझै भइरहेछ  । मेरो ‘स्टेज प्रोग्राम’ गरिबहरूमाझ अत्यन्त लोकप्रिय छ । गरिबको गीत गाएर अहिले म करोडपति भएको छु । त्यसैले मलाई गरिबका गायक  भन्छन् ।”
“किन करोडपति भएर पनि तपाईँ अझै गरिबको गीत गाइरहनु भएको छ ?”
“पहिला म असाध्य गरिब थिएँ र गरिबको गीत मेरो हृदयको आवाज थियो । गरिबको गीत गाएर लोकप्रिय भएँ, करोडपति भएँ । अहिले म गरिबको गीत ब्यापारको लागि गाउँछु, अरबपति हुन गाउँछु ।”
“त्यसैले होला, तपाईँको गीत पहिलाजस्तो मधुर हृदयस्पर्शी छैन । आडम्बरी स्वरमा  गाईरहनु भएको छ भन्ने सुनिन्छ । यसमा तपाईँको प्रतिक्रिया ?”
“हुनसक्छ, अब मैले गाएका गीतहरू गरिबको हृदयको पुकार हुन सकेका छैनन् । कारण मैले गरिबको पीडा बिर्सीसकेको हुँला । त्यसैले मेरो गायन मर्मस्पर्शी नभएका होलान् ।”
“त्यसो भए  अब तपाईँ गरिबको गीत गाउँन छाड्नु हुन्छ ?”
“अँ हँ, म अझै गरिबको गीत गाईरहन्छु । गरिबको पुकार समाजमा गुञ्जायमान पार्नका लागि होइन । नेताहरूले गरिबको कुरा गर्न छाडेभने उनीहरू नेता भई रहन सक्तैनन् र गरिबको कुरा गरिरहन्छन् । नेताहरूलेझैँ मैले पनि बुझेको छु, गरिबहरूलाई सजिलैसँग मूर्ख बनाउन सकिन्छ, झुक्याउन सकिन्छ र ठग्न सकिन्छ । म गायनको आफ्नो धन्दा छाड्न सक्तिनँ । धन्दामा टिकिरहन गरिबको गीत गाईरहन्छु ।”
२०५४, धरान

२९
बाँच्ने कसरी ?

आत्मकेन्द्रीत मान्छेहरूको माझमा बाँच्ने समस्याले पिरोलिएर ऊ परदेश हिड्यो ।
परदेशमा कसैले चिनेको छैन, कसैलाई चिनेको छैन । अपरिचितहरू माझ ऊ झन् पिरोलियो ।
एक्लै बाँच्ने कसरी ?
आफूसित भएको थोरै रकमले काम नपाइन्जेल ज्यान धान्ने कसरी ?
जे पर्ला, पर्ला ! घर छोडेर हिडिहालियो । जसरी पनि केही न केही कमाएर फर्कने अनि पातलीसँग धरबार गर्ने उसको सपना थियो । उसको  दिन चर्या— बिहानै उठेर काम खोज्ने, जे काम पाए पनि गर्ने र जे जति कमाउँछ त्यसैले त्यो दिन गुजारा चलाउने । पहिला पहिला त घरपरिवार, छरछिमेक र सबभन्दा बढि पातलीको सम्झना आउथ्यो । केही दिनमा ऊ त्यो नयाँ जीवन पद्धतिसँग अभ्यस्त भयो । केही कमाउने धुनमा समय बितेको पत्तै भएन । उसलाई ‘भाई’ भन्नेहरूले ‘दाई’ भन्न थाले । दाईबाट ऊ बाजे भनिन थाल्यो ।
     समयको उपलब्धी उपयोग गर्नु पर्छ भन्ने सम्झेर उसले पनि मोबाइल किन्यो । बुढेसकालमा फेसबुक चलाउन सिक्यो । कसैले फेसबुकमा पातलीको फोटो हालेको रहेछ, हेरेर अक्क न बक्क भयो । त्यस्ती राम्री तरुनी पातली... चाउरी परेकी बुढी !? एउटा युगको अन्त भएछ ।
अब किन गाउँ फर्कने ? पातलीको बुढ्यौलीसँगै एउटा मीठो गन्तव्य हरायो । सपना हरायो । बाँच्ने रहर हरायो । अस्तित्वहीन, अनाम, मर्माहत ऊ...समयको अनन्त अन्तरालमा बिलुप्त भएर बर्बरायो— अब बाँच्ने कसरी ? बाँच्ने केका लागि ?

२०७३ बैसाख २०, धरान


३०
त्यो मान्छे
त्यो मान्छे र म युवा कालमा घनिष्ट साथी थियौँ ।
नोकरी गरेपछि सहरमा मैले घर बनाएँ । विद्यावारिधि सोधार्थी भएको बेला ऊबाट थुप्रै पुस्तकहरू सहायक सामग्रीको रूपमा लिएँ ।
विविध कारणवश मैले विद्यावारिधि पनि गर्न सकिनँ र सहरको घर पनि बेचेर पुरानो बजार नै फर्किएँ । उसका पुस्तकहरू फर्काउन सकेको थिइनँ ।
बिसौं वर्ष पछी अचानक पुरानो बजारको सडकको रेलिङ्गमा बसेर युवाहरू जस्तै खुट्टा हल्लाउदै बसिरहेको उसलाई भेटेँ र सोधेँ ‘तपाईँको पुस्तकहरू तपाईँको सहरको घरमा ल्याईदिने छु ।’
‘पर्दैन । सहरको घर मैले पनि बेचेँ, जागिर पनि छोडेँ । ती पुस्तकहरू कुनै पुस्तकालयलाई उपहार दिए हुन्छ ।’ उसले जवाफ दिएको हुन्छ ।
त्यतिबेला आज जस्तो मोबाईल र फोन केहि थिएन ।   तसर्थ भेट्ने वा सम्पर्क गर्ने माध्यम पनि केहि भएन । त्यसपछि त्यो साथीसँग फेरि भेट भएको छैन । आज अचानक उसको सम्झना आएर मौरीले चिल्दा झैँ मन र     मुटु चसक्क दुखिरहेछ । ऊ बेठेगान भएछ मजस्तै । ऊ कहाँ होला वा नहोला ? मान्छेको जुनी ! के भर हुन्छ र ?
आज हाँसिरहेको,बाँचिरहेको हामीलाई पनि धेरै वर्षपछि हाम्रो अनुपस्थितिमा यसरी सम्झने कोही होलान् ? हामी सबै बेठेगान हुन्छोँ । हामी सबै ‘दुई दिनको पाहुना’....मन झन् खिन्न हुन्छ ।

३१
एक पैसा 

वृद्ध हजुरआमाले “जसले मलाई राम्ररी स्याहार्छ उसलाई एक पैसा दिन्छु ।” भन्छिन् । सुनेर नातिनातिना हाँस्छन् । एक पैसा !
“एक पैसाले के किन्नु ?”
“मैले जीवनमा जति कमाएँ, तिमीहरूका आमा बुबालाई हुर्काउनमा नै खर्च भयो । जति चाहेर पनि त्यो एक पैसा बाहेक अरु वचत गर्न सकिनँ । त्यो एक पैसा मेरो जीवनभरको कमाइ हो । त्यो एक पैसा पनि कसरी बच्यो ? त्यसको कथा आज म तिमीहरूलाई सुनाउछु । पहिला म तिमीहरूजस्तै भर्खरको हुँदा पाँच पैसा भयो भने गाउँ बजार सब भियाइन्थ्यो । एक पैसाले टन्न मासुभात खान पाइन्थ्यो, एक पैसा माना घिउँ थियो । पाँच पैसा लिएर बजारमा किनमेल गरेर उब्रेको यो एक पैसा मेरो दुईमुखे थैलीमा राखेको थिएँ । दुमो क्या ! त्यस पछिका दिनहरूमा घिउँ दुई पैसा मानो, एक छाक खाना दुई पैसा  भयो । भाउ बढेको बढैकै । नोट थिएन, नोट आयो । एक पैसाको गणना नै हुन छाड्यो । एक पैसा, दुई पैसा, पाँच पैसाको सिक्का हराउँदै गयो । अहिले त करोड करोडको कुरा आएको छ । अरबको गर्न थालेका छन् । यो समयमा एक पैसाको सिक्का अति दुर्लभ सिक्का हो । चमत्कारी सिक्का ! त्यस्तो एक पैसा तिमीहरूले देखेका छौ ? त्यो सिक्का बेचेर सहरमा घर कार आदि जे चाहन्छौ किन्न सक्ने छौ । सुखसित जीवन बिताउन सक्नेछौ ।” 
नभन्दै त्यसपछि हजुरआमालाई स्याहार्न नातिनातिनाहरू तँछाडमछाड गर्न थाल्छन् । 
एक पैसाको कमाल !
२०७४असार २४, धरान

३२
भेल
म परीक्षार्थी युवतीलाई हेरेको हेरेकै हुन्छु । मेरो ‘क्लासमेट’.सरीता होइन ?
काटिकुटि सरीता नै । अँ..हँ .. यो कसरी सम्भव हुन्छ ? मेरो बिद्यार्थी जीवन समाप्त भएर पढाउन थालेकै पच्चिस वर्ष भइसक्यो । सरीता अझै कसरी तरुनी नै रहन सक्छिन् ?
म परीक्षा उपस्थिती फाराममा तिनको नाम हेर्छु— परिता । तिनी सरीताको छोरी हुन सक्छिन्, म सोच्छु । मलाई समयको अविरल भेलले थाहै नपाई कसरी वृद्धावस्था नजिक पुराएको  छ । त्यसै गरी सरीतालाई पनि समयको अविरल भेलले वृद्धावस्था नजिक पुराएको होला । समयको भेलबाट को उम्कन सक्छ र ?
परीक्षा सकिए पछि म  परितालाई ‘सरीताकी छोरी हौ ?’ भनेर सोध्ने विचार गरिरहेको थिएँ । तर परीक्षापछि भेट हुन सकेन । समयको भेल !
     परिता, सरीताका साथै म आफै समयको भेलमा हराएहराएझैँ लाग्न थालेको छ .... आजभोलि !
२०७३ फागुन २२, सुमेरु अस्पताल
३३
तुच्छ धन
गरिब पिताले छोरो जन्मिदा धन पनि आओस् भनेर छोराको नाम धनबहादुर  राखेको थियो । धन आएन । गरिब पिता गरिबै म¥यो ।
देशलाई गरिब धनबहादुरहरूको वास्ता थिएन । धनबहादुर जसरीतसरी हुर्कियो । गरिबीले उसलाई विदेशमा कुल्ली बनायो । गरिब धनबहादुरहरुको भाग्य ! तानाशाही फालियो र प्रजातन्त्र पुनस्थापना भयो । विदेशमा कुल्ली काम छाडेर ऊ फर्कियो । बहुदलीय व्यवस्थामा ऊ पनि वार्डमा जनप्रतिनिधि चुनियो ।
जनप्रतिनिधि भईसकेपछि पार्टीको कोचिङ र निरन्तर शिक्षाले ऊ पनि धुर्त र चलाख भयो । धन कमाउन के के गर्नु पर्छ ज्ञाता भयो । जेबाट पनि धन निचोर्न जान्यो । ऊ साँच्चैको धनकुवेर धनबहादुर भयो । चन्दा दिन सक्ने ऊ पार्टीको शक्तिसाली कार्यकर्ता भयो । पार्टीले धन आउने पदमा उसलाई मनोनित गर्दै गयो । धन उप्रिमाथि थुप्री भयो । तर अपशोस ! उसलाई मधुमेह र उच्च रक्तचाप भयो ।    धन भएर पनि के गर्नु ? जे पायो त्यहि खानु भएन । गरिब हुँदा खान हुन्थ्यो, खान पाएन । धनि भएको छ तर खान हुँदैन । कस्तो विडम्बना ! मुख बार्नु पर्ने । मुला धन ! धन उसको मालिक । जहिले पनि कामको बोझ ! धनले अनेक रोग, चिन्ता र पीर लिएर आयो । मनको शान्ति भताभुङ्ग पार्यो । जीवन निरस उजाड बनायो ।
स्वास्थ रहन ऊ सधै मोर्निङ् वाक गथ्र्याे । खानामा परहेज । दवाईको बढ्दो मात्रा । मोर्निङ् वाक गर्दा ढले । अकस्मात मृत्यु ! अस्पताल पुग्नै पाएन । तुच्छ सम्पत्ति जसको पछि कुददाकुददा सारा उमेर बित्यो, इमान जमान गुम्यो । सेतो सफा स्वच्छ पवित्र कन्चन ऊ कालो ध्वासे कुरूप कलुषित घृणित भयो । अन्तिममा केही काम लागेन...मुला तुच्छ धन !
२०७४ असार ३, धरान

३४
बाँचेकै छु !?
.    “..कुनै बेला आफैलाई सोध्छु ...बाँचेकै छु !? न चपाएर खाने दाँत छ न स्वाद लिने स्वादे जिब्रो । खाएको पनि हो कि हैन ? अलिकति धेर खायो बिसाउने, थोरै खाँदा बल नहुने । के खाने ? के नखाने ? हरे ! अब त मर्न पाए हुन्थ्यो । धेरै बाँच्नु अभिसाप । शरीरमा रोग पनि एउटा मात्रै भए पो ! एउटाको दबाई गर्यो अर्को जस्ताको तस्तै । मर्न पनि आफ्नो खुसीले नहुने । बेलैमा मर्नु राम्रो रहेछ । अब सब परिवारजन दिक्क भैसके । लुलो खुट्टा । हिडदुल गर्न सकिदैन । पैसा छ भने पनि खान मन लागेको कुरा कसले ल्याई दिने ? पैसा छैन भने कसले सोध्छ के खान मन छ भनेर । अफ्ठ्यारो अक्करको बुढेसकाल ! सधै एक्लै । एक्लै बस्नु, बाँच्नु । मर्न नसकेर बाँच्नु ! मर्न नसकेको बुढो, कहिले मर्छ पर्खि सकेका छैनन् ...” धाराप्रवाह स्वस्फुर्त ९४ वर्षका मामाका मनका तरङ्गित बह ।
“होइन, मामा । त्यसो भन्नु हुँदैन । बाँच्नु ठुलो कुरा । बाँचिरहे धेरै नयाँ नौलो देख्न सुन्न पाइन्छ । बुढाबुढी घरको ओत हो । परिवारजनलाई दुःख सुखको अभिभावक ।” भन्न त भन्छु तर मामाको अस्थिपन्जर जस्तो हाडछाला मात्र भएको बृध्द शरीर । म सहानुभूति, माया, दया र प्रेमले द्रवित हुन्छु । तर वृध्दपनको अफ्ठ्यारो अनुभव गर्न थालेको ७० वर्षीय म, के गर्न सक्छु र ? सिवाय सहानुभूतिको दुई शब्द  ।
७० वर्षीय म अनेक रोगहरु मधुमेह, उच्च रक्तचाप आदिका कारण तन्नेरीपन लुप्त भएर नातागत केही गर्न नसक्ने आफ्नो असहाय अवस्था । म आफै झल्ल््यास हुन्छु ....म पनि साँँच्चै बाँचेकै छु !? यसरी बाँच्नुलाई पनि बाँच्नु भन्नु ?
एक जना छिमेकी आएर सोध्छ “खोइ छोरा बुहारी र घरका अरु ?“
“मलाई नसोध्नु, मलाई थाहा हुँदैन ।“ मामाको जवाफ ।
हो पनि आजको व्यस्त जमाना । सबैजना सुसे धन्दामै व्यस्त । घरका वृद्धलाई स्याहारेर बस्दा खान नपुग्ने सामाजिक संरचना । यो पुस्तासम्म वृद्धहरूलाई घरमा नै राख्ने चलन छ । आउने पुस्तामा त्यो संस्कार टिक्ने कुरा छैन । वृद्धआश्रम अबको आवश्यकता हो कि ! कमसेकम वृद्धआश्रममा वृद्धहरूको एउटा संसार हुन्छ ।
क्षणिक बाँचेको महसुस हुनु, बाँचेको जस्तो देखिनु बाँचेको हो ? प्रश्न !
यसरी बाँच्नु ! आफैलाई सोध्छु ...बाँचेकै हो ? प्रश्न, प्रश्न मनको आयतनभरी फैलिन्छ !
२०७४ जेठ १३, धरान


३५
फेरि भेट होला ?

पत्नीको नियमित हेमोडायलाइसिस गर्न बिहानै बस चढ्न जाँदा बस बिसौनीसम्म सधैं पुराउँन जाने आफ्नो कुकुर हामी फर्केर आउँदा “मरिसक्यो, बिष खायो कि धेरै छटपटिएर मर्यो ।“ भन्ने नातिनीको भनाईले मन नमीठो हुन्छ ।
हेमोडायलाइसिस गर्दा गराउँदा मलाई कथम् कदाचित केहि भइहालेमा दोष कसैलाई दिनेछैन भनि हेमोडायलाइसिस गर्ने बिरामीहरुलाई सहि गराईएको हुन्छ । त्यसले जीवनको क्षणभङ्गुरता सम्झाई रहन्छ । बाँच्ने कोसिस गर्दागर्दै दियोको तेल कतिबेला सकिने हो ?
हेमोडायलाइसिस बिरामीहरु धेरै पटक पनि देखिएनन् भने मनमा चिसो पस्छ... कि गईसक्यो ? धेरै त गईसके । जीवनको क्षणभङ्गुरता त्यहाँ महसुस हुन्छ । यसपटक भेटेको बिरामिसित फेरि भेट होला कि नहोला ?
जानु त सबैले पर्छ नै ! मलाई मेरो बिद्यार्थी कालमा (मलाई मन पराउने ?) एउटी केटीको सम्झना आउँछ । ऊसँग फेरि भेट होला ? भेट भए म चिन्छु कि चिन्दिनँ ? उसले पनि मलाई चिन्छ कि चिन्दैन ? आजसम्म भेट भएको छैन । कहाँ छ या छैन ? थाहा छैन ।
युगौ पछी आज मलाई त्यो केटीको सम्झना आउँनाको कारण मेरो दिवङ्गत मित्रको सम्झनासाथ गाँसिएर आएको हो ।
बिद्यार्थी कालमा ति दिवङ्गत मित्रको सोधाई थियो— “त्यो केटी दुई जिउकी जस्ती देखिन्छे । तिमीलाई थाहा छ कि छैन ?“
फेरि एक महिना पछी उनैले भनेका थिए— “त्यो केटी खलासीसित पोइल गइछे । त्यो केटी दुई जिउकी भएपछी मैले तिमीमाथि शंका गरेको थिए । तिमीहरू सँगसँगै उठबस गथ्र्यो, हिड्थ्यो, डुल्थ्यो ।”
दस मनमा एक मनले पनि नसोचेको कुरा ! साधारण चिनजान र पवित्र अपनत्व । अहिले पनि म त्यो केटी बाँचिरहेकी होस्, हँसीखुसी होस् ! भन्ने चाहन्छु । अब बुढी भईसकेकी होली या मरी सकी ! बाँचेकी नै होस् ! फेरि भेट होस् भन्ने चाहन्छु । तर फेरि भेट होला ?

२०७४ जेठ ५ , धरान



३६
युक्ति
“आज चाहिँ हजार रुपिया भन्दा कम पैसा लिएर घरै नआउँनु !” पत्नीको कडा चेतावनी ।
“म फुथपाथे ज्योतिषले कसरी हजार कमाउनु ?” सम्झदै ऊ आफु सधैं बस्ने सडकको फुथपाथमा बसेर ग्राहक ढुकेको पनि निकै बेर भईसकेको हुन्छ ।
‘अरे, कार पो रोकियो । ल त्यसबाट बुढा ओर्लिदै छन् । हात के हेराउलान् र !’ हेरेर मनमनै सोचिरहेको हुन्छ ।
 बुढा हात पसारेर उसकै अगाडी बसेको देखेर ‘मौका उम्किन दिनु हुदैन । युक्ति गरि हेरौँ ! बल्सिमा परिहाल्छ कि !’
हात हेरेर ऊ भन्छ “एउटा कुरा तपार्इँको मृत्युमा तपाईँका समकालीन साथीहरू कोहि मलामि हुँदैनन् ।”
“किन ?” रिसाएर बुढा सोध्छ ।
“कारण तपाई ९९ वर्ष बाँच्नुहुन्छ । त्यतिबेलासम्म तपार्इँका सबै साथीहरू मरिसकेका हुनाले कोहि मलामि हुँदैनन् ।”
“हा..हा..हा..” बुढा जोडले हाँसेर पर्स खोल्न थाल्छ ।
‘कति देलान् थोरै दिए भने हात हेरेको रकम नै हजार हो भन्नु पर्ला’ भन्ने सोचिरहेको उसलाई बुढाले तीन वटा हजारको नोट दिँदा चिठ्ठा परेझैँ लाग्छ  ।
बुढाभने गाडीमा चढ्न आँटेको बेला ड़ङ्गरङ्ग लड़छन् । सहयोगीहरूले हत्तपत्त गाडीमा चडाएर अस्पताल लैजान्छन् ।
‘बोलेको पुगोस नपुगोस्, मेरो काम दाम कमाउनु हो । युक्ति काम लाग्यो, आज पत्नीको खप्की खान परेन ।’ सोचेर  मक्ख पर्दै उसको मन नाच्न थालेको हुन्छ ।
२०७४ वैशाक ९, धरान
३७
अहङ्कार

मानिस आफ्नो अहम् (कि अहङ्कार ?)का लागि अनेकौ कष्ट झेल्न तयार हुन्छ, र कष्टकर दिनचर्या बेहोरिरहेको हुँदोरहेछ  । 
पति पत्नी बीच कुनै कुरामा पनि मतैक्यता हुदैनथ्यो । जे कुरामा पनि पत्नीको जिद्दी अगाडि उसले नै सम्झौता गरेर दाम्पत्य जीवन धानिरहेको थियो । जे होस् उनीहरू जीवनको अन्तिम कालखण्डमा पुगिसकेका छन् । अब गुनासो गरेर गुमेको समय काल फर्केर आउदैन ।
“तिमीले हरेक परिस्थितिमा मलाई साथ दियौ, र नै अहिलेसम्म म बाँचेको छु ।” बुढेसकालमा पुगेको ऊ भन्छ ।
“हो र ?!” आँसु आँखाको डिलडिलमा जम्मा गर्दै पत्नी भन्छे— “मैले माफ नमागी नै माफ दियौ । मेरो अहङ्कार, जिद्दी र सनक जितेर मलाई आजपर्यन्त तह लगायौ । ढिलै भईसकेको भएपनि अब म तिम्रा लागि आफ्नो अहङ्कार त्याग्दै छु ।”
“पर्दैन । मलाई तिमी जेजस्ती छ्यौ स्वीकार्य र प्रिय छ्यौ । जीवनको अन्तिम कालखण्डमा तिम्रो व्यक्तित्व अस्तिŒव विखण्डित भएको म हेर्न चाहन्नँ ।”

२०७३ माघ १२ , धरान

३८
मलामि चाहिँदैन

अत्यन्त धुर्त प्रसादमणिले आफ्नो चाहना पूरा गर्न नैतिक अनैतिक छलकपट के चाहीँ गरेन । सरकारी पद, प्रतिस्था प्राप्त गर्याे । जागिरपछि नेता भयो, मन्त्री पड्कायो । सम्पत्ति बेसुमार कमायो । बिहे पनि तिनजनासँग ग¥यो । स्वार्थी चरित्रका कारण पत्नी र सन्तानहरूसँग राम्रो सम्बन्ध रहेन र अधवैंशे ऊ ... कसैलाइ पनि राम्रो नगरेकोले बुढेशकालमा एक्लो भएको छ ।
अन्याय, असत्य र धोकाधडि गरेर मानिसहरूलाई रुवाउँदा पीडितहरूले सोध्नेभन्ने गर्थे— “मर्दा मलामि चाहिदैँन ?’’
अहङ्कारी ऊ कुर्लिएर भन्थ्यो— “चाहिदैँन ।’’
आफ्नो खराब आचरण र घमण्डले एक्लिएको ऊ सोच्छ— ‘जीवनभर मानिसहरूको चित्त बुझ्ने कुनै काम नगरेकोले मेरो यो गति भएको छ । मर्दा साच्चै मलामि हुँदैनन् कि ! एउटा राम्रो उपाय म मृत्युपश्च्यात शरीरदान गर्ने छु । मलामि पनि नचाहिने र मरेपछि शरीरदान गरेर जीवनभर लागेको क्रुर दाग पनि मेटिने । वाह, शरीरदान गरेर प्रसादमणिले राम्रो काम गरेछ भनेर मृत्युपछि नै भए पनि मेरो प्रशंसा हुने ...’
ऊ अस्पताललाई शरीरदान गर्ने निष्कर्श मनमनै गर्छ । तर फेरि सोच्छ... ’तर म कहाँ, कसरी र कसको साथमा मर्छु ? अस्पताललाइ कसले खबर गर्ला र मेरो लाश कसले बुझाउँला ?’
अनुत्तरित प्रश्न !
उसका आँखाहरूबाट बलिन्द्र आँसुको धारा बहन थाल्छ ....।
२०७५।८।११ ।३ विशालचौक, नखिपोट



३९
बौरिने जीवन

कलमि काटेर भुइँमा गाडिएका हाँगाहरू बौरिने नव जीवन प्रतीक्षारत छन् ।
दुई तीन महिनासम्म नहल्लिइ रहेमा बौरिने थियौँ । सोचेर बौरिने समय पर्खिरहेका हुन्छन् ।
मसिना केटाकेटी खेल्दै आईरहेका छन् । के विश्वास कति बेला तिनीहरूले उखेलेर फाल्ने हुन् । कुल्चिएर मार्ने हुन् । असहाय जनताजस्ता ती कलमि बिरूवाहरू थर्थरी हुन्छन् । तर ती केटाकेटीहरूले केही बिगार गरेनन् ।
बिरुवाहरूले सन्तोष मानिरहेकै बेला केही ठूला मानिसहरू आउँछन् । उनीहरूलाई कलमि बिरुवाहरूबारे वास्ता छैन । कुल्चिएर हिँडिरहेको बेला अघिका केटाकेटी आएर नकुल्चिन भन्छन् ।
केही कुल्चिसकिएका बिरुवाहरू मृत्युउन्मुख वा मरिसक्छन् । बाँचेका बिरुवाहरू ती केटाकेटीहरूप्रति नतमस्तक हुन्छन् ।

२०७५कात्तिक २७(२८


४०
सर्कसको सिंह

सर्कसको लोकप्रियता घटेपछि एक जोडी सिंह र सिंहिनीलाई खोरबाट छोडियो । स्वतन्त्र तिनीहरू केही बेर यताउता घुमेपछि फेरि खोरमा नै पस्छन् ।
स्वतन्त्रतासँग कहिल्यै परिचय नभएको तिनीहरू सर्कसमा बाहेक अन्त के गरि बाँच्नु पर्छ थाहा नपाएर खोरमै पसिरहन्छन् ।
सर्कस मालिक यो थाहा पाएर उनीहरूलाई  स्वतन्त्रतासँग बाँच्न सिकाउन जङ्गलमा लैजाने, सिकार खेल्न सिकाउने अनि जङ्गली जीवनसँग अभ्यस्त बनाउने कोसिस गर्छन् । अभ्यस्त नभइन्जेल जङ्गल र सर्कस मालिकको कम्पाउण्डमा उनीहरू बसिरहेका हुन्छन् ।
सिंह र सिंहिनी पनि जङ्लसँग अभ्यस्त हुन थालेका हुन्छन् । केही महिनापछि सिहिनी भर्भवती भएको थाहा पाएर सर्कस मालिक खुसी हुन्छन् । सिंहको वंशबृध्दि हुने भयो र बच्चा सिंह पूरा जङ्गलमा राजा भएर बस्नेछ भनेर उ ढुक्क भइरहेको हुन्छ ।
महिना पुगेपछि सिंहिनीको बच्चाहरू जन्मिन्छन् । तर अचम्म बच्चाहरू स्यालको हुन्छन् । वास्तविक शन्सर्ग थाहा नभएको सिंह र सिंहिनीलाई  स्यालहरूले शन्सर्ग गर्न सिकाएकाले त्यस्तो भएको रहेछ । सिंहसित शन्सर्ग भएका स्यालनीहरूले पनि स्याल बच्चा नै जन्माएछन् । जङ्गल... सिंहविहीन स्याल भरिभराउ जङ्गल ...


२०७५ कातिक २०, विशालचौक
४१
ज्ञानको परिधि
(ऊजस्तै मैले किन अन्धभक्ति, अन्धविश्वास र अन्धआशा गर्न सकिरहेको छैन ? ऊजस्तै सबै मेरो जीवन निर्धारण गर्ने परमात्मा हुन् भन्ने सम्झेर किन म सन्तोषी अन्धभक्त्त हुन सकिरहेको छैन ? कि मेरो सोचको दर्शन ठीक छैन जसले मलाई सत्यतथ्यमा आधारित यथार्थबोध गर्न सघाउ पुराएको छैन ।) ‘क’ आफुलाई सन्देहको घेरामा राखेर मनमनै सोच्छ तर प्रत्यक्षमा भने आफुलाई उन्नत भौतिकवादी देखाउँछ । 
(ऊजस्तै म सत्यतथ्यमा आधारित यथार्थबोध गर्न ठीक दर्शन बुझेर ठीक सोचको विकास गर्न असमर्थ भई परमात्माको अन्धभक्ति, अन्धविश्वास र अन्धआशामा रुमल्लिरहेको छु । आधुनिक युगमा जन्मेर पनि मैले किन आधुनिक वैज्ञानिक सोच विकास गर्न सकेको छैन ? अन्धविश्वासले मेरो जीवन फोस्सा बनाउदै छ ।) ‘ख’ मनमनै सोच्छ तर ऊ पुरातन संस्कार छोड्दैन, गरिरहन्छ र आफुलाई ठुलो आस्तिक देखाउँछ । 
(‘ग’ र ‘घ’ भौतिकवादी ‘क’ र ठुलो आस्तिक ‘ख’ को जीवन शैली र पद्धत्ति नियाल्दै आफुमा पनि तिनीहरूका केही प्रभाव र लक्षण विकसित भएको पाउथे र आफु किन कुनै विशुद्ध भौतिकवादी वा आदर्शवादी हुन सकिएन ...) सोच्छन् र छ्यासमिसे भएको आफुलाई देख्दा विस्मित हुन्छन् ।  (अरु ‘ङ’ देखि ‘त्र’ सम्म आफु के भएका छन् वा हुनेछन् कहिल्यै अध्ययन अवलोकन गर्दैनन् । किन ? भन्ने प्रश्न नै कहिल्यै गर्दैनन् तर उनीहरूकै लागि अनेक दर्शन र व्यवस्था गरिएका हुन्छन् जो उनीहरूलाई वास्ता हुँदैन ।)
तर ‘ज्ञ’ चाहिँ जहिले पनि अध्ययन अवलोकनमा संलग्न हुन्छन् र ज्ञानको परिधि विस्तृत पार्न व्यस्त रहन्छन् । उनी भन्छन्— ज्ञानको परिधि असिमीत हुन्छ । क देखि त्र सम्म मात्र सिमीत हुँदैन, ज्ञ सम्मै फैलन्छ ।
२०७५ कातिक १७, विशालचौक
४२
चासो
म बिरामी भएको बेला कोही भेट्न आएनन् । परिवार सिकिस्त बिरामी भएको बेला पनि आएनन् ।
अनेकौ संकट पनि आफ्नै बलबुताले मोचन गरियो । अब कसैको पनि आश गर्न छाडियो । जमाना स्वार्थी, सबै आत्मकेन्द्रित । आफु बाँचे सबै ठीक । अरुलाई बाँच्न मद्दत किन गर्ने ? सहयोग गर्ने किन ?
यो आधुनिक रहनसहन, चालचलन अरुको सुख दुःखमा साथसहयोग गर्ने परिपाटी हरायो । मनभित्र यस्तो सोचको विकास भयो ।
जीवनको अन्तिम कालखण्डमा कनिकुथी लेखेर एउटा पुस्तक प्रकाशन गराएँ । विमोचन भव्य गरियो खर्चै गरेर । पुस्तक सित्तै बाडियो । भूमिका पनि थैली भेट दिएर गतिलै लेखाइएको छ । विमोचनमा थैलिकै जोडमा टिप्पणी पनि राम्रै गराइएको थियो ।
पुस्तकमै टेलिफोन र इमेल दिइएको छ । पढ्नेहरूले फोन र इमेलबाट प्रतिक्रिया देलान् । खुब आशा गरियो ।
फोनमा त प्रतिक्रिया आएन, आएन । इमेलमा आएको छ कि भनेर सधैजसो खोल्छु । छैन । खोई छ महिना बितीसक्यो । कतैबाट केहि चर्चा परिचर्चा छैन । बेकारमै पुस्तक छापेर ठूलो मान्छे हुने रहर गरिएछ । सन्तोष मान्छु— जे होस् हातको मैला फालेर भए पनि पुस्तक त निकालियो नि । ‘जसले गर्छ रहर उसको जान्छ गोठको बहर ।’
अरुलाई भन्न सुनाउन नसकिने । आफै गम्छु, साथीभाई विरामी हुँदा म कहाँ भेट्न गए र ? कोही इष्ट मित्रको संकटमा मैले कस्तो सहयोग गरेँ र ? अरुले लेखेको पुस्तक मैले कहिले पढेको छु र ?
म अरु बिरामी हुँदा भेट्न गइनँ । अरुलाई कुनै मद्दत पनि गरिनँ । अरुको पुस्तक पढ्दै पढिनँँ ।
त्यसैले, मैलेजस्तै कसैले पनि मेरो पुस्तक पढेनन् हेरेनन् । अनि कहाँबाट प्रतिक्रिया आउने ?
निष्कर्ष स्वतः निस्कन्छ... अरुको सुख दुःखमा चासो नलिने मप्रति पनि कसैको चासो रहेन । गल्ती अरुमा होइन आफैमा रहेछ । जस्तो रोप्यो त्यस्तै फल्ने हो ।

२०७४ चैत १९ , धरान 


४३
साथीको सहयोग र माया

मान्छेलाई जतिसुकै स्वास्थ, बलवान, धनि वा बुध्दिमान होस्, कुनै न कुनै बेला मात्र होइन सधैं अरुको सहयोग र माया चाहिन्छ ।
फूलमती, धर्मदास र चम्पा केटाकेटीदेखिकै साथी भएकोले एकआपसमा असाध्य सहयोग र माया गरागर गर्छन् ।
फूलमती कुनै समस्यामा परेर निराश भइरहेकी हुन्छे । त्यो थाहा पाएर धर्मदास भन्छ— भगवान सम्झ, शान्ति मिल्नेछ ।
निराश फूलमतिलाई देखेर चम्पा सोध्छे— के भयो ? मलाई साथी सम्झि खुलस्त भन ।
निराश फूलमतीले निराश हुने कारण बताई । दुवैले सल्लाह गरेर उपाय निकाले । दुवै प्रशन्न भए ।
फेरि केही समयपछि फूलमती सिकिस्त बिरामी भई । बिरामी देखेर धर्मदास भन्छ— भगवानसँग प्रार्थना गर, तिमी निको हुनेछौ ।
चम्पा सिकिस्त बिरामी फूलमतीलाई अस्पताल लान्छे । उपचार गराउँछे र फूलमती निको हुन्छे ।
समय बित्दै जाँदा तीनैजना आआफ्नो घर व्यवहार गृहस्थीमा फस्छन् ।
चम्पालाई समस्या परे फूलमती र फूलमतीलाइ समस्या परे चम्पा । एकआपसमा ‘ढुङ्गाभर माटो, माटोभर ढुङ्गा’ थिए । धर्मदास भने अरूलाई परेको समस्यामा जहिले पनि प्रार्थना गरेर माया र सहयोग देखाउँथ्यो । खुब सल्लाह दिन्थ्यो ।
एक पल्ट धर्मदास बिरामी भयो । सबै छिमेकिहरूले उसको स्वास्थलाभको लागि प्रार्थना गरेको कुरा उसलाई  सुनाइ रहे । खुब सल्लाह पनि दिए तर कुनै मद्दत गरेनन् ।
ऊ झन्झन् बिरामी भएर थलियो । उसको त्यस्तो हालत देखेर फूलमती र चम्पाले उसलाइ अस्पताल पु¥याए र दुवैले आफै खर्च गरेर निको पारे । साथीको सहयोग र मायाले उसलाई जीवन दियो । त्यसपछि कसरी साँचो मद्दत गर्नुपर्छ भन्ने धर्मदासलाई पनि थाहा भयो ।

२०७४ माघ १६, धरान




४४
आशको चरी

खडेरीले कहीँकतै  हरियो परियो रहन दिएन । सुख्खा जताततै । जमिन बाझो । पानीको मुहान सुकेर पानी र खानाको अभाव । बाँच्ने कसरी ? आशको चरी शोकाकुल भई ।
प्राणीहरू भोकतृखाले मर्न थाले । आशको चरी पनि भोकतृखाले व्याकुल भई । जताततै हेरी, उडी, खोजी  । खाने कुरा पाइन्छ कि ? पाइन तर उसले आशा मारिन ।
आशाकै भरमा बाँचि रहेकि उसले कालो माटो खाई । त्यसले उसलाई उड्न सक्ने बनायो । त्यो कालो माटो सिनु कुहेर बनिएको रहेछ ।
उडेर धेरै टाढाको नदिको पानी खाई, तृष्णा मेटी । धेरै प्राणीहरू अनिकालले मरे । तर आशको चरीले आशाको दियो निभ्न दिइन ।
नभन्दै केही समयपछि झरि प¥यो । धरती रसायो, फेरि हरियाली छायो ।
आशको चरी आशैले बाँचि । त्यसैले उसलाई ‘आशको चरी’ भनिएको रे । त्यो आशको चरी आज पनि हाम्रा वरिपरि कहिले देखिने गरी कहिले नदेखिने गरी घुमिरहेकी उडिरहेकी छिन् । आज भोलि पनि कथम् कदाचित त्यसलाई देखिहालियो भेटिहालियो भने मार्नु हुँदैन भन्छन् ।

२०७४।८।१४।५.धरान


४५
अधुरो जीवन

‘अधुरो कामले परिणाम दिँदैन’ भन्ने उसलाई थाहा नभएको होइन ।
जीवन छोटो छ, गर्नुपर्ने काम धेरै छन् । यस्तो सम्झेर उसले धेरै कामहरू थालेको थियो । पढ्नु छ, जान्नु छ, लेख्नु छ । जीवनको स्वाद चाख्नु छ । सबैभन्दा बढी थाहा पाउनु छ— जीवन के हो ?
ऊ चारैतिर भौतारियो । धेरै मानिसहरूसँग सँगत ग¥यो । धेरै ठाँउहरू घुम्यो । थुप्रै कामहरू थाल्यो । ऊ संसारका हरेक सुन्दर वस्तुहरूको रसास्वादन गर्न चाहन्थ्यो । सुन्दरी पत्नी चाहन्थ्यो । र, आफ्नो बेग्लै सुन्दर संसार रच्न चाहन्थ्यो ।
हरेक सुन्दर वस्तु प्राप्ति गर्न लालायित उसले चारैतिर चारैपट्टी हात हाल्यो । ति कामहरू राम्ररी हुन सकेन । पानी चारैतिर छरिदाँ मूल प्रवाह हुन नसकेर सुकेझैँ उसको बहुमुल्य बलवान समय पनि थुप्रै कामहरूमा छरिएर कामहरू अधुरा भए । अधुरा कामहरूले परिणाम दिदैन ।
हतास निराश उसले सबै अधुरा कामहरूलाई लात मा¥यो । एउटै मात्र काम समात्यो— जुन कामले उसलाई सन्तुष्टि दिन सक्थ्यो । त्यो काम थियो— भरपुर जीवन भोग्नु ! भरपुर जीवन भोग्ने काम पनि अधुरै रह्यो । जीवनले सबै जिउँदाहरूलाई सदैव झुक्काउँदै आएको छ । उसलाई पनि जीवनले झुक्कायो र भरपुर जीवन भोग्ने उसको सपना पनि अधुरै रह्यो ।
 
२०७४ कार्तिक ११, धरान

४६
असल साथी
पद, पैसा र झुठो प्रतिष्ठाको पछी नलागी सरल, सामान्य र इमानदार जीवन जिउने कोसिसमै नोकरी अवधि बित्यो । तन्नेरी कालका थुप्रै साथीभाई र बानि ब्येहोरा छुटे । तन्नेरी कालमा सारा संसार आफ्नै मुठ्ठीमा भएझैँ लाग्थ्यो ।
बुढेसकाल ! पीडायुक्त अवस्था सृजित भइ हाल्छ । पद र पैसा नभए पछी सबले छाड्ने भए नै ! ‘बलेको आगो ताप्ने’ समाजमा साथीभाईहरूको कमि हुनु स्वाभाविक हो । अझ पीडायुक्त अवस्थामा गुज्रिरहेको मान्छेको कसलाई वास्ता हुन्छ र ? भेट्दा छक्क परेर हेर्छन, कस्तो थियो ? यस्तो भएछ भनेर परपीडा सुख महसुस समेत गर्छन् । त्यसैले पनि कसैलाई भेट्न मन लाग्दैन । कुरा गर्न मन लाग्दैन । बिलौना सुनाएर हाँसोको पात्र हुन मन लाग्दैन । आधुनिक सञ्चार जालोले बेरिएको विश्वमा संञ्चारसम्पर्कविहीन एक्लो ।
पुरानो साथीभाईहरू आफु जस्तै कुनोमा थन्कि सके । नयाँ साथी बनाउने जाँगर हुन्न । कसैलाई आफ्नो पीडा, कष्ट र अवस्था बतायो भने उल्टो अर्थ लगाउन थाल्छन् । तसर्थ ‘मनको बह कसैलाई नकह ।’
मान्छेको जीवन हो । साथीभाई चाहिन्छ नै । चाहिँदा खोजेर पुरा गरीन्छ । साथीभाईहरू पनि पद र पैसा नभएकोसित तर्किन मन पराउछन् । कार्ल माक्र्स जस्तो असल साथी पाउने भाग्यमानी हामी कहाँ हुन्छौँ र ?
मेरा हजारांै साथीहरू थिए । असल साथी थिएनछ अथवा म नै असल साथी बनाउन असमर्थ भएछु । ‘तिम्रो असल साथी हुँ ।’ भन्नेहरुलाई सम्झन्छु । सानै स्वार्थमा मित्रतामा कलङ्क बनेका तिनीहरू !
जीवन त काट्नै पर्छ । असल साथी को होला ? सुख दुखमा साथदिने असल साथी ! असल साथी !! असल साथी...
अब यो उमेरमा कहाँ खोज्नु ? कहाँ पाउनु ? हतोत्साहित मलाई मेरै कोठाभरी छरिएर रहेको अनेकौ साथीहरूले व्यग्रतासाथ पर्खिरहेका पाउँछु । ति अरु कोहि होइनन् मैले पढिसकेका र पढ्न बाँकी रहेका असल पुस्तकहरू हुन् । इन्टरनेट, फेसबुकले धोका दिएपनि पुस्तकहरूले कहिल्यै धोका दिएका छैनन् । कहिले हँसाउछन्, रुवाउछन् भने कहिले ढाढस दिएर बाँच्न प्रेरित गरिरहने असल साथीहरू ...!
२०७४ भदौ ३ शनिबार, धरान





४७
महान्

मेरो कथाको पात्रले आफ्नो शरीरदान गरेको छ । म पनि शरीरदान गर्न चाहन्छु । तर त्यो इच्छा मात्र भएको छ । आफ्नो शरीर भनेर नहुने रहेछ । पत्नीको पनि हक लाग्दो रहेछ । ऊ मान्दिन ।
यो साल मेरा छिमेकी पुराना दुई मित्रहरू खुसुक्कै खुत्रुक्कै परमधाम गए । छिमेकीहरू मजस्तै बिरामी थिए । बुढेसकाल र बिरामी हुनु पर्यायवाचीजस्तै हुन् ।
छिमेकी र पुरानो मित्र सुजना ! पुराना मित्र यसरी कि भेटघाट, खोजखबर, भलाकुसारी नभएको लामो समय भईसकेको हुन्छ । तिनी कहिलेदेखि र के बिरामी थिईन् थाहा भएन । सामाजिक सेवामा सक्रिय तिनी कार्यक्रमहरूमा देखिन छाडेपछि ओझेलमा पर्नु स्वाभाविक थियो । एकप्रकारले तिनको सम्पर्क कमै मानिसहरूसँग मात्र थियो । बुढेसकालमा यस्तो हुनु स्वाभाविक पनि हुन्छ । कौन पुछे बुढाबुढी ?
पैसा हुनेहरू पैसा छरेर ठूला देखिने प्रयास गर्छन् । अवसान नजिक पुगेको जीवन देख्दा मनमा बैराग्य उत्पन्न हुँदोरहेछ र दान दिएर, सेवा गरेर वा परोपकार कार्यहरू गरेर मनभित्रको बैराग्यलाई मुर्त रुप दिने कोसिस गर्छन्  । सुजना यस्ता कामहरूमा कहिले देखिईन ।
तिनको मृत्यु भएको खबर पनि मैले ढिलो थाहा पाए ।
मलामी जाने सोच बनाउदै हुन्छु । पत्नी सबिस्तार आँखोदेखाझैँ खबर सुनाउछिन् ‘मानिसहरू मलामीका लागि जम्मा भएका थिए रे । लाशलाई अबिर माला खादा चढाईसकेपछि अस्पतालबाट आएका मानिसहरूलाई लास जिम्मा दिएर तिनका छोराले भने रे— आमा महान् हुनु हुन्थ्यो । शरीरदान गर्नु भएकाले अस्पताललाई शरीर दिएका छौँ । आउनु भई श्रद्धा व्यक्त गर्नु भएकोमा आभार...।’
     सुनिसकेपछि मलामी जाने कुरै सकियो । साँच्चै सुजना महान् थिइन् ।
 
२०७४साउन २०,गोल्छा अस्पताल, बिराटनगर





४८
  मोह 
‘भ्रष्टाचार बिरोधि अभियान’को नारा र कार्यक्रम थियो— भ्रष्टाचारीहरूलाई सामाजिक बहिस्कार गर्दै कानुनी कारवाही गरेर भ्रष्टाचारीहरूको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने ।’ अभियानका अध्यक्ष दिनभर भ्रष्टाचार निर्मुल अभियान सञ्चालन गरेर बेलुकी घर फर्किए ।
छोराको विवाहका लागि विभिन्न घरहरूबाट कुरो आईरहेका थिए । तीमध्ये एउटा जागिरेको छोरीको पनि कुरा आईरहेको थियो । ति जागिरे भ्रष्टाचारको मामलामा निकै गन्हाएका थिए । उनकै छोरी विवाह गर्नका लागि अध्यक्षकी पत्नी सल्लाह दिईरहेकी थिइन् ।
‘भ्रष्टाचार गरेर निकै धन कमाएका छन् र दाईजो धेरै आउला । उनकै छोरीसँग कुरा छिनाँै, हुन्न ?’
अध्यक्षले केहीबेर गम्भीर भएर सोंचे र अन्त्यमा सहमति जनाउन टाउको हल्लाउदै भने— ‘हुन्छ ।’
सुर्य किरण  (पत्रिका), २०६८, धरान







४९
सहज मृत्युवरण 
यो कथा आजभन्दा दुईसय वर्षपछिको सत्य घटनामा आधारित छ ।
अत्यन्त उच्च प्रविधियुक्त अस्पतालमा भर्ना भएर अरु बढि थप आयु बढ्ला भन्दै प्रतीक्षारत प्रेम २७–०१७–००१९७४ तात्कालीन अवस्थामा १५० वर्षभन्दा बढि आयु बढाउन नसकिने बैज्ञानिकहरूको घोषणाले निराश हुन्छ । उसले यसभन्दा अगाडि पनि २५, २५ वर्षका दरले दुई पटक आयु थप गरिसकेको थियो ।
आफ्नो मृत्युको अन्तिम घडिमा छोराछोरी, बुहारी, नातिनातिनीहरूको बीचमा उनीहरूले घेरिएर मर्न पाए हुन्थ्यो भन्ने उसको अन्तिम इच्छा हुन्छ । नभन्दै उसका वरिपरी छोराछोरी, बुहारी, नातिनातिनीहरू उसलाई उभिएर हेरिरहेका र स्याहारिरहेका जस्ता देखिन्छन् । उसको अनुहारमा प्रसन्नताको चमक आउँछ । त्यही  खुशीको लहरमा उसको प्राण पखेरु उडेर जान्छ ।
रोबोट आर–१७७ त्यो देखेर पेन प्रोजेक्टर बन्द गर्छ । मृतकको वरिपरी उभिएका छोराछोरी, बुहारी, नातिनातिनीहरूका तस्विररूपी आकृतिहरू बिलाउछन् ।
हजारौं किलोमिटर टाढा बेग्लाबेग्लै स्थानमा रहेका छोराछोरी, बुहारी, नातिनातिनीहरू आआफ्नो कार्यकक्षमा बसेर उसको मृत्युवरणको दृश्य हेरिरहेका हुन्छन् । उनीहरू निमेषभर खिन्न हुन्छन् । पेन प्रोजेक्टरकै माध्यमबाट एकै ठाउँमा बसेझैँ  गरी उनीहरू सल्लाह गर्छन् र रोबोट आर–१७७ लाई दाह संस्कार गर्ने आदेश दिन्छन् ।

२०६८।५।२२, चपलि




५०
चुरीफुरी
“होइन, के हो ? निक्कै चुरीफुरी देखिन्छ नि ?” छिमेकी सोध्छन् ।
“हाम्रो पार्टीले चुनाव जित्यो नि !” झन्डै झन्डै ठुले र ठुली एकसाथ भन्छन् ।
केहि समयपछि गाउँपालिकाबाट एउटा सिफारिस लिनुपर्ने हुन्छ ।
आफ्नै पार्टीको अध्यक्ष एकै क्षणमा काम भइहाल्छ भन्ने ठुले र ठुलीको बिश्वास “भोलि आउनु” भन्ने अध्यक्षको भनाईले धरमर हुन्छ ।
फर्किरहेका उनीहरूलाई बाटोमा सक्रिय कार्यकर्ताले भेटेर भन्छन् “तपाईँको काम भोलि हुन्छ तर खर्च लाग्छ । अध्यक्षले खर्च गरेरै चुनाव जितेका हुन् । खर्च उठाउनै प¥यो ।”
चुनावको बेला पार्टीले खुवाएको र उनीहरूले खाएको मासुभातको सम्झना ताजा भएर आउँछ । उनीहरूको चुरीफुरी पनि त्यसै दिनदेखि समाप्त हुन्छ ।

२०७४ असार १९, धरान



५१
सपना र जीवन

....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ । ऊ धार्मिक कथाको राक्षस, भुत वा डाका लुटेरा हुनसक्छ । हातमा नाङ्गो खुकुरी छ । म चारैतिर कोहि छ कि भनेर हेर्छु, कोहि मद्दत गर्ने मानिस छैन । म भागिरहेको छु, भागिरहेको छु... .ऊ खेदिरहेको छ, खेदिरहेको छ । भाग्दाभाग्दै भीरको छेउमा पुग्छु । अब भाग्ने ठाँउ छैन । ज्यान जाने नै भयो ! म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लड्न तयार हुन्छु । लड्दालड्दै पछाडी सर्दा भीरबाट खस्छु । 
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु । मेरा प्राध्यापक साथीहरु पनि थुप्रै रहेछन् । सम्मेलनबाट फर्किरहेका रे । तल सडकमा हेरेको... ‘बन्द’ रे । पुलिस र बन्दकर्ताहरू भिडिरहेका छन् । अलिक शान्त भएपछी ओर्लन्छौँ । रात परि सकेको छ । कोहि कता कोहि कता जान लागे । म चाहीँ अब कता जाऊ ? अन्यौलमा थिए । “एक छिन पर्खिदै गर्नुहोस है” भनेर गएका हरि सर आउनु भएको छैन । यो परदेसको ठाउँमा रात कता बिताउने होला ? चर्को तनाव भईरहेको हुन्छ । हरि सर आउनु हुन्छ । अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव भैरहेको हुन्छ ।
अचानक आँखा खुल्छ ।
टेन्सन समाप्त । आनन्द लाग्छ । अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ । आँखा खोलिनासाथ सपनाको दुःख, सुख, रमाइलो, नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दुःख–सुख, चिन्ता–पीडा, हर्ष–आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष–आनन्दका साथ पीडा दुःख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!

२०७१ माघ १६ बिहिबार, धरान






५२
कल्पनाको सुख

तीनजना खाइलाग्दा सुन्दरी तरुनीहरू आइरहेका छन् । म ति तीनमध्ये एकजना रोज्छु । राम्री ‘गर्ल फ्रेन्ड’ आनन्दविभोर हुन्छु । म तन्नेरी हुन्छु ।
तिनीहरू गइरहेका छन्, फर्कीफर्की हेर्छु ।
“धत्, मलाई के भएको होला ? भर्खर ‘डायलाइसिस’ गरेर उधारो जीवन बाँचिरहेको छु । कस्तो कल्पना गर्न पुगेछु ...गर्लफ्रेन्डसँग घुमफिर रमाइलो गरिरहेको !”
म आफ्नो कल्पना सम्झेर आफै मुस्कुराउँछु । मलाई मेरै उमेरका अर्थात ६०÷६१ वर्षकी एकजना महिलाले हेरिरहेकी हुन्छे, पनि मलाई हेरेर मुस्कुराउँछे । सायद झुक्कीएकी हुन्छे ।
मधुर कल्पना गरेर एक निमेष म आनन्दविभोर भएँ । मैले के बिराएँ ? कल्पनाको सुख प्राप्त गर्ने मेरो अधिकार कुनै तानासाहले खोस्न सक्छ ? सक्तैन । कल्पनाको आनन्द सबै जीवित प्राणीहरूको जस्तै मेरो पनि नैसर्गिक अधिकार हो ...। अस्ताउने अँध्यारोमा एक झलक उज्यालोको लागि कल्पिए...!?

(२०७१ चैत ३० , मेडिकेयर अस्पताल)
बागियान  साहित्यिक द्वैमासिक , वर्ष १, अङ्क ३


५३
काठको बाकस

मलामिबाट फर्की सकेपछी दिनभरका घटनाहरू दिमागमा आईरहेका छन् । उकाली चढीसकेपछि काठको बाकस (लास राखेको कफिन) बिसर्जन गर्न खनेको खाल्डो छेउ पुगियो । मुसलधारे झरी परेर बीस मिनट केही गर्न दिएन । झरी थामिएपछि संस्कारने काम मृतकको नम्बरीले सुरु गरे ।
“खोइ स्क्रु ड्राइभर, कसले बोकेको छ ?”
मृतक पुर्व भारतीय सैनिक थिए । सत्र वर्ष त्यहाँ काम गरेपछि अफगानिस्थानमा सैनिक भएर भर्ति भएका थिए । काबुलमा ड्युटी गरिरहेकै बेला बिद्रोहीको गोली लागी उनको प्राण गएको थियो । उनको लास काठको बाकसमा राखेर घर पठाईएको थियो । त्यो बाकस खोलिएको थिएन ।
बाकस खोले पछी पत्नी छोराछोरीहरू लास हेरेर रुन थाले । सबै मलामिहरूको मन नमीठो भयो । उसका पुर्व नम्बरी चार जनाले पल्टनको झण्डा ओडाएर अन्तिम सलामी दिए । त्यसपछि एक मिनट मौन धारण गरेर काठको बाकस खाल्डोमा राखियो । मृत्यु संस्कार सम्पन्न भयो ।
 मलामिहरूको अनुहार हेरेँ । बिभिन्न भाव खेलिरहेको थियो ।
मुलुकमा गणतन्त्र आईसकेपछी पनि देशवासीहरू विदेशीका लागि मारिने मर्ने पद्दत्ति रही रहनु ... दोष कसको हो ? सरकार, नेता र दलहरूलाई सर्वसाधारणहरूको जीवनसँग वास्ता नहुनु, माया नहुनु र उनीहरूका लागि केहि गर्न नचाहनु .... कति दुःखदायी छ ! त्यस्ता सरकार, नेता र दलहरूका पछी अन्धा भएर लाग्ने सक्रिय कार्यकर्ता भनिने कुपात्रहरू झन् धिक्कारका पात्रहरू हुन् ।

२०७३ जेठ १९, धरान

५४
आस्था
....धेरै वर्ष पहिला अथवा म बिद्यार्थी हुँदाको सत्य घटना बिर्सन खोज्दा पनि बेला बेला सम्झनामा झल्यास्स आउँछ ।
(सत्य घटना भनेपछि तपाईँ सोध्नुहोला ... कुन सालको कुरा ? तपाईँ को ? नेताको नाम के ? आदि आदि । नैतिकता र कसैको निजी गोप्यताका कारण सबै भन्न सकिदैन । भन्न पनि पर्दैन कारण स्पष्ट छ इतिहास वा संस्मरण नभएकोले कथाले यी तथ्यहरूको माग गर्दैन ।)
अ.ने.रा.स्व.वि.यु.मा आबध्द बामपन्थी राजनीतिमा पुरै आस्थावान र समर्पित बिद्यार्थी नेता थिए म त्यसबेला । बिद्यार्थी नेता भनेपछि पार्टीको कुनै नेतासित उसको सम्बन्ध सम्पर्क हुन्छ नै । मेरो पनि थियो । ति नेता बिद्यार्थीमाझ असाध्य लोकप्रिय थिए । उनको निर्देशन पालना गर्न बिद्यार्थीहरू ज्यानको बाजी लगाउथे । म उनको विश्वासपात्र भएकैले बिद्यार्थी नेता भएको थिएँ ।
त्यतिबेला पञ्चायती व्यवस्था थियो । आफ्नो विपक्षमा जनमत बन्न नदिन पञ्चायती व्यवस्थाका शासकहरू जेसुकै पनि गर्थे । भूमिगत दलहरू कमजोर थिए । कम्युनिस्ट र काङ्ग्रेस मिल्दैनथे । भनौ पञ्चायतले उनीहरूलाई जुधाई रहन्थ्यो ।
कम्युनिस्टहरू टुक्राटुक्रामा विभाजित थिए । कीर्तिपुर त्रि.वि.वि.कलेजको स्व.वि.यु.चुनाव हुन लागेको थियो । एम. ए. पढ्न कीर्तिपुर जानेबेला ति नेताले मलाई भनेका थिए— “तपाईँ पूर्वको पार्टीको काठमाड़ौमा एम्बेसेडर । बिद्यार्थी राजनीतिको निर्णायक नेता ।”
नेताको कुरा सुनेर फुरुङ्ग पर्दै त्रि.वि.वि.कलेजको स्व. वि.यु.चुनावमा निर्णायक भूमिका खेलियो । भनौ निर्णायक भूमिका खेलाईयो ।
चुनाव हुने बेला ति नेताले मलाई भेटेर क र ख चुनावमा अध्यक्ष र सचिवमा उठे भने विरोध गर्नु । क र ख कम्युनिस्ट मास्ने सी.आइ.डी. हुन् । तिनीहरूलाई अध्यक्ष र सचिवमा उठाउने स्थानीय पार्टीका बिद्यार्थी नेताहरूले प्रस्ताव राखे नमान्नु । उम्मेदवार चयन बैठकमा तपाईँलाई बोलाउने छन् । मैले तपाईँको नाम दिएको छु । क र ख नै हुने भए तपाईले अर्को अ.ने.रा.स्व.वि.यु.को प्यानल उठाउनु । एक साल काङ्ग्रेसले जित्दा के आकाश खस्छ ? मुख्य कुरा पार्टी सुद्धिकरण हो ।”
नभन्दै उम्मेदवार चयनको गोप्य बैठकमा पूर्वको पार्टीको आधिकारिक व्याक्तिको हैसियतले म सहभागी भए । स्थानीय पार्टीकातर्फबाट तीनजना बिद्यार्थी नेताहरूले एक स्वरले भने— “अ.ने.रा.स्व.वि.यु.को प्यानलमा अध्यक्ष र सचिवमा क र ख उठाएर अरु सबै पदमा तपार्इँ आफ्नो मान्छेहरू उठाउनु होस् ।”
“क र ख बाहेक जोसुकै भएपनि हुन्छ तर क र ख हुँदैन ।” मैले कडा प्रतिपाद गरिरहेँ ।  रातभर बसियो । कुरो मिलेन । अ.ने.रा.स्व.वि.यु.को दुईटा प्यानल खडा भयो । पूर्वको पार्टी समर्थित प्यानलले १०५ भोट ल्यायो । स्थानीय पार्टी समर्थित प्यानलले २६५ भोट ल्यायो । ने.बि. सघले जम्मा ३२५ भोट ल्याएर त्रि.वि.वि.कलेजको स्व.वि. यु.चुनावमा विजय हासिल ग¥यो ।
त्यति बेला पार्टी सुध्दिकरणका लागि एक पटक चुनाव हारियो भनेर चित्त बुझाईयो । तर धेरै वर्षपछी पनि मेरो मनमा पटक पटक प्रश्नहरु उठिरह्यो । क र ख कै नाम किन आयो ? कसरी आयो ? केलाउदा त्यो साल पद्म कन्या , त्रिचन्द्र , पोखरा , बिराटनगर ,वीरगंञ्ज , धरानमा अ.ने.रा.स्व.वि.यु.ले जितेको रहेछ । त्रि.वि.वि.कलेजमा पनि अ.ने.रा.स्व.वि.यु.ले जितेमा बामपन्थीहरू शक्तिशाली भई पञ्चायतलाई ठूलै धक्का दिन सक्ने भएकोले त्रि.वि.वि. कलेजमा अ.ने.रा.स्व.वि.यु.लाई हराउने योजना कार्यान्वयन भएको थियो कि ?!
अहिलेको राजनीति पनि हेरी ल्याउदा राजनीति हामीले नभएर अरुले नै त्यस्तै किसिमले परिचालन गरिरहेका छन् कि ?!
यसो हो भने आस्थाको शोषण भन्न मिल्छ कि मिल्दैन ?!...
मेरो कुरा ध्यान दिएर सुनिरहेका मित्रहरूलाई म सोध्छु  । उनीहरू पनि गम्भीर हुन्छन् ।

२०७४ वैशाख ५ , धरान





५५
गणतन्त्र
“अझै तिमीहरूलाई के चाहियो ?”
“के नै पो पाएका छौँ र !”
“तिमीहरूले पाउनुपर्ने आफ्नो आफ्नो भाग पाईसकेका छौ । आफ्नो दायिŒव नबुझी आफ्नो भाग अर्काले खोसेर खाएको टुलूटुलू हेरिरहन्छौ ।”
“के कस्तो भाग पाएका छौँ र ?”
“तानासाही व्यवस्था फालिएर उच्च उन्नत गणतान्त्रिक व्यवस्था पाएका छौँ । यो भनेको गर्ने बहादुर जनहरूले सबै अवसर पाउनु हो ।”
“केको अवसर पाउनु नि ! सब चोत्टा नेताहरूको हालीमुहाली छ । उनीहरू खाने अघाउने हामी सर्वसाधारण टुलूटुलू हेरिरहने ! हाम्रो भागमा के परेको छ र ?”
“आफ्नु भाग अर्काले खोसेर खाएको टुलूटुलू हेरेर चोत्टा नेताहरूको जयजयकार गर्ने, अन्ध पिछलग्गु हुने, फोहोरी राजनीतिको समर्थक हुने अनि केही पाएनौँ भन्ने गुनासो गरिरहने नामर्द मेरा सन्तान तिमीहरू । आफ्नो आफ्नो दायिŒव पुरा गर्दै माटो सिंगार्न जुट !”
“हो, हो । धरती आमा ! कुरा बुझ्यौँ । अब हामी सब फोहोरी राजनीतिको पछी लाग्दैनौँ । असल राजनीतिको सुरुवात गरेर मुलुक बनाउछौँ । आफ्नो भाग चोत्टा नेताहरूले खोसेर खाने परिपाटि अन्त गर्छौँ । आफ्नो देशको मालिक आफै हुनेछौँ । आफ्नो नैसर्गिक अधिकार सदुपयोग गर्नेछौँ । जय गणतन्त्र !”

२०७४ जेठ १५


५६
बीस वर्ष

बीस वर्ष एउटा लामो समय होला । सिकिस्त बिरामी भएर हरेस खाँदै ‘अब बाँच्दिनँ’ भनिरहेकी पत्नीलाई जिउन प्रेरित गर्न ‘अझै बीस वर्ष बाँच्छौ’ उसले भनेको थियो ।
अहिले छ कि भरे... सिकिस्त बिरामी । एकै महिना बढी बाँचे ! एकै दिन बढी बाँचे ! एकै घण्टा बढी बाँचे ! लागिरहेको बेला...‘अझै बीस वर्ष बाँच्छौ ।’ उसले भनेको थियो ।
नभन्दै पत्नी बाँची । तर सदैव अस्पताल धाईरहनु पर्ने भयो । दबाई माथि दबाई थपिदै गयो । रोगको परिक्षणै परिक्षण । अनेक सास्ती सहदै पत्नी बाँची रहेकी थिईन् । पतिले पत्नीलाई स्याहार्न र उपचार गर्न आफ्नो सारा समय दियो ।
बीस वर्षको समय घटिरहेको थियो । उन्नाइस, अठार, सत्र.... एक वर्ष हुँदाहुदै केहि दिन मात्र बाँकी हुँदा ‘तपाईँले तोकेको बीस वर्ष पुग्न केहि दिन मात्र बाँकी छ । अझै बाँच्न चाहन्छु्र ।’ पत्नी भन्छिन् ।
पति केहि बोल्दैनन् । बीस वर्ष पुगेको दिन पतिको पो देहान्त हुन्छ । पतिको मृत्युमा शोकाकुल पत्नीको  हृदयविदारक क्रन्दन ‘मलाई बचाउन बीस वर्षको समय सीमा किन ? बीस वर्षमा.. बीस वर्षमात्र..बीस वर्षमै  किन  एक्लै छाडेर जानु भयो ?’

२०७४ वैसाख १७, धरान

५७
राष्ट्रिय सहमति

सानो देशका मान्छेहरूले ठूला देशको सिको गर्दै राजनीतिमा पनि राजनैतिक विकासका लागि ‘मोडल कार्यकर्ता बनाउने राजनैतिक मेसिन’ बनाए । आलो काँचो युवाहरूलाई त्यो मेसिनमा हालेर निकाले । सबै एकै किसिमका बने । भ्रष्टाचारमा पोख्त, छलकपट गर्न, झुठ बोल्न र बदमासी गर्न माहिर तर सोच नभएको विवेकहीन अन्धा कार्यकर्ता । नेताप्रति सदैव नतमस्तक । जनता मार्न तयार । देश बेच्न तयार । जुनसुकै फोहोरी काम गर्न तयार । यस्ता कार्यकर्ताहरू उत्पादन भएपछी नेता प्रसन्न ।
राजनीति किन सङ्लो चाहियो ?
फोहोरी राजनीतिले देश र जनतालाई सास्ती दिईरहेकोले सुशासन र असल राजनीतिको नाममा थुप्रै दलहरू बन्दै छन् । जति धेरै दलहरू बने पनि सबैको ‘मोडल कार्यकर्ता बनाउने राजनैतिक मेसिन’ एकै प्रकारको छ । एकै किसिमका कार्यकर्ता निस्किदै छन् । सबै कार्यकर्ताहरूले जनतालाई भिखारी बनाउदै छन् ।
जनता भिखारी भए फोहोरी राजनीति गर्न सजिलो हुन्छ रे । भिखारी भए पनि जनताले आँखा देखिरहेका छन् । जनताले एक न एक दिन दलहरूको काला करतुत देख्नेछन् भन्ने डरले जनतालाई अन्धा बनाउनु पर्छ भन्ने सर्वदलीय सोचको विकास भईरहेको छ । भिखारी भईसकेका  जनतालाई अन्धा बनाउने राष्ट्रिय सहमतिबारे सर्वदलीय गोप्य छलफल भईरहेको छ रे ।

२०७३ वैसाख ४, धरान




५८
फेसबुके  सुख

सेवानिवृत्त भएपछि समय काट्ने मेलो फेसबुक भएको छ । म मात्र नभएर धेरै जनाको भएको छ ।
पहिला यो थिएन । भएको भए तन्नेरीकालमा निकै मजा लिइन्थ्यो होला । आजभोलि फेसबुककै माध्यमले लभ गर्ने अनि विवाह गर्ने पनि चलन चलेको छ रे । आफ्नो पनि हुन सक्थ्यो ।
बुढेसकालमा साहित्यकार बन्ने रहरले म पनि फेसबुक चलाइरहन्छु । यसै क्रममा चिनेको नचिनेको मान्छेहरू साथी बन्दै गए । एक जना खुबै राम्री देखिएकी रचनालाई मैले पनि ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ । तिनले स्वीकार गरिन् र हामी फेसबुके साथी छौँ ।
अविवाहित रचनाको तस्विरमा सयौं ‘लाइक’ र ‘राम्री’ भन्ने टिप्पणि हुन्थ्यो । म पनि लेख्थे ‘सुन्दरी’ प्रत्युत्तरमा तिनको ‘धन्यवाद’ ।
केहि वर्षपछि तिनले मगनीको तस्विर पोष्ट गरीन् । मैले ‘अग्रिम बधाइ’ लेखेँ । प्रत्युत्तरमा तिनले ‘धन्यवाद’ लेखिन् ।
फेरि तिनले विवाहको तस्विर पोष्ट गरीन् । मैले ‘बधाई’ लेखेँ, प्रत्युत्तरमा तिनले ‘धन्यवाद’ लेखिन् ।
केहि वर्षपछि तिनले आफ्नो सन्तानको तस्विर पोष्ट गरीन् । मैले ‘बधाइ’ लेखेँ, प्रत्युत्तरमा तिनले ‘धन्यवाद’ लेखिन् ।
‘१२ घन्टा सुत्दा पनि निँद्रा नपुग्ने मेरो आजभोलि दुई घन्टा मात्र सुत्दा पनि निद्रा पुग्छ’ भनेर आफ्नो नानीसँगको तस्वीर पोस्ट गरेकी छिन् । टिप्पणिमा ‘सन्तानको माया’, ‘ममताको शक्ति’ आदि अनेकौ लेखिए । मैले ‘महान् आमा’               लेखेँ, प्रत्युत्तरमा तिनले ‘धन्यवाद’ लेखिन् ।
रचनासँग मेरो भेट भएको छैन र भेटे पनि चिन्छिन् होला जस्तो लाग्दैन । भेट्ने प्रयोजन पनि छैन । जे होस् नभेटे पनि साथी भएकै छिन् र हाम्रो स्वार्थरहित जीवन्त सम्बन्ध रहेको छ । 
तिनी अविवाहित केटिदेखिको फेसबुके साथी, तिनको विवाह भएको, नानी जन्मेको र हेर्दाहेर्दै परिपक्व भएको तिनको तस्विर देख्दा एक युग बितेजस्तो लाग्छ । एक युग बितेजस्तो लागे पनि तिनी जिउदै रहेको जानकारी फेसबुकमा नै पाइरहदा ढुक्क छु ।
तर कति साथीहरू फेसबुकमै भए । गफगाफ च्याट, विचारको आदान प्रदान र गहिरो सम्बन्ध फेसबुकमा नै कायम भयो । भेट कहिल्यै नभएको जगदिश घिमिरे, डिना बाङदेल जस्ता साथीहरूको मृत्युमा फेसबुकमा नै श्रध्दान्जली लेख्नु पर्दा मन निकै अमिलो भयो । तर सबै फेसबुके साथीहरू भेट्न सम्भव होला र ? ता पनि ती एक प्रकारका जीवनोपयोगी साथीहरू हुन् जसले वास्तविक जीवनमा नपाइएको अपूर्व सुख फेसबुकमै भए पनि दिन्छन् । साथीको तृष्णा मेट्न मद्दत गर्छन् ।

२०७५ कार्तिक १९ , विशाल चौक



५९
रोग र समय
अस्पतालको एक्सरे रुममा एउटा बुढोको साथमा बसेकी सुन्दर युवतीलाई म सोध्छु— “उहाँ तपाईँको पिता हो ?” लजाउँदै उसको जवाफ हुन्छ, “होइन, पति ।”
अनि पो म त्यो वृद्धजस्तो देखिएको मानिसलाई ध्यान दिएर हेर्छु । क्षय रोग वा त्यस्तै रोगले च्यापेर एकदमै दुब्लो भएर बुढो देखिएको रहेछ ।
मुला रोग ! तन्नेरीलाई बुढो बनाउँदो रहेछ !
त्यस्तै डायलाइसिस गर्ने ठाउँमा एउटी गर्भवतीजस्तो देखिने ४४÷४५ वर्ष उमेरकी महिला देख्छु, मनमनै सोच्छु— गर्भवतीलाई पनि डायलाइसिस गर्नुपर्ने भएछ ।
हप्ता हप्तामा तिनीसँग त्यहाँ नै भेट भइरहन्छ । प्रत्येक डायलाइसिसपछि पेट घट्दै जान्छ  । तिनको जिउ छरितो हुँदै आउँछ । पाँच छ वटा डायलाइसिसपछि देख्छु— तिनी गर्भवति नभएर मृगौलाको कारण त्यस्ती देखिएकी रहेछिन् । तिनी बाइस तेइसकी भर्खरकी महिला रहेछिन् । फेरि म सम्झन्छु— मुला रोग ! तरुनीलाई बुढी बनाउदो रहेछ ! आवश्यक उपचार नपाएमा अकाल मृत्युवरण गर्न बाध्य बनाउछ ।
अरुलाई हेर्दाहेर्दै समय बितेको थाहा भएन । अहिले म पनि रोगी भएको छु । बाटामा भेटिएकाहरूले ‘बा’ कसैकसैले त ‘हजुरबा’ पनि भन्न थालेका छन् । समय र रोगलाई कसले पो जित्न सकेको होला र ?! मुला रोग ! मलाई थाहा हुन्छ— मलाई पनि बुढो बनाउन थालेको छ ! समयलाई जित्न सकिदैन । कुनै पनि क्षण लैजान सक्छ !
२०७४ जेठ १६, धरान
६०
सर्वकृपालु

भीड जम्मा भइरहेको छ । मन्त्रमुग्ध, स्तब्ध र एकाग्र भएर सब ती दुईका कुरा सुनिरहेका छन् । एकजना अभूतपूर्व सुन्दर लक्का जवान, अर्की त्यस्तै अतुलनीय सौन्दर्यावती युवती । तिनीहरू भनिरहेका छन् ।
“हामीसित चामत्कारिक पूmलका बिरुवाहरू छन् । ती बिरुवाहरू एक पटक फुल्छन् र एउटा फल लाग्छ । त्यो फल जसले खान्छ त्यो मानिस हामीजस्तै सधैं जवान अमर र अजम्बरी हुन्छ ।”
“तपाईँहरू को हुनुहुन्छ ?”
“हामी अमर, सर्वशक्तिमान र सर्वकृपालु दिव्य पुरुष र दिव्य नारी हौँ ।”
“किन यी बिरुवाहरू बेचिरहनु भएको छ ?” भीडबाट एकजना प्रश्न गर्छ ।
“सर्वकृपालु भएकाले ।”
“बिरुवाहरूको मूल्य कति हो ?”
“मात्र चुम्बन । दिव्य नारी म र उहाँ दिव्य पुरुषलाई एक एक चुम्बन ।”
“हामी किन्न चाहन्छौँ ।”
“तर सर्त थाहा पाउनुहोस् । जसको आयु ९९ वर्ष छैन उसले पूmल फुलाउन सक्तैन । उसले बिरुवा लिएर हामी दिव्य पुरुष र दिव्य नारीलाई चुम्बन गरेको पाँच मिनटपछि उसको मृत्यु हुनेछ । सर्त मञ्जुर गरेर मात्र बिरुवा लिनुहोला ।”
सन्नाटा, निस्तब्धता । सबै सोचमग्न ! ९९ वर्ष बाँचिएला ?! कोही अगाडि बढेनन् । निकै बेर पछि ती दिव्य नारी र पुरुषजस्तै सुन्दर एक युगल मानव जोडी मुस्कुराउँदै अगाडि आउँछन् । सर्त अनुसार पूmलको बिरुवा लिएर तिनीहरू दिव्य नारी र पुरुषलाई चुम्बन गर्छन् ।
हर्षविभोर जनसमुदाय । तालीले वातावरण गुञ्जायमान हुन्छ । हर्षले रुमाल र टोपीहरू आकाशतर्पm फालिन्छन् । पूmलका थुङ्गाहरू बर्सिन्छन् । सारा जनसमुदायमा हर्षेल्लास व्याप्त भएर ती युगल मानव जोडीको जयजयकार हुन्छ । पाँच मिनट बितेको मानिसहरूलाई पत्तै भएन । यो के आश्चर्य ?
ती युगल मानव जोडी भुइँमा मृत लम्पसार लडिरहेका छन् । भीड पुनः स्तब्ध । त्रासदीपूर्ण दुःखद नीरवता । सर्त अनुसार ती युगल मानव जोडीको आयु ९९ वर्ष थिएन !? अब कोही त्यो अजम्बरी हुने बिरुवा किन्न अगाडि बढिरहेका छैनन् ।

ती युगल मानव जोडीको मृत्युले मानिसहरू यत्ति धेरै उत्तेजित, आक्रोशित हुन्छन् कि “ज्यानमारा तिमीहरू, हामी तिमीहरूलाई त्यसै जान दिदैनौँ !” भन्दै उनीहरू दिव्य नारी  र दिव्य पुरुषमाथि जाइलाग्छन् । ढुङ्गा, मुडा, ईटा जे पायो त्यसैले हिर्काउन थाल्छन् तर आश्चर्य ! ती ढुङ्गा, मुडा, ईटा त पूmल बनेर पो उनीहरूमाथि बर्सिन्छन् ।
मानिसहरूको त्यो उत्ताउलोपन देखेर पनि उनीहरू मुस्कुराइरहेका हुन्छन् । त्यो देखेर मानिसहरू झन् क्रुद्ध भएर उनीहरूलाई घेर्न, समात्न र हातपात गर्न तम्सन्छन् । भीड उनीहरूमाथि खनिन्छ तर करेन्ट लागेजस्तो भएर भीड फेरि तितरबितर हुन्छ । भीडले उनीहरूलाई केही गर्न सत्तैmन ।
दिव्य नारी  र दिव्य पुरुष हिँडिसकेपछि पनि फेरि फर्केर आउँछन् । एकआपसमा सल्लाह, खाशखुश कुराकानी गरि सकेपछि ती मृत मानव जोडीलाई पुनर्जीवित पार्छन् । तिनीहरूका हातमा एक एकवटा बिरुवा पनि हुन्छ ।
ती मानव जोडी पनि त्यो दिव्य जोडी जस्तै अझ सुन्दर र जाजल्यवान देखिन थाल्छन् । मानिसहरू हर्षविभोर हुँदै फेरि त्यो दिव्य जोडीको जयजयकार गर्न थाल्छन्— “सर्वकृपालु दिव्य जोडीको... जय, जय, जय !”

मानव संसार  २०६५









६१
प्रतीक्षा

बाटो हेरिरहनु बानी भईसकेको छ । बीस वर्ष अगाडी आठ वर्षे कान्छो छोरो हराएपछी आमाको बाटो हेरिरहने बानी भईसकेको छ ।
सहरमा जेठा छोरासँग बस्न थालेको पनि दस वर्ष भई सकेछ । बीस जोड दस बराबरी तीस । तीस वर्ष....‘कान्छो छोरो अड्तीस वर्षको भयो । किन त्यो फर्केर आएन ?
यो सहरमा यो ठाउँमा दाजुको घर छ भन्ने त्यसलाई के थाहा ?
होइन, त्यो पहाडको घर पनि त्यसलाई के थाहा र ?
त्यो हराएको महिनौं त्यसलाई खोजि गरियो खोला– खोल्सा, भिर–पहरा, छर–छिमेक, वल्लो पल्लो गाउँ । कहाँ खोजिएन ? कसैले त्यो मरीसक्यो होला भने । मरेको भए लाश भेटिन्थ्यो । कसैले भने परदेशीहरुलाई पछ्याएर त्यसले डाँडा काट्यो । साँच्चै डाँडा काटेको भए अझै ऊ बाँचेको होला ...
डुलुवा तन्नेरी भएर ऊ यो बाटोमा डुल्दै आएको देख्न पाए ...
आमाले हेर्दाहेर्दै लाखौ मानिसहरुले त्यो बाटो काटे । आमाले हेर्दाहेर्दै अनेकौ याम बितेर गयो । आमाले हेर्दाहेर्दै त्यो बगैचाको सुन्दर फूल कति ओइलाई झरिसके । कति ओइलाएर झर्न लागेका छन् । अझै आमालाई आश छ फेरि बसन्त आउने छ ।
बाटोमा आठ नौ वर्षे केटो देख्दा मेरो छोरो हो कि ..
बाटोमा उन्नाइस बीस वर्षे केटो देख्दा मेरो छोरो हो कि ..
बाटोमा सत्ताइस अठ्ठाइस वर्षे तन्नेरी देख्दा मेरो छोरो हो कि ..
हुँदाहुँदा बाटोमा सडतीस अडतीस वर्षे मान्छे देख्दा मेरो छोरो हो कि ..
ऊ हो कि, आउँछ कि ! भेट हुन्छ कि ! आफूलाई बिर्सेर आमा छोरोलाई पर्खिरहेकी हुन्छिन् । सास रहुन्जेल सुस्त आवाजले सोधिरहने छिन्— ‘छोरा ! तिमी कहाँ छौ ?’ किन किन तिनलाई लागि रहन्छ छोरो नभेटि तिनी मर्न पनि सक्दिनन् । 
प्रतीक्षा गरिरहेकीे छिन् !







६२
सुन्दर संसार

मलाई दुई जना आमाहरूको सम्झना भइरहन्छ ।
पहिलो आमा भिमनगरको पुलमा देखेको हुँ । सात आठ वर्षको बालक दगुरेर बाटो काट्दा तीव्र गतिमा कुदेको बसले झन्डै किच्छ । धन्न बाँच्छ ! आमा दगुरेर आई त्यो बालकलाई हकार्दै बेस्मारी कुट्िछन् अनि छातीमा टाँसेर रुँदै भन्छिन्— ‘तिम्लाई बसले किचेको भए म कसरी बाँच्न सक्थे ।’
पहिला तिनले बालकलाई कुटिन् अनि रुन थालिन् । किन होला ? तिनले सम्झिन्—छोराछोरी छन् र त छ मेरो सुन्दर संसार छ !
दोस्रो आमा धरान बजारमा देखेको हुँ । त्यस्तै तीन चार वर्षको नानी, टुकुटुकु हिड्न थालेको, बोलि पनि प्रष्टसँग नफुटेको । कपाल जिङरिङ्ग, जाङे पनि खुकुलो भएर एउटा हातले समाई रहेको, दिदीको देब्रे जुत्ता दाहिने खुट्टामा र दाहिने जुत्ता देब्रे खुट्टामा लगाएको अवोध बालक । तरकारी किन्न टुक्रुक्क बसेकी आमालाई ‘आम्मा’ भनेर सानो छोराले अङ्गालो मार्दा आमा तर्सेर हेर्छिन । आफ्नै सानो बालक छोरा ! कसरी झन्डै एक किलोमिटर बाटो एक्लै टुकुटुकु हिडेर आइपुग्यो ? उसलाई नभेटेको भए ! बाटैमा कसैले लगेको भए ! गाडीले किचेको भए ! मलाई नभेटेको भए ! आमा थरथर काम्छिन् । आफुले किनेको सागसब्जी, छाता, झोला त्यही बिर्सेर छोरालाई बोकेर हर्षको आँसु चुहाउँदै फर्किन्छिन् । मनमनै सम्झिन्छिन्— धन्न मलाई भेटेर हराएन ! हराएको भए म कसरी बाँच्न सक्थे ? छोराछोरी छन् र त छ मेरो सुन्दर संसार !!!

२०७४ असार २४ ,धरान






६३
अभिभावक
महाभूकम्पका पीडितहरू बेवारिसे भए । कोही मद्दतगार भएनन् । भूकम्प पीडितहरूको नाममा आएको रकममा पनि भ्रष्ट नेताहरूले मोज र भोज गरे  । हल्ला चलाइयो, राहत आउँदै छ । आएन, आहत उनीहरू रोइरोइ बाँच्न विवश भए ।
     आन्दोलन चर्काे भयो । भारतीय नाकाबन्दी भयो । कालोबजारी मौलायो । उपभोक्ताको ढाड भाँचियो । जनजीवन अस्तव्यस्त भयो । आन्दोलन र नाकाबन्दी पीडितहरूले सरकार खोजे, नेता खोजे । सरकार र नेता भ्रष्टाचारमा बाहेक कतै देखिएन । मुलुक बेवारिसे देखियो ।
रोजगार र आर्थिक सुरक्षाको व्यवस्था सरकारले नगरेकोले बाध्य भई बिदेश गएका देशवासीहरूले संकटको बेला सरकार र देशको सहायता खोजे । फेरि पनि सरकार सहायताको लागि कतै देखिएन । बिदेश गएका देशवासीहरू बेवारिसे भए ।
नगरिकहरूलाई भ्रष्ट नेताहरूले अभिभावकहीन, सहाराविहीन र बेवारिसे बनाए ।
अति भयो । जनताहरूले स्वार्र्थी भ्रष्ट नेताहरूलाई नाङ्गेझार पारेर कारवाही गर्न थाले । एक दिन यस्तो दिन आयो कि भ्रष्ट नेताहरूको हालीमुहाली सकियो । जनताले  तिनीहरूसँग देश र जनताप्रति गरेको गद्दारीको हिसाब मागे । भ्रष्टाचारी नेताहरू झुण्डाइए । कुकुरझैँ लखेटिए विदेशी दलालहरू । देश  उज्यालो भयो । जनताको सरकार  बन्यो । 
देश र सरकार नागरिकहरूको सहारा भयो, अभिभावक भयो ।

२०७२ चैत १२

६४
आफैँ आफ्नो मालिक


“हामी धेरै परामुखी र परास्रित भएका छौँ । हाम्रो सोच स्वतन्त्र र वैज्ञानिक नभएकैले गरिब छौँ । दुःख पाइरहेका छौँ ।”
“यसबाट उन्मुक्ति कसरी पाउन सक्छौँ ?”
रामे र धने कुरा गरिरहेका छन् । वरिपरि बसेका अरुहरू पनि चाख मानेर सुनिरहेका छन् । यसरी कुरा गर्न सक्ने अवस्था गणतन्त्र आएकैले हो । गणतन्त्र वास्तवमा उनीहरूजस्तै गरिब र निम्छाराहरूका  लागि आएको हो । कसरी ? गणतन्त्रमा गरिब र निम्छाराहरूको सामुहिक शक्ति निर्माण गर्ने वातावरण  स्वतः बन्ने भएकोले हो ।
“अर्काको मुख नताकी हामी हामी मिलेर हाम्रो हितका लागि सामुहिक शक्ति निर्माण गर्नुपर्छ ।”
“त्यो कसरी ?”
“गरिब र निम्छाराहरू जो जो हाम्रो क्षेत्रमा छन् उनीहरूसँग आफ्नो भलाईको बारेमा स्््््््््ल्लाह गरेर एकताबद्ध भई हरेक ठाउँमा सहकार्य गरेर  ।”
“राजनीतिमा पनि ?”
“हो, राजनीति त सबैको आधार–जग हो । त्यसैबाट थालनी गर्नु पर्दछ । आउँदो  स्थानीय चुनावमा हाम्रो आफ्नो उम्मेदवारलाई जिताएर हाम्रो हितको रक्षा गर्ने छौँ । त्यसभन्दा अगाडि हाम्रो दैनिक कामहरू खेतीको काम, बिहे बटुलो, शिक्षा–सीप सिक्दा, बिरामी पर्दा र मान्छे मर्दा आदि सबै काम, चाड पर्व, संस्कारहरूमा हामी एकआपसमा सघाईसघी गरेर सामुहिकताको विकास गर्ने छौँ । अब हामी टुप्पोबाट पलाएकाहरूबाट कुनै आसा गर्दैनौँ । हामी आफैँ आफ्नो सपना साकार पार्ने छौँ ।”
“हो, अब हामीले यस काममा लागिहाल्नु पर्छ ।” सबै  सहमत हुन्छन् ।
नभन्दै त्यस क्षेत्रका गरिब र निम्छाराहरूको  सामुहिक शक्ति निर्माण हुन्छ । अब उनीहरू आफैँ आफ्नो मालिक भएका छन् । उनीहरूको सफलता देखेर वल्लो गाउँ पल्लो गाउँ र अन्य क्षेत्रका गरिब र निम्छाराहरूले पनि  सामुहिक शक्ति निर्माण  गर्न थाल्छन् । अन्तमा देशभरि सबै नागरिकहरू आफैँ आफ्नो मालिक हुन्छन् । देश  स्वार्र्थी तŒवहरूको कब्जाबाट मुक्त भएर सार्वभौम र सम्पन्न  हुन्छ ।

२०७२ चैत १२, सुकेधारा









६५
अर्को ढोका
म इन्टरनेटको विभिन्न साहित्यिक सञ्जालहरूमा लेखक मणिको रचनाहरू  पढ्दा आनन्दित हुन्छु ।  ती रचनाहरूले जीवनमा अगाडि बढ्ने प्रेरणा दिन्छ ।
म उनलाई भेट्न उनको घर पुग्छु । उनी कम्प्युटर खोलेर बसेका हुन्छन् । कम्प्युटर बोलिरहेको हुन्छ । टाइप
गरेको अक्षर र शब्दहरू कम्प्युटर उच्चारण गरीरहेको हुन्छ ।
“नमस्कार सर ।” म भन्छु ।
“नमस्कार, तपाईँ को ? शुभ नाम के ?”
“म नरेश, तपाईँका रचनाहरूको पाठक र प्रंशसक ।”
“ओ हो !” उनी प्रशन्न भएर उठ्छन् । छामछाम छुमछुम गर्दै मतिर आउछन् । हात मिलाई सकेपछि बस्ने संकेत गर्छन् । उनी पूर्णतया अन्धा रहेछन् । थाहा पाएर आश्चर्यचकित हुन्छु ।  उनीप्रति सम्मान र  श्रद्धा झन् बढ्छ ।
“तपाईँ दृष्टिविहीन हुनुहुँदो रहेछ । जन्मै हो ।”
“तपाईँ पत्रकार हो ?” उल्टै उनको प्रश्न ।
“होइन, तपाईँका रचनाहरूबाट प्रभावित एउटा प्रशंसक । श्रद्धाले तपाईँबारे जान्न उत्सुक भई भेट्न आएको ।”
“ए, त्यसो भए बस्नुहोस् । सबिस्तार बताउछु । म आँखा नदेख्ने भएको पन्ध्र  वर्ष भयो । पन्ध्र  वर्ष अगाडि आँखामा खराबी  देखिएपछि अप्रेसन गर्दा पूरै अन्धा भएँ ।”
“दुइटै आँखा एकैचोटि कसरी बिग्रियो ?”
“एउटा आँखा त पहिला नै बिग्रेको थियो । दुइटै बिग्रेपछि म अन्धा भएँ । दृष्टिविहीन अँध्यारो संसारमा म हतोत्साहित, निरास र दुःिख थिएँ ।  मेरा लागि संसारका सब ढोकाहरू बन्द भए भन्ने सम्झिरहेको बेला मजस्तै  पछी अन्धा भएका एकजना इन्जिनीयरले कम्प्युटरमा अंग्रेजी पढ्ने सफ्टवेयरको मद्दतले नेपाली अक्षर र शब्दहरू पढ्ने ‘दृष्टिवाचक’ सफ्टवेयर बिकसित गरेका छन् भन्ने थाहा पाएँ । उनीसँग सम्पर्क गरेर कम्प्युटरमा नेपाली टाइप गर्ने  र पढ्ने तरिका सिकेँ । हेलेन केलरले भन्नुभएझैँ ‘अवसरको एउटा ढोका बन्द भयो भने अर्को ढोका  खुलेको हुन्छ तर बन्द ढोकालाई हेरिरहँदा मानिसहरू खुलेको  ढोका देख्दैनन् ।’ मलाई त्यो प्राविधि सिकेपछि अर्को ढोका खुलेको महसुस भयो । आफ्ना अनुभव, ज्ञान र अनुभूति विश्वसामु पु¥याउन त्यो प्राविधि प्रयोग गरिरहेको छु । अहिले  म गुमेको कुराको दुःख मनाउ गरेर बसिरहनुको सट्ठा नयाँ ढोकाबाट नौलो रमणिय संसारतिर लागिरहेको छु ।”

२०६९जेठ ११, धरान









६६
पीडाबोध


म अलिअलि कुरा बुझ्न थालेको नातिलाई भन्छु “तिमी मेरो सबैभन्दा प्यारो पहिलो नाति हौ ।”
भन्नै नपर्ने कुरा भनिसके पछि पो मेरो अन्तस्करणमा पीडा हुन थाल्छ । मेरो बुद्धि, चेतना र विवेक प्रश्न गर्छ— सबै नातिनातिनीहरू बराबरी होइनन् र ?
हो नि ! तर मन पक्षपाती छ । साँच्चै म पहिलो नातिलाई अति धेरै माया गर्छु । अरू नातिनातिनीहरूलाई पनि माया गर्छु । तर धेरै वा कसलाई बढि भन्ने हो ? मैले जे भने सत्य हो । बुद्धि, चेतना र विवेकले माया चल्दैन । जीवनभर कहिले बुद्धिको पछि, कहिले मनको पछि लाग्दा पीडाबोध भई रह्यो । उमेर थियो त्यस्ता पीडाबोधलाई टेरपुच्छर लगाइएन ।
तर यो बुढेकबालमा...म र मेरी मायालु पत्नी ‘हाम्रा नातिनातिनीहरू संसारमा सुखी होउन्’ भन्ने चाहन्छौँ र उनीहरूका लागि जे पनि गर्न तयार हुन्छौँ । तर अब हामी नै कति बाँच्छौँ र !
माया गर्न र पाउँन पनि त बाँच्नु पर्छ !
मनभित्र अतुलनीय पीडा उब्जिन्छ । पीडा सहि नसक्नु हुन्छ । रमाइलो संसार, क्षणभङ्गुर जीवन, सब दुई दिनको घामछाया ! संसार र जीवनको अति धेरै माया जागेर आउँछ । अन्तिम कालखण्डमा अनायास आफूलाई असहाय, अदना, विवश, हुतिहारा र दुर्बल अवस्थामा पाउँदा पीडाबोध दोब्बर  हुन्छ  र आँसु तुरुरु चुहुन्छ । थाहै नपाई रुनु, थाहा पाएर रुनु... रोएर नि के हुन्छ र ? पीडाबोध जीवनसँग टासिएर रहेको हुँदोरहेछ । आँसुले मनको पीडा पखाल्न सक्छ र !?

२०७२असोज २४, धरान
६७
आत्मियता


बिरानो ठाउँमा आफ्नो जस्तो लाग्ने कोही मानिस भेट्दा खुशी लाग्नु स्वाभाविक हो । बिरामि  कुरुवा बसेको मलाई उसले “के पढ्दै हुनुहुन्छ ? कहाँबाट  आउँनु भएको ?” भन्ने सोध्दा पनि आत्मियता महसुस हुन्छ । शुभचिन्तकझैँ लाग्छ । दुई दिनपछि उसको बिरामि डिस्चार्ज हुन्छ । जाने बेला ऊ बिदा माग्छ कि भनेर म उसलाई हेरिरहेको हुन्छु तर ऊ मलाई हेर्दै नहेरी जान्छ ।
अस्पतालमा भेटेको त्यो कुरुवासँग फेरि भेट हुने सम्भावना छैन । त्योसित गाँसिएको केही क्षणको आत्मियताको के औचित्य ? तर मलाई त्यो आत्मियता महसुसले धेरै वर्ष अगाडिको (युवा हुँदैको) एउटा घटनाको सम्झना आउछ ।
कार्यालयको कामको लागि सुदुर पश्चिम गएको थिएँ । फर्कदा एक्लै थिएँ । डुङ्गामा कर्णाली नदि तरेर रेलबाट नेपालगन्ज आएँ । त्यतिबेला राजमार्ग बनेकै थिएन । रेलबाट नै भैरहवा आउनु पथ्र्यो ।  रुपेडियामा भर्खरै पहाडबाट झरेका जस्ता देखिने तीनजना पहाडेहरू भेटेँ । ति तीनजनामध्ये एकजना युवक अलिक चलाख जस्तो देखिन्थ्यो । उसैको अनुरोधमा  मेरो झोला पनि उनीहरूले रुङ्न लगाएर  मैले रेलको टिकट काटेँ र रेल चढ्यो । भोलिपल्ट दिनको ११ बजे सुनौली पुग्यौँ ।
“भैरहवा गइहालौँ ।” मैले भनेँ ।
“यति छिट्टै गएर के गर्नु ?” युवकले भन्यो “बरु मैले चिनेको होटलवाल्नी छ, त्यसकोमा सामान राखेर केही समय आराम गरौँ ।”
“हुन्छ” भनेँ । मलाई हतार थिएन । सामानहरू होटलवाल्नीकोेमा राखेर खाना खायौँ । खानाको पैसा मैले आफ्नो तिरेँ । त्यो युवकले  तीनैजनाको ति¥यो ।
“केही बेर सुतौँ” उसले प्रस्ताव राख्यो । उखरमाउलो गर्मिले गर्दा भुसुक्कै निधायौँ । सँगसगै निधाएको त्यो युवक एक घण्टा पछि उठेर हेर्दा थिएन । होटलवाल्नीलाई सोध्यौँ “त्यो युवकलाई देख्नु भयो ?”
“त्यो युवक अघि नै झोला र सामानहरू लिएर गइसक्यो ।” तिनले भनिन् ।
मेरो झोला पनि लग्यो कि भनेर मन खिस्रिक्क भयो । मेरो झोलामा कागजपत्र र दुई जोर लुगा थिए । लुगा चाहीँ लगेछ तर कागजपत्र छोएनछ । आत्तिदै  मैले भैरहवाबाट काठमाडौँ हवाइजहाज फिर्र्ती टिकट भएको फायल हेरेँ, सहीसलामत रहेछ । ढुक्क भएँ । तर ति युवकसँगै भएका मान्छेहरू भने रुन थाले ।
“किन ? के भयो ? त्यो युवक तपाईँहरूको मान्छे होइन ?”
“के को हुन्थ्यो नि ? नेपालगन्जमा भेटेको, भैरहवामा काम लगाइदिन्छु भन्यो । पत्यायौँ र हामीसित भएको सबै रुपियाँ पनि उसैलाई बोक्न दिएका थियौँ ।”
ला, जाहैँ, बिचरा उनीहरू ! नराम्रो ठगाईमा परेछन् । चोरगोजीमा लुकाइराखेको पैसा मसँग थियो । भनेँ, “हिड्नुहोस्, म भैरहवासम्म पु¥याइदिन्छु । त्यहाँ केही गरेर खानु । म त भोलि नै काठमाडौँ फर्किन्छु ।”
नभन्दै उनीहरूलाई भैरहवासम्म पु¥याएर म होटलमा बसेँ । भोलिपल्ट रिक्सामा एयरपोर्ट तर्फ जाँदा खानापसलमा जुठो भाँडाकुडा धोइरहेका निन्याउरो उनीहरूलाई देख्दा सम्झेँ— बिरानो ठाँउमा आत्मियता !

२०७३ मङ्सिर २७, नखिपोट बिशालचौक 





६८
एक छाके

‘निकै कथा लेख्ने भाको । मेरो कथा लेख त, हेराँै तिम्रो पाइन...।’
‘हो, तिम्रो कथा राम्रो त हुँदैन नै । सुनेर रिसाउँछौ होला ।’
‘तिम्रो काम लेख्ने हो, कोही रिसाउँन् कि खुसाउन् । लेख ।’
‘हुन्छ, तर त्यो एक छाकेको कथा हुने छ ।’
‘हाहाहा...’ ऊ मज्जाले हाँस्छ घरै थर्काएर ।
एक छाके प्रतिनिधि पात्र हो । अनुमति दिइसकेपछि लेख्नै पर्ने भयो ।
कहाँबाट सुरु गरौँ ? जहाँबाट सुरु गरे पनि हुन्छ । एकरूपतामा एकैनास बितिरहेका परीवर्तनविहीन एक छाकेहरूका कथा ।
एक छाके के गर्दै होला ? उसको कथा लेख्न उसको बारे थाहा हुनु पर्छ । ऊ त आगामि चुनावका लागि भोट बटुल्न खुला गरिएको निशुल्क भोजभतेरमा गईसकेको रहेछ ।
‘जातले पाएको’ खानुपर्छ भनेर रक्सी खान प्रेरित गर्ने एकजना महान् मित्र भई टोपल्ने उनीजस्ताहरूले एक छाकेहरूलाई मदिरापान र भोजभतेरमा फसाएर उनीहरूको एक एक छाक खोस्न चुनावमार्फत भोट बटुलेर एक छाकेहरूलाई लुटिरहेका छन्, वेवकुफ बनाईरहेका छन् । एक छाकेहरू एक छाक मासुभात र रक्सी खाएर आफ्नो भविष्य बेचिरहेका छन् । र , सधै एक छाके रही रहेका छन् ।
यसपालिको चुनाव पनि एक छाकेहरूलाई सधै एक छाके बनाइरहने व्यवस्था कायम राख्नकै लागि भईरहेको छ ।
एक छाकेहरूको भोको पेट रहेसम्म भोट किन्ने बेच्ने एक छाके पद्धत्ति रहिरहने छ । त्यो पद्धत्ति रहुन्जेल एक छाकेहरू एक छाके नै भईरहने छन् ।
यो ‘एक छाकेको कथा’ कथा भयो भएन ? एक छाकेहरूलाई सुनाउन मन छ । उनीहरूको कस्तो ‘रेस्पोन्स’ होला ? चुनाव नसकिएसम्म उनीहरूलाई भेट्न सकिदैन कारण उनीहरू हरेक दिन कुनै न कुनै पार्र्टीको निशु्ल्क भोजभतेरमा रमाईरहेका हुन्छन् । चुनावपछि उनीहरूका ‘रेस्पोन्स’ को कुनै अर्थ हुँदैन ।

 २०७४ असोज २२, धरान















६९
मनोभाव
उनीहरू मिल्ने साथी एवं छिमेकी थिए । सधैं सँगसँगै हुन्थे । विचार आचार पनि मिल्दोजुल्दो थियो । एउटाको कुरा र काममा अर्कोकोे सधै समर्थन, साथ र सहयोग हुन्थ्यो  ।
व्यवस्था परिवर्तनपछि दलहरू सर्वेसर्वा भए । व्यवस्था परिवर्तनपछि पनि उनीहरू सत्य र न्यायको पक्षमा हुन्थे । सत्य र न्यायको पक्षमा रहने मनोभावले गर्दा उनीहरूको पछी सबै टोल छिमेकका मान्छेहरू हुन्थे ।
सत्य र न्यायको पक्षमा सबै टोल छिमेकका मान्छेहरू रहेसम्म दलहरूको कुत्सित स्वार्थ पुरा हुन सक्तैनथ्यो । त्यसैले उनीहरूको मनोभाव,  मित्रता र एकता दलहरूलाई मन परेको थिएन ।
उनीहरूको मित्रता र एकता टुटाउन एउटालाई एउटा दलको र अर्कोलाई अर्को दलको कार्यकर्ताले बोके । उनीहरूको मनोभाव परिवर्तन गराए । एउटाले सेतो भन्यो भने अर्कोेलाई कालो भन्नुपर्ने बनाए । उनीहरूको मित्रता र एकता टुटाए उनीहरूलाई
 आफ्नो आफ्नो दलको अन्धा पिछलग्गु बनाए ।
अन्धा पिछलग्गुले सत्य र न्याय देख्दैन । सत्य र न्यायको आवाज सुन्न सक्तैन । अन्धा पिछलग्गु सत्य र न्यायको पक्षमा हुँदैन । अब उनीहरू पनि सत्य र न्याय नदेख्ने र आफ्नो अन्तरमनको पुकार सुन्न नसक्ने विवेकहीन अन्धा पिछलग्गु भए । 
२०७४ वैशाक २५, धरान


७०
दुःखको मुहान्
‘दुःख, दुःखसँग अभ्यस्त भइयो । दुःख भोग्न सजिलो लाग्न थालेको बेला सुखसित साक्षात्कार भयो भने त्यसलाई चिन्न पनि सक्तिनँ होला !’
‘साँच्चै कहिल्यै सुख भोग्नु भएको छैन ?’
‘खोई, थाहा छैन ।’
‘बिहे गर्नु भएको छैन ?’
‘गरेको छु ।’
‘सन्तान जन्मेको छैन ?’
‘छ ।’
‘साथीभाईहरुको माया प्रेम प्राप्त गर्नु भएको छैन ?’
‘छ ।’
‘तिनीहरु सुख होइनन् र ?’
‘त्यहि त । दुःखको मुहान भएको छ । दुःखको मुहान... बिहे, सन्तान, साथीभाई, मनोआकाङ्क्षा आदि आदि...।’

 
२०७४ असार २१, धरान



७१
जिउँदै छु 
नचलि सुतिरहेको कोपा (बाजे)लाई नातिनी निकै बेर हेरेर पनि टुङ्गो गर्न नसकि चिच्याएर बोलाउछे— ‘कोपा, कोपा ।’
कोपा भन्छ— ‘जिउँदै छु ।’
त्यस्तै जिउँदाहरूले भनिरहनु पर्ने... 
‘जिउँदै छु ।’
२०७५।१।३० काठमाडौं
७२
 अन्तिम यात्रा
‘आमालाई क्यान्सर भएको छ । उहाँलाई राम्रा रमाइला ठाउँ, मन्दिर, गुम्बाहरूमा घुमाउदै छु । यसरी घुम्दा आमा निकै प्रसन्न हुनुभएको छ । यो आमाको अन्तिम यात्रा पनि हुन सक्छ ।’ केशरमान मनमनै सोचेर नियास्रो हुन्छ । आफैले चलाएको गाडी रोकेर सडकको पारिपट्टि रहेको ‘एटिएम मेसिन’बाट पैसा निकालेर फर्कदा द्रुत गतिमा कुदेको मोटरसाइकलले उसलाई भ्वाक्क हान्छ ।
भुक्लुक्क लडेको उसलाई देखेर उसकी पत्नी दौडदै जान्छिन् ।     रगतपच्छे उसलाई उठाएर हेर्दा उसको प्राणपखेरु उडिसकेको हुन्छ । आत्तिएर रुँदै कराउछिन् । मान्छेहरूको भिड लाग्छ । अब मान्छेको भीडले के गर्न सक्छ र ! मर्ने मरिहाल्यो । मृत्यु कहाँ कसरी हुन्छ ? कसैलाई थाहा हुँदैन । 
‘आमाको अन्तिम यात्रा हुन सक्छ’ भन्ने सोचिरहेको विचरा केशरमानको पो यो अन्तिम यात्रा रहेछ ।

२०६८ भदौ १९, कपन



७३
मोतीबिन्दु


आँखामा मोतीबिन्दु भएपछि उज्यालोतिर हेर्दा बस्तुहरू कालो  देखिदाँ आकृति राम्ररी देख्न सकिदैन । शल्यक्रिया गरे रामै देख्न सकिन्छ कि भनेर आँखा अस्पताल गएँ । 
“अहिले मोतीबिन्दु छिप्पिएको छैन । शल्यक्रिया गर्न केही वर्ष पर्खनुपर्छ ।” डाक्टरको भनाई सुनेपछि नपर्खि धरै भएन । उज्यालामा मोतीबिन्दुबाट छुटकारा पाउन कालो ‘गगल्स’ लगाउने गरेको छु । आकृति राम्ररी देख्न नसक्दा दिक्क हुँदै छु । तर म मोतीबिन्दु निको पार्न सक्ने अवस्थामा छुइनँ ।
“बोल बम ! बोल बम !!” आमाबाबुहरूले मसिना नानीहरूलाई पनि आफूसँगै पानी बोकाएर लगिरहेका छन् । मसिना नानीहरू पनि कराईरहेका छन्— “बोल बम ! बोल बम !!”
बिचरा साना नानीहरूलाई मलाईजस्तै मोतीबिन्दु हुनेछ । आँखामा मोतीबिन्दु भएपछि  बस्तुहरू कालो  देखिदाँ आकृति राम्ररी देख्न नसक्ने हुनेछन् । जीवनमा उज्यालोकै भरमा सत्यतथ्य जान्नु पर्ने हो । मोतीबिन्दुका कारण सत्यतथ्य जान्न नसक्नु कति पीडादायी हुन्छ जो उनीहरूले कहिल्यै थाहा पाउने छैनन् ।
मलाई पनि सानैमा यसरी नै मोतीबिन्दु भएको थियो । त्यसबाट छुटकारा पाउने कोसिस गरिरहेको छु । यो जुनीमा छुटकारा पाउने सम्भावना रहेन । किनकि दिनप्रतिदिन मलाई अबोध बालकैमा लागेको मोतीबिन्दु झन् झन् बढ्दै गइरहेको छ । 

२०७३ साउन १६, धरान




७४
शक्तिको स्रोत


“आफ्नो गाउँ, जिल्ला र क्षेत्रमा सक्रिय भएर काम गर्ने कार्यकर्ताले आगामि चुनावमा टिकट पाउने छ ।”
शक्तिमान नेताको यस्तो घोषणा सुनेर कार्यकर्ताहरू आफ्नो गाउँ, जिल्ला र क्षेत्रमा फर्किए । कर्मवीर पनि राजधानीबाट जिल्ला फर्कियो । दिलो ज्यानले पार्टिको काममा खट्यो । ऊ लोकप्रिय भयो र  चुनावमा उसैले टिकट पाउनु पर्छ भन्ने अभिमत तयार भयो । 
तर कर्मवीरकै जिल्लाको अर्को कार्यकर्ता चाकडिप्रसाद भने जिल्ला फर्किएन । राजधानीमा नै बसेर शक्तिमान नेताको वरिपरी घुमि रह्यो । उसले नेताको खुशामद, चाकडि र चाप्लुसिमा आफ्नो  सबै बुद्धि, बर्कत र समय लगायो । ऊ केन्द्रीय कार्यसमितिको सदस्य पनि मनोनयन भयो ।
चुनाव आयो । चाकडिप्रसादले स्तुति गान ग¥यो— “शक्तिमान नेता !  तपाईँ नै मेरो निम्ति देश, जनता, पार्टि, सिद्धान्त र नीति हुनुहुन्छ । तपाईँकै भरोसामा यो सेवक शांसद बन्ने सपना देखिरहेछ । शांसदको हैसियतमा यो तुच्छ जीवन तपाईँको सेवामा  अर्पण गर्नका लागि  चुनावको टिकटका लागि प्रार्थना गर्दछु, प्रार्थना... प्रार्थना गर्छु ! महान् शक्तिमान नेता ! जय जय जय महान् शक्तिमान नेता !”
“तथास्तु !” नेताले उनैलाई टिकट दिए । यो कुरामा जिल्लावासीहरूको चित्त बुझेन र विरोध जनाए । नेताले उनीहरूलाई यसरी सम्झाए— “हे जिल्लावासी हो ! कर्मवीर कर्मवीरै हो । उनीजस्ता कर्मठ, इमानदार र कुशल कार्यकर्ता अर्को  पाइदैन । गोरुझैँ जोतिएर जिल्लामा पार्टिको काम गर्ने कर्मवीर जिल्लाको गौरव हो । जिल्लामा उहाँको आवश्यकता छ ।  शंसदमा कार्तिकेयजस्ता कर्मवीरहरूको खाँचो छैन तर जिल्लामा छ ।  शंसदमा गणेशजस्तो चतुर बुद्धिमान र चङ्खो चाकडिप्रसादहरू चाहिन्छ । कर्मवीर शांसद भए भने जिल्लामा गोरुझैँ जोतिएर उनले गरिरहेको काम कसले गर्छ ? यो कुरा तपाईँहरूले बुझ्नु पर्छ । यो सबै कुराहरू ध्यानमा राखेर नै चाकडिप्रसादको उम्मेदवारीे निर्णय भएको हो । चुनावमा चाकडिप्रसादलाई जिताउन रातदिन खट्न थाल्नुहोस् । शंसदमा बहुमत जितेर सरकार बनाउन चाकडिप्रसादलाई तपाईँहरूले  जिताउनै पर्छ । चाकडिप्रसादलाई जिताउन खट्नेहरूको पार्टिले सहि मूल्याङ्कन गर्ने छ ।”
जिल्लावासीहरूको चित्त बुझ्यो । सबै कार्यकर्ताहरू एकजुट भएर खटे । चुनाव जितेर चाकडिप्रसाद शांसद भयो । पार्टिको सरकार बन्यो । चाकडिप्रसाद पनि मन्त्री भयो । जिल्लावासीहरू आफ्नो जिल्लाको मान्छे मन्त्री भएकोमा दङ्ग परे । कार्यकर्ताहरू पनि कर्मवीरलाई जिल्लाको काममा जोतिरहन पाएकोमा खुसी  नै थिए ।

२०५४



७५
अन्तिम सम्मान

 ... , जिउँदाहरू मलामि जान्छन् ।

२०७५।१०।२९,धरान




७६
अन्तरदृष्टि


विश्वकै शक्तिशाली मुलुक अमेरिकाको अवलोकन भ्रमण सकेर फर्केका सरकारी टोलीका ताननियलाई भेट्दा सोध्न मन लागिहाल्यो— ‘के देख्नुभयो त्यहाँ ?’
‘त्यहाँ साना नानीहरू समेत सबैले अंग्रेजी बोल्न सक्ता रैछन ।’ 
उनि सधैं विदेश जाने सरकारी अवलोकन टोलीमा पर्थे । चिनबाट फर्केका उनलाई फेरी सोध्छु— ‘के देख्नु भयो त्यहाँ ?’
‘त्यहाँका सबै मानिस मंंगोलियन अनुहारका रहेछन् ।’
आखाँले जे देखे त्यहि हेरे उनीहरुले । 
‘अन्तरदृष्टि’ त छँदै थिएन । हुनेहरू त फोहोरी राजनीतिमा पाखा लगाई हालिन्छ नि !

२०७३ कार्तिक १९, बुढानिलकण्ठ

७७
सजिलो

असुबिधाहरू बिच बाँचिरहेको मलाई सुिबधायुक्त सुकिलो जीवनबारे थाहा नहुँदा बाँच्न सजिलो भएको छ । 
मजस्तै अज्ञानी निमुखा निम्छराहरूलाई पनि सुिबधायुक्त सुकिलो जीवनबारे थाहा नहुँदा बाँच्न सजिलो भएको छ ।
सुकिला मुकिलाहरूलाई पनि यस्ता अज्ञानीहरू धेरै हुँदा बाँच्न सजिलो भएको छ ।

२०७३ पुष २९, गोल्छा अस्पताल



७८
सुस्त मनस्थिति

उकालोमा चिप्लेर लड्दा ‘हे भगवान’ मुखबाट निस्कियो  । भगवान त्यहाँ थिएनन् । खुट्टामा ठूलै घाउ भयो । खोच्चाउँदै हिड्ने बल गरेँ । घाउबाट रगत पनि बग्न थाल्यो ।
केहि बेर पछी त उठ्नै नसक्ने गरि थलिएँ । एक्लै नहिँड्नु पर्ने । ‘जसको कोही हुँदैन उसको भगवान हुन्छ ।’ सम्झेँ  फेरि भगवान । 
‘ए बाबा, यो एकलासे बाटोमा मैले के गर्नुपर्ला ?’ सोच्न छोडेर फेरी भगवान पुकारेँ ।
‘यसरी धेरै रगत गयो भने मर्न पनि सक्छु । आत्तिदै इश्वर पुकारेँ— ‘मलाई बचाऊँ, प्रभु !’ 
बाटो मेरो रगतले भिजेको छ  । यस्तो देख्दा पो झसङ्ग हुन्छु । म आपूmले गर्न सक्ने काम पनि नगर्ने अपाङ्ग सरह भएछु । आफ्नो घाउको रगत थाम्ने र घाउ निको पार्ने काम नगरी म सुस्त मनस्थिति भएको मानिस सरह भएछु ।

२०७३ माघ २ ,धरान


७९
अवस्था


नौ वर्षकै उमेरमा विदेश लगेको छोरालाई लिएर नौ वर्षपछि उनीहरू स्वदेश फर्किएका छन् ।
सबै आफन्त इष्टमित्रहरूलाई भेटिरहेका छन् । मलाई पनि भेट्छन् । उनीहरूकै अनुरोधमा केही रमाइला स्थानहरू भ्रमण गर्छौँ । उनीहरू विदेश फर्किने दिन नजिक आइरहेको हुन्छ ।
म नौ वर्षकै उमेरमा  विदेश गएर नौ  वर्षपछि स्वदेश फर्किएको १८ वर्षिय भदैलाई सोध्छु “हाम्रो देश सानैमा छोड्यौ, अहिले आउँदा कस्तो लाग्यो ?”
“राम्रो लाग्यो । ”
“उसो भए यतै फर्केर बस्छौ त ?”
“यतै बस्न त सकिन्न ।” स्पष्ट जवाफ ।
उसको जवाफ सुनेर  मलाई देशको अवस्था  बुझेझैँ लाग्छ ।


२०७३ फगुन १४, सुमेरु अस्पताल


८०
गुठ

रित्ता गाग्री भाडाहरूले गुठ बनाए । एक आपसमा ठोक्किएर चर्को आवाज निकाल्न सक्ने भए र चर्चाको शिखरमा पुगे । ती आवाजलाई साहित्य भने । कहिले सङ्गीत भने । धेरै जसो सार्वभौम राजनीति भने । रित्ताहरू शक्तिशाली रित्ता देखिन थाल्छन् ।
भरि गाग्री भाडाहरू भने रित्ताहरूझैँ हल्ला गर्न नसकि चुपचाप रित्ताहरूका यस्तो चर्तिकला चुपचाप हेरिरहेका हुन्छन् ।

२०७५।८।२२, सुमेरु अस्पताल, धापाखेल


८१
चरित्रमानहरू

‘त्यो नेतामन्त्री गोमन साँप हो । आदर्शका कुरा गरेर जनता कार्यकर्ता लठ्ठ पारेर चुनाव जितेर सरकार बनायो । अहिले माफिया, कालाबजारिया, भ्रष्टाचारीको मतियार सरंक्षक बनेर साथै विदेशी दलाल बनेर देश, समाज, पार्टी बरबाद गर्ने त्यो नेतामन्त्री गोमन साँप हो । सिध्दान्तच्युत गद्दार हो...।’ चरित्रमानका यस्ता कुरा सुनेर मलाई पनि होजस्तो लाग्न थालेको हुन्छ । होजस्तो लाग्न थालेको मात्र हौइन, हो नै । नेतामन्त्री माफिया, कालाबजारिया , भ्रष्टाचारीको मतियार सरंक्षक, विदेशी दलाल सिध्दान्तच्युत गद्दार हो नै । नेतामन्त्रीले समाजवादको कुरा गरेर सामन्तवादको पृष्ठपोषण गरिरहेकै छन् ।
नेतामन्त्री आफ्नो चुनाव क्षेत्रमा आएर आफ्नो दलका कार्यकर्ताहरूको गोप्य आत्मालोचना बैठक राख्छन् । कार्यकर्ताहरू नेतामन्त्रीको प्रशंंसामा आकाश पाताल एक पारेर अनेकौं कुरा गर्छन् । चरित्रमानको पालो आउँछ । उसले चाहीँ मानिसहरूले गरेका र उ आफैले गरिरहेको कुरा राखेर सही आलोचना गर्ला भन्ने मेरो सोचाइको ठीक उल्टो सबैभन्दा बढि प्रशंसाको फूल बर्साउने त चरित्रमान पो हुन्छ । कसैले नेतामन्त्रीको आलोचना गरेनन् । नेतामन्त्रीको काम कारवाहीले नकारात्मक प्रभाव पारीरहेको कुरा प्रकट गरेनन् ।
धन्य चरित्रमानहरू ! धन्य कार्यकर्ताहरू ! झुटो प्रशंसा गरेर नेतामन्त्रीलाई बिगार्ने चरित्रमानहरू ! नेतामन्त्रीहरू बिग्रेपछि देश कसरी सप्रिन्छ ?


२०७५।८।१०, नखिपोट


८२

विश्वास

‘उकालोमा घुडाँ दुखेर हिड्ँन नसक्ता आमाले सेउलीले घुडाँ सोहोरेर झारी सेउलिलाई विच बाटामा ढुङ्गाले थिचेपछि सन्चो लागेर फेरि हिड्ँन सकेको थिएँ । सोध्दा आमाले भन्नुभएको थियो— यसो गर्दा घुडाँ दुख्ने जाति हुन्छ । त्यतिबेला १२÷१३ वर्षको केटो मलाई साँच्चै जाति भएजस्तो लागेको थियो । त्यो साँच्चै थियो ?’
उसको कुरा सुनिसकेपछि हरि भन्छ, ‘मलाई पनि सानो हुँदा आफ्नै घरमा पालेको कुकुरले खुट्टामा टोकेको थियो । रगत तरतरी बगेको थियो । टोकेको खुट्टामा सहनै नसकिने गरि पोल्ने दुख्ने भएको थियो । पल्लाघरे आएर मनमनै मन्त्र उच्चारण गर्दै फुकफाक ग¥यो । फुकफाक गर्नासाथ पोल्न छाड्यो । दुखाई पनि कम भएको थियो । अहिले पनि सम्झन्छु के साँच्चै मन्त्र र फुकफाक हुन्छ ?’
दुवैको कुरा सुनेर दार्शनिक भन्छ ‘यो संसार विश्वासमा चलेको छ । आमाप्रतिको विश्वास, मन्त्र र फुकफाकप्रतिको विश्वासले तपार्इँहरुलाई सन्चो भएको भन्ने लागेको थियो । यी यस्ता कैयौ विश्वास छन् जसबारे केही टिप्पणी गर्न सकिदैँन । हो वा होइन भन्दा पनि विश्वासमा अबिश्वास गरे जस्तो हुन्छ । विश्वास जे छ परिक्षण किन गर्नु प¥यो र ? तपार्इँहरुलाई कस्तो लागेको थियो वा छ अरुले भनेको मान्नु हुन्छ र ?...
तापनि छलफल, अवलोकन र परिक्षण भने गर्न सकिन्छ । ज्ञानको विकास यसरी नै भएको छ । निक्र्यौल पर्खने क्रममा हामी छौँ...।



२०७५कार्तिक २७ विशालचौक

८३
नयाँ संस्कृति

‘भ्यालेन्टाइन डे, धनतेरस’जस्ता अनेकौं नयाँ संस्कृतिहरू ब्यापारीहरूले भित्राएर ब्यापारबिस्तार गरिरहेका छन् । अब वर्षभरि नै धनवानहरूका लागि चाडैचाड पर्वैपर्व छन् । 
गरिबका लागि भने दसैं दसा हुन्छ । दसैको रिन तिर्न वर्षभरि पसिना चुहाउँदा पनि अपुग भएर छोराछोरीलाइ अर्काका घरमा वा विदेशमा नोकर बनाउनु पर्ने राजनैतिक वातावरण अग्रगामि नयाँ सस्कृति भएको छ ।
गणतन्त्रमा मन्त्री भए मात्र ठेक्कापठ्टा पाइने, शिक्षा, स्वास्थ, न्याय र सुबिधा पाइने नयाँ सम्भ्रान्त राज्य संस्कृति ।
पैसा कमाएर रिन तिर्न विदेश गएको सन्तान काठको बाकसमा छातिमा पासपोर्ट राखिएर पार्सल आउने नयाँ संस्कृति गणतन्त्रमा खुबै विकास भएको छ ।
आफै मन्त्री र ठेकेदार पनि । आफैले निर्णय गरेर ठेक्का लिने लाजघिन पचेका मन्त्री ठेकेदारहरू ! मनलागी गरेर देश लुट्ने नाङ्गो विकृतिलाइ जनवादी जामा लगाउने नयाँ सामन्ति राज्य संस्कृति ! ...कति कति यस्ता यस्ता कुराहरू...!
‘ओफ् । यो त विकृति हो ।’ 
‘विकृति नै विरोध भएन भने कालान्तरमा संस्कृति बन्छ ।’
‘विरोधका सबै स्रोत जनता हो, उनीहरू लोभलालचमा फसेर फटाहा नेताहरूकाअन्ध समर्थक बनेका छन् वा लोभलालच डरत्रासमा पारेर निमुखा पारिएका छन् । विरोधको स्वर निषेध देखिन्छ ।’
‘त्यस्तो होइन । नागरिक भइसकेका सार्वभौम जनता अजेय छन् । उनीहरू चनाखो भएर सबै गतिविधिहरू नियालिरहेका छन्, मूल्याङ्कण गरिरहेका छन् । आवश्यक परे सम्पूर्ण विकृतिहरू सखाप पार्न र नयाँ उन्नत संस्कृति निर्माण गर्न फेरि अन्तिम आन्दोलनमा उत्रन सक्षम छन् । फटाहाहरूले चाहदैमा विकृति संस्कृति बन्दैन । नागरिकहरूको हित गर्ने नयाँ संस्कृतिको जननी पनि जनता मात्र हुन् । जनपक्षिय समयसापेक्ष नयाँ संस्कृति बन्ने क्रममा मुलुक गुज्रिरहेको छ ।’

२०७५ कार्तिक १९ , विशाल चौक


८४
किसानको बालीनाली

साडेहरूको राजमा किसानहरूले अत्यन्त दुःख पाए ।
साडेहरू एक आपसमा जुधेर बालीानाली सखाप पार्थे । त्यो जुधाईलाई चुनाव भन्थे । जित्नेले सरकारको माला पहिरिन्थ्यो । हार्नेले पनि प्रतिपक्षीको माला पहिरिन्थ्यो र कृषकको बालीनालीमा अनेकौ गौसहित मोज गर्थे । 
बालीानाली सखाप पार्थे ।
किसानहरू आजित भए । भोकभोकै हुन थाले पछि ज्यान बचाउँन साडे र गौको मासु खान थाले । 
साडे राज समाप्त हुन्छ । किसानको बालीनाली हराभरा हुन थाल्छ ।

२०७५ कातिक १७, विशालचौक









८५

ऊ पनि मरेछ


‘ऊ पनि मरेछ !’
‘को ऊ ?’
दुई जना किसानहरू खेतको आलीमा बसेर खाजा खादै बात मारिरहेका छन् ।
‘नेता मन्त्री के नाम ? अँ अँ, ठुलामान मरेछ ।’
‘ठुलामान म¥यो । के फरक पर्छ र ? हामी सर्वसाधारण आम मान्छेहरूको जीवनमा ।’
‘फरक पर्ला कि ! असाध्य भ्रष्टाचारी, सर्वसाधारण विरोधी ऊ सरकारमा पुगेपछि जनतालाई रैती सम्झन्थ्यो । विकास निर्माणको काममा पनि कमिसन खोज्थ्यो । समाजमा विशिस्ट र सर्वसाधारणको वर्ग विभाजन गरेर सामन्ती समाज संस्कृति कायम गर्ने ऊ । गरिब दुःिखहरूलाई शोषणमा पार्ने । ऊ आफु राजा महाराजा भएझैँ अरुलाई ‘बक्सियोस्’ भन्न लगाउथ्यो । ऊ मरेपछि त्यो ठाउँमा राम्रो मान्छे आयो भने फरक पर्ला कि.. ।’ 
दुवै जना केही नबोली सुस्ताउछन् । आफ्नै किसिमले सोच्छन् । साइला पनि आइपुग्छ । 
‘राम्रो मान्छे नै अब कहाँ छन् र ?! माथिदेखि तलसम्म सबैको चरित्र बिग्रेको छ । पार्र्टीको प्रशिक्षण नै भ्रष्टाचारमुखी भएको छ... ।’
‘त्यसो चाहिं नभनी हालौँ ।’ साइला भन्छ ।
‘पार्टीको झोलेहरू जसले बुध्दी विवेक पार्र्टीमा धरौटी राखिसकेका छन् नचाहिदो वकालत गरेर भ्रम फिजाउछन । खासमा यस्तैहरूले पार्र्टी बिगारेका हुन्, व्यवस्था बिगारेका हुन्  ।’
‘तिमी खुबै जान्ने ! नेताजस्तो जान्ने नहोउ ।’ साइला झनक्क रिसाउछ ।
‘हामी ठुलामान मरेको बारे कुरा गरिरहेका थियाँै ।’
‘हो, उसले जनता मारेर र देश लुटेर अतुल सम्पत्ति कमायो । माफियाको मतियार बनेर घृणित काम ग¥र्यो । आखिर उसले के लिएर गयो ?’
‘निम्न कोटीको ऊ ...’
‘घृणित ऊ... ऊ म¥यो । हामी सर्वसाधारण आम मान्छेहरूको भन्दा तुच्छ जीवन उसको ।’
‘हो नि मौका पाएर पनि महान् काम नगर्ने कमसल ऊ ...मरेछ । कसैलाई शोक लागेको छैन । असल मान्छे मर्दा पो सबै शोकाकुल हुन्छन् ।’

२०७५ कार्तिक ११ , विशालचौक



८६
रुवाइ

क्यान्टिनमा चिया खाजा खाईरहेका मानिसहरूको ध्यान सानो नानीको चर्को रुवाइले आकर्षित गर्छ ।
आमाबुबाले अनेक प्रयत्न गर्दा पनि रुवाइ रोकिदैन । नानीको एउटा हात प्लास्टर गरिएको छ ।
     पल्लो टेबलमा बसेको बूढा मान्छेको अनायास आँसु चुहुन थाल्छ.— कठै ! यस्तै मेरो टुहुरा नातिलाई कसले स्याहार्दै होला ? त्यसलाई स्याहार्ने बोजु अहिले आई.सि.यु.मा छे...।
अर्को छेउमा रहेको महिला पनि थाहै नपाइ त्यो रुवाइ सुनेर सुक्कसुक्क रुन थाल्छे— कठै, मैले छाडेको मेरो पहिलो पतिपट्टिको सानो छोरो ! अको पोइल गएर नाकाम काम गरेछु...।
अनेक प्रयत्न पछि बल्लतल्ल नानीको रुवाइ बन्द हुन्छ । सबै सन्तोष मान्छन् । 
तर बूढा मान्छे र महिला भने  झन् झन् बढि रुन थाल्छन् ।

२०७५।२।१३, सुमेरु अस्पताल


८७
सिडी र भ¥याङ

टाकुरा पुग्ने रहर सिडी र भर्याङ चढेर सम्भव हुन्छ ।
त्यहाँ पुगेपछि त क्या रमाइलो ! फलफूल लटरम्म । खानु अघाउनु अघि नै उनीहरू लोभिन थाल्छन् ।
त्यो रमाइलो टाकुरो आफ्नो एकलौटी पार्न आफूले चडेको सिडी र भ¥याङ अरूले चढ्न नपाउन् भनेर भत्काएर मिल्काउछन् ।
त्यसपछि फल टिपेर खान मात्र थालेका हुन्छन् कि उसले पो धेरै खान्छ कि, मीठो फल उसले मात्रै खान्छ कि भन्दै बाझाबाझ, लखेटालखेठ गर्न थाल्छन् ।
यसरी लखेटालखेठ गर्दा उनीहरूले देख्छन् त्यो त विकराल अग्लो चुचुरो रहेछ । सिडी र भ¥याङ भत्काएपछि ओर्लने कुनै उपाय छैन ।
सिडी र भ¥याङ भत्काएर एकलौटि बनाएको चुचुरो उनीहरूको काल चुचुरो बन्छ ।

२०७५।२।२७, बिशालचौक




८८
अनमोल आँसु

चिटिक्क सुकिलो एक जोडी कारबाट ओर्लेर मिठाइ पसल पस्छन् ।
‘हुन्छ । आज जति खान मन छ, खाऊँ ।’
तातो तातो जुलेबी, रसभरी र गुलियो मिठाई पत्नी खान थाल्छिन् । गुलियो खाँदा तिनको अनुहारमा तृप्ति देखिन्छ ।
पति भने भित्तातिर फर्केर पत्नीले नदेख्ने गरी आफ्नो आँसु पूच्छन् ।
मिठाइको झोल नलागोस् भनेर पत्नी बाहुला माथि सार्छिन् । फिस्टूला फर्फर चलिरहेको हुन्छ्र ।
खाईसके पछी पतिलाई तिनी कहिल्यै नदेखेको मनिसलाईझैँँ निकै बेर हेरी रहन्छिन् । तिनको अनमोल आँसु अचानक तुरुक्क चुहुन्छ ।

२०७४ जेठ २९, धरान











८९
एकल जीवन

हामी दुई प्रेमको आकाशमा उडिरहेका थियौँ । संसारको सारा सुख र आनन्द हामीसित थियो ।
अकस्मात डरलाग्दो कालले मेरो मायालुलाई गाँजेर निल्यो । मेरो सब लुटियो । एउटा पखेटा काटिएको म... अकस्मात मरुभूमिमा पछारिएँ ।
न उडन सक्छु, न चित्कार्न नै ! 
....

(तिमी एक पटक म¥यो
पटक पटक मर्दै बौरिन्छु तिम्रो सम्झनामा 
पटक पटक मार्दै बौराउँने तिम्रो सम्झना
हरियाली हराई पतझड बनेको मन
भोग्न विवश रङ्गहीन खल्लो एकल जीवन !)


२०७५।१०।२५, धरान









९०
विछोड
एक्लो छोरा पुल्पुलाएर हुर्किएको म; विवाहपछि पनि पत्नीले पुल्पुलाएरै सम्पूर्ण माया प्रेमले लपक्क भिजाएर सुखी बनाएरै राखिन् । एउटा आममान्छेले पाउने सबै थोक पाएँ । एकचालिस वर्षको दाम्पत्य प्रेमले म तृप्त छु ।
पुल्पुलाएर हुर्किएको मैले झन्डै रुवाईभित्रको आनन्द नभोगि मरेछु । जीवनको इन्द्रेनी सात रङ मात्र हेरेर झन्डै जीवनको नौरङबारे अनभिज्ञ भएछु । बिरामी पत्नीलाई बचाउन लाख कोसिस गरीयो ।  आखिर   मलाई एक्लै पारेर तिनी गइन् । त्यो तिनको स्वेच्छा होइन; प्रकृतिको नियम... !
पिताको मृत्युमा पनि यसरी रोएको थिइनँ । ‘कायरहरू रुन्छन्’— सम्झन्थे । पत्नीको विछोडले जत्ति मन थाम्छु  आँसुको भेल थाम्नै नसकिने भएर बगिरहन्छ । रुनु दैनिकी बनेको छ ।
पछुतो लाग्छ तिनको अन्तिम कालमा तिनको मनमा खेलिरहेको वेदना कष्ट बुझेर मैले केही सन्त्वाना दिने काम गर्नु पथ्र्यो । आफ्नै धुनमा बहकिरहेँ । अब—
‘मान्छे मरेपछि ...
सब समाप्त भयो 
जे भयो भयो सकियो
सम्झेर सोचेर केही हुँदैन ।’
मन थाम्ने कोसिसमा मन झन् बढि रुन्छ ।  अरुका अगाडि रुन्नँ ।  एक्लै हुँदाको रुवाइभित्र आनन्द मिसिएको हुन्छ कि ! आँसु वेदना पखाल्न बगिरहन्छ । 
 जीवनका भोग्न बाँकि रहेका सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— बिछोडको असह्य शोक जब मानिसको जीवनमा घट्छ, रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । त्यस्तो बेला रोइरहेको आँखाले देखिने आठौं रङ्ग हो । त्यसको खल्लो स्वाद पनि भोगियो । अनेकौं दुःख दर्द रिक्तता अभाव पीडा सन्ताप आघात यातना विछोड बियोगको असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य नवौ रङ्ग हो । त्यो नवौ रङको समुन्द्रमा अहिले म तैरिरहेको छु ।
 जीवनका सबै रङ र स्वाद चाखियो । नचाखेको भए म साँचो पूर्ण जीवनकोे अनुभूतिबाट वञ्चित हुन्थेँ । वियोग वेदनाले जीवन पूर्ण पार्दाे रहेछ ।

२०७५।१०।२२, धरान 

९१
आमा

बुहारीको देहावसानपछि आमाको ध्यान ममा केन्द्रीत भएको छ । बुहारी बाँचेको बेला आमालाई मेरो खाशै वास्ता हुँदैनथ्यो ।
पत्नीको बिछोडको बेदना पीडा असह्य हुँदोरहेछ । कस्तै बहादुर हुँ भन्ने मान्छेको पनि मुटु फुट्न खोज्दोरहेछ, आँसुको भेल उर्लेर आउँदो रहेछ । जता हेरे पनि जहाँ टेके पनि पत्नीको अभाव रिक्तता एवं सम्झनाले विक्षिप्त बनाउँदो रहेछ । अथाह वेदनाले सुस्केरा... असाध्य मन दुख्दोरहेछ ।
यो मेरोजस्तो वेदना सुस्केरा आमाले पिता खस्दा बेहोरीसक्नु भएकोले उहाँले मलाई हरतरहले सानो शिशुझैँ हेर्नु भो । खानेकुरा राखेर भोक लागेको बेला खानु, साथीभाइकहाँ जानु, मन थाम्नु, प्रकृतिको नियम आदि अनेक कुराहरू मेरो वेदना कम गर्नका लागि भनिरहनु भएको छ । मलाई अथाह गहिरो शोक सागरबाट निकाल्न अनेक प्रयत्न गरिरहनु भएको छ ।
९२वर्षकी आमाले ७१वर्षको मलाई सान्त्वाना पु¥याएर मेरो घाँउमा मलम लगाइ रहनु भएको छ । मजस्तै उहाँलाई शोकमा डुब्न नदिन पनि मैले सामान्य हुनै पर्ने भएको छ । पीडा वेदना शोक भुल्नै पर्ने भएको छ । तर भुल्न नसकेर रुन्छु ।
धन्य आमा ! आमा... आमा !! म बालकझैँ आमाको अगाडि रुन सक्छु । रुन्छुु ।

२०७५।९।९।२, धरान








९२
मुस्कान




म आइपुग्नासाथ तिनले भन्न थालिन्— “तीन वर्षकी नातिनी आई । यताउता सामानहरू हेरेर छरेर तपाईँको डायरी पल्टाई । डटपेनले कोरी । के मन भयो डायरीको गाता खोल च्याति । च्यातिसके पछि मलाई पुलुक्क हेरी । मुस्कुराइ अनि लुसुक्क हिँडि ।”
बिरामी भएपछि यति उत्साहसाथ तिनले कुनै कुराको वर्णन गरेकी थिइन । यी कुराहरू भनिरहदा अपुर्व किसिमले प्रसन्न थिइन् । मुस्कुराइरहेकी थिइन् । नातिनीको अबोध दिव्य मुस्कान तिनमा सरेको थियो । त्यो मुस्कान तुरुन्तै ममा पनि स¥यो ।
हामी दुई पुलकित भई एकसाथ मुस्कुराएको क्षण त्यही नै अन्तिम थियो ।
तिनी प्रसन्न हुँदा स्वतः म प्रसन्न हुन्थे । तिनको शारीरिक मानसिक अवस्थाले मलाई तुरुन्तै प्रभाव पाथ्र्यो । तिनको खुसीमा मेरो खुसी निर्भर थियो ।
त्यसपछि तिनको मृत्युको पुर्व आभासले हामी त्यसरी फेरि मुस्कुराउन सकेनौँ । 
तिनको त्यो अन्तिम मुस्कान नै मेरा लागि जीवनभर अविस्मरणिय भएर रहेको छ ।

२०७५ पुष २२, धरान








९३
साथ


कहाँ जाने, के गर्ने, सन्च भएन ?
भोक लागेको छ ? के खाने ?
जाडो भयो ? स्वीटर लगाउनुहोस् । ल्याई दिऊ ?
दिनभरको काम भयो, भएन ? धन्दा नमान्नुहास् । ज्यानभन्दा ठूलो काम होइन । खाजा ल्याइ दिऊ ?
सोध्ने जीवन सङ्गिनी छैन ।
सुख दुख खुशी हाँसो रोदनमा साथ दिने मायालु पत्नी छैन ।
विचलित मन अड्याउने, दुखेसो पोख्ने, गुनासो सुन्ने र सल्लाह सुझाव मात्र होइन ज्यानै दिने पत्नी छैन, छैन ।
तिनले त बाँचुन्जेल साथ दिएकै थिइन् । मृत्यु हाम्रो हातमा थिएन । रोगसँग सङ्घर्ष गरेर बाँच्ने कोसिस गरेकी थिइन् नै । तिनको अन्तिम कालसम्म मैले पनि साथ दिएकै थिएँ । रोगले जित्यो, तिनी मरिन् ।
म एक्लो भएको छु ।
पत्नी छैन । छैन । नाङ्गो आँखाले हेर्दा छैन । छैन ।
तर तिनको सङ्घर्ष सकिएको छैन । मैले आफूलाई सम्भालेर तिनको सङ्घर्षलाई निरन्तरता दिनु छ । मलाई हर सुख सन्तोष दिने तिनको चाहना अपूरो छ । सन्तानहरूको सुन्दर भविष्यको सपना अधुरो छ । स्वास्थ क्षेत्रमा रहेको अपूर्णता र अभाव...बाँच्न सक्ने बिरामीहरू पनि उपचार नपाई अकाल मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य भई स्वास्थ जीवनको प्रत्याभूतिको अधुरो सपना...
तिनले रचना गरेका सृष्टि मेरा वरिपरी छन् । म पनि त्यसको एउटा अंश हुँ । तिनको अस्तित्व अरूका लागि छैन । तर मलाई मेरो हर क्षण हर पल तिनको अपुरो रचनाहरु पुरा गर्न प्रेरित गरिरहेकी तिनी मेरो मनको भित्री तहमा छिन् बस्छिन् । मलाई जीवन र मरणसम्म साथ दिइरहेकी हुन्छिन् छिन् ।
तिनको साथ सदैव मेरो साथ छ ।

२०७५।९।८।१, धरान

९४
अर्को साल





“कोपा, एक्लै आउँनुभयो ?”
“कोमा गईहाली । कोसित आउनु र... ।” 
पाँच महिना अघिसम्म कोपा (बाजे) र कोमा (बोजु) नातिनीहरूको फिस तिर्न सँगसँगै आउँथे । सोधिसके पछि पो कोमा खसेको कुरा नातिनीलाई सम्झना हुन्छ । नातिनीको आँखाबाट अनायास आँसु खस्छ । 
नातिनी रोएको देखेर कोपा भन्छ— “नरो, म अझै जिउँदै छु । यो सालभर म एक्लै भए पनि तिमीहरूको फिस तिरीरहने छु । सुर्ता नगर ।”
“किन यो साल मात्र ? अर्को साल चाहीँ...।”
कोपा केही बोलेनन् ।
त्यो सालभर कोपाले नियमित रूपमा नातिनातिनीहरूको स्कुल फिस तिरे ।
अनेक रोगले जर्जर पारेको वृध्द शरीर ! जीवनको नियम...सालको अन्तिम महिना कोपाको पनि चोला उठ्यो । कोपाले अर्को साल देख्नै पाएनन् ।

२०७५।९।९।२, धरान










९५
दोधार


जर्जर शरीर रोगले खाएको । मन तिनको चार वर्षको यो बिरामी र डायलाइसिस अवधिमा कहिल्यै यसरी जर्जर भएको थिएन । “अब म बाँच्दिनँ” भन्दै रोइन् । तिनलाई सहज मृत्युवरण गर्न सक्ने विराङ्गना बनाउने मेरो प्रयत्न तिनको सामू रोएर धुलिसात हुन नदिन आँसु भित्रभित्रै छातीमा पचाएँ । अस्पतालको वार्डमा हामी दुई मात्र भएको बेला तिनी रातभर रोइन् । रून चाहेर पनि म रून सकिनँ । रोइनँ । 
तर भोलिपल्ट छोराको अगाडि छोराको कोठामा “तेरो आमा रातभरि कसरी रोई तर म रून सकिनँ” मात्र के भनेको थिएँ । क्वा क्वा रोएछु, रोएछु मनभित्रका वेदना पोख्दै ।
तिनको अवस्था हेरेर घर फर्काउने कुरा तिनलाई भन्दा अत्यन्त प्रसन्न भएकी थिइन् । त्यहि बेला मैले भनेको थिएँ— “मृत्युपश्च्यात सडिजाने शरीर धरानको अस्पताललाई दान दिऊँ ।” तिनी राजी भएकी थिइन् । फर्किनासाथ पहिलो काम हामी (तिनी र म) अस्पताल गएर शरीर दानको कागज पत्र गरेर हामी दुवैको एकसाथ शरीरदान गर्ने सल्लाह थियो । फर्किने सबै बन्दोबस्त मिलाएको अघिल्लो रात अकस्मात तिनको देहावसान भयो ।
अब तिनको शरीरदान गर्ने अधिकार कसैसँग थिएन र दाहसंस्कार परम्परा अनुसार गरियो । आफ्नो शरीरदान गर्ने मेरो दृढ इच्छा थियो । मरेपछि तिनको चिहानसँगै छेउमा मेरो चिहान रहोस्—एउटा मन भन्छ । मरिसकेकाहरूलाई मरेपछि सँगसँगै रहेको चिहानको के अर्थ हुन्छ र... अर्को मन भन्छ । शरीर दान गर् ।
लामो समयसम्म सँगसँगै बस्न नपाए पनि चिहानहरू सँगसँगै रहोस् भन्ने एउटा मनको जिद्दी...। शरीरदान गरेर उपकार कार्यमा सरिक हु भन्ने अर्को मनको आवाज... दोधारमा छु । 
केही दिन मात्र तिनी बाँचेकी भए सँगसँगै हामी दुवैले दुवैजनाको शरीरदान सँगसँगै गर्ने थियौँ । एक्लो म... आफ्नो शरीरबारे दोधारमा छु । ‘के गरौँ ?’ हर कुरामा साथ र सल्लाह दिने तिनी छैनन् ।
२०७५।९।१६, धरान
९६
अन्तिम सहारा

नौ महिना अगाडि १५ दिन आइ.सि.यु.मा ‘मर्छ कि बाँच्छ’को अवस्थाबाट बाँचेर वार्डमा सारेको हप्ता दिन भइसकेको थियो । तिनको भाई बेलायतमा थिए । अचानक बिरामि दिदी भेट्न तिनको भाई र बुहारी खबरै नगरी आएका थिए । सरप्राइज दिन खबर नगरेको रे । सरप्राइज भिजीट । १५ दिन बसेर भाई र बुहारी फर्किए । त्यति बेला डेढ महिना अस्पताल बसाइपछि तिनको डिस्चार्ज भएको थियो ।
दशै पनि मनाइयो । दशैंमा तिनले खाशै उत्साह देखाइनन् । केही कसैलाइ पर्खिरहेझै उदास उदास रहन्थिन् । तिहार आइरहेको थियो । विगत वर्ष धेरैवर्षपछि तिनले भाईसँग तिहार मनाएकी थिइन् । यसपालि पनि भाई र बुहारीको  सरप्राइज भिजीटको आश थियो होला ।
फेसबुक, टेलिभिजन हेर्न छाडेकी थिइन्  ।
फेसबुकमा भाई र बुहारी स्वीजरल्यान्ड, फ्रान्स पुगेको तस्वीर देखेर मैले ‘हेर्छौ’ भनेर सोधेँ, हेर्न चाहिनन् । भाई आउँछ कि भन्ने तिनको आशामा तुषारापात भएको थियो । तिनको अन्तिम तिहार खल्लो भयो ।
जाडो सुरु हुन थालेको थियो । डायलाइसिस गर्ने बिरामीहरूले मुख बार्न छाडे भने तिनीहरू बाँच्न चाहदैनन्  । दिनभर घाममा बाहिर तिनलाई राखेर म कोठाभित्र कम्प्युटरमा भुलिन्थे । खोकि लागिरहन्थ्यो । खोकि रोक्न भनेर भिक्स, हर्बल चकलेट खान्थिन्  ।  ति दिनहरूमा यति धेरै चकलेट खाएछिन् कि मैले थाहै पाइनँ । पछि एक झोला चकलेटका खोलहरू देखेर पो थाहा पाएँ ।
उल्टि आउन थाल्यो । नरोकिए पछि अस्पताल लान्छौँ । भर्ति हुन्छिन्, फेरिअस्पताल बसाइ । धेरैजनाको फोन आउँछ तर तिनी कुरा गर्न मान्दिनथिन् । वेलायतबाट भाइको फोन आयो । तिनले कुरा गर्न मानिनन् । कर गरेर  कुरा गर्न लगाएँ, भनिन् “भेट नहुने भो ।” रुन थालिन् । त्यो रूवाइ थाम्न मैले भनेँ ‘राम्ररी गरी खाउँ भन ।’ तिनले त्यसै भनिन् । त्यही नै भाईसँगको तिनको अन्तिम सम्वाद भयो ।
“बहिनी र नन्दलाइ भोलि बोलाइदेउ ।” तिनले भनेपछि मैले तिनीहरूलाई बोलाए । मृत्यु झेल्न मानिसलाई आफन्त र प्रियजनहरूको सहारा चाहिँदो रहेछ । म र छोराहरू छदै थियौँ । दिनभर बहिनी र नन्द बसेँ । अनेक कुराकानी गर्दै हेराहेर गरे । साझ परेपछि तिनीहरू फर्किए । त्यही रात तिनको अवसान भयो । बहिनी र नन्द नै अन्तिम सहारा भए ।

२०७५।१०।१९, धरान



९७
फेरि आँसु झर्छ

‘किन ढिलो भयो ?’
म भनौलाँ ‘हामी आउँदै गरेको शव वाहनसँग मोटर साइकल ठोक्कियो । कसैलाइ केही भएन तर कुरा मिलाउन प्रहरी चौकिमा एक ढेड घन्टा बस्दा ढिलो भो ।’
हँ, सोध्ने पत्नीकै शव लिएर म र छोराहरू फर्कदै छौँ ।
अब कसले पो सोध्ला र ?
मलाई मनमा लागेका कुराहरू सुनिदिने, साथ दिने हर क्षण हर पल मेरा लागि जीवन न्यौछावर गर्ने पत्नीकै शव लिएर फर्किरहेको यथार्थ...रोक्तारोक्तै आँसु झर्छ ।
‘    मलाई हामीले घुमेका ठाउँहरूको सम्झना आइरहेको छ । फेरि एक पटक ति ठाउँहरू घुम्न मन लागेको छ ।’ अस्पतालमा सिकिस्त बिरामी भएको बेला तिनले आफ्नो इच्छा जनाएकी थिइन् ।
‘तिमीलाइ निको पारेर ति ठाउँहरू घुमाउँछु ।’ भनेको थिएँ । अन्तिम कालका हाम्रा थुप्रै अपुरो रहरहरू सम्झदा आँसु झर्छ ।
गुडिरहेको शव वाहन । शव वाहनमा तिनको शव । जीवित हुँदाका हाम्रो हरेक सुखदुखका हर पलहरू सम्झेर आँसु झर्छ । जति सम्झन्छु आँसु झर्छ ।
     जति आँसु झरे पनि... मैले विचलित नभइ तिनको अन्तिम संस्कार सम्पन्न गराउनु पर्छ । सम्झेर रून त पूरै जीवन छदैँ छ ।


२०७५।९।७।७ धरान
 ९८
रूने किन ?



मरेकी पत्नी सम्झेर म रोइरहेको छु । घर सून्य, जता हे¥यो तिनको याद दिलाउने वातावरण...यहाँसम्म कि ओढेको लुगा पनि पोहोर पहाडतर्फ घुम्न जाँदा तिनैले किनेकी । सडक सँगसँगै हिडेको, छरछिमेक नातागोताहरूकहाँ सँगसँगै गएको... चौबिसै घन्टा तिनको अभाव तिनको बिछोडले खल्लो हुने मन ! नरोउ भन्दाभन्दै पनि मन रूने ।
जति रोए पनि, जति सम्झे पनि तिनी फर्कने होइन । जिउँदो हुँदा दिएको सुख सुख थियो । दुःख दिएँभने पनि... आँ, अब यी यस्ता कुराहरूको केही अर्थ छैन । मैले रूँदै सम्झेँ रे । मरिसकेकीको कुनै अस्तित्व छैन, छैन । अस्तित्व नभएको तिनको लागि रुनुको केही अर्थ छैन । म तिनको लागि रोएको होइन रहेछ । म आफ्नो स्वार्थको लागि रोइरहेको रहेछुँ । खान दिने, आराम दिने र शारीरिक मानसिक सुख दिने स्वास्नीको अभावमा रोइरहेको रहेछुँ । जिउँदो मानिसहरू सब आफ्नो स्वार्थमा केन्द्रीत हुन्छन् । म अपवाद हुन सक्तिनँ ।
साँचो अर्थमा तिनलाई श्रध्दान्जलि दिने हो भने तिनले आफ्नो अन्तिम कालखण्डमा मेरो सुखदुःखबारे कति धेरै चिन्ता गरेकी थिइन् । “म मरे पछि मेरो सब गहनाहरू आपूmसँगै राख्नु र दुःख पाउनु भयो भने बेचेर खानु । मेरो नामको मधेसको जग्गा पनि आफ्नै नाममा राख्नु । मेरो मोबाइल कसैलाई नदिनु, आफैसित राख्नु  आदि आदि...” रातभिर रूँदै तिनले भनेकी थिइन् । गहना र जग्गाको बारेमा तिनले जे भनिन् त्यो तिनी नहँुदा पनि मैले  बुढेसकालमा दुःख नपाओस् भन्ने चाहेर भनेकी थिइन् । मोबाइलबारे अहिले म बुझ्दै छु— स्वास्थले साथ नदिएर मलाई तिनले जीवनभर साथ दिन नसके पनि तिनको मोबाइल मसँग हुँदा त्यसले तिनको र तिनको प्रेम प्रतिविम्बित गरिरहने रहेछ । मोबाइल तिनको प्रेम र समर्पणको प्रतीकको रूपमा मेरो साथ रहिरहेको छ ।
तिनको आँसु थाम्नका लागि पनि मैले रुन हुन्नथ्यो । रोइनँ । तिनको आँसु थाम्नका लागि भनेको थिएँ— “मेरो चिन्ता नगर । जसरी पनि म मेरो जीवन बेहोर्ने छु । बरू आफ्नो स्वास्थको ख्याल गर । मनमा पटक्कै चिन्ता नलेउ ।”


मेरो यो भनाइले तिनको आँसु रोकिएको थियो । तिनी मबारे अलिकति भए पनि निश्चिन्त भएकी थिइन् । त्यति बेला रुन नपाएकैले अहिले म धेरै रोइरहेको छु ।
त्यति बेला निर्दयि भएर नरुने मानिस अहिले रुने किन ?
जिउँदो हुँदाको तिनको पतिप्रतिको समर्पण त्याग चिन्ताको आदर गर्ने हो भने अब मैले रुनु हुन्न । तिनको चाहना पूरा गर्न मैले आफू सुखी हुने प्रयत्नमा लाग्नु पर्छ । तिनका अधुरा कामहरू पूरा गर्नुपर्छ । 

२०७५पुष २१, धरान





















९९
चकलेट

पत्नीको मृत्युले विचलित मन लिएर म तिनको पर्स खोल्छु । पर्समा ११वटा चकलेट हुन्छ । डायलाइसिस गरिरहेकी तिनलाइ डाइवेटिजका कारण चकलेट बन्देज  थियो । लुकेर खाइरहेकी थिइन् ।
मलाई पनि डाइवेटिज भएकोले ति चकलेट वर्जित छन् । मृत्यु हुन अगावै तिनले सासुशसुराको चिहान हेर्ने इच्छा व्यक्त गरेकी थिइन् । दुइवटा चकलेट सासुशसुराको चिहानमा चढाउछु । एकवटा चकलेट  पिताको  चिहानमा र  अरु चकलेट रमाइलो मान्दै हामीले घुमेको स्थानहरूमा चढाउछु । एउटा चकलेट उबार्छु । त्यो एकवटा चकलेट आफ्नो लागि राख्छु ।
सम्झन्छु ‘एउटा मात्र चकलेट खान्छुुु’ तिनले भने पछि मैले दिएको चकलेट कति मीठो मानेर खाएकी थिइन् । त्यो चकलेट खाएपछि अत्यन्त प्रसन्न तिनी एकै क्षणपछि स्वर्गे भएकी थिइन् । त्यही चकलेट नै मेरो हातबाट अन्तिम उपहार भयो । त्यही चकलेट खाएर तिनले मृत्युवरण गरिन् । यदि मैले त्यो चकलेट नदिई नखाई तिनी मरेकी भए जीवनभर मलाई गुनासो रहिरहने हुन्थ्यो ।
तिनले लुकेर चकलेट किन खाइन् ? तिनी मलाई असाध्य माया गर्थिन् र मलाई बिरामि तिनलाई स्याहारीरहनुपर्ने बोझबाट मुक्त गर्न चाहन्थिन् । त्यसैले धेरै चकलेट खाएर सिकिस्त भइन् । तिनले मेरोबारे धेरै पटक चिन्ता प्रकट गरेपछि ‘म जसरी पनि  मेरो जीवन बेहोर्नेछुुु’ भनेँ । मैले त्यसो भनेपछि तिनले प्रसन्नतासाथ मृत्यु स्वीकारीन् ।    
मैले उबारेको त्यो एउटा चकलेट म सदैव साथमा राख्नेछु । जब म अत्यन्त थाक्छु र मृत्युवरण गर्न चाहन्छु । त्यो चकलेट खाएर जीवनको अन्तिममा म पनि तिनीजस्तै प्रसन्न भई तिनको सम्झना गर्दै मृत्युवरण गर्नेछु !


२०७५।९।६।६ धरान






१००
फ्रेमभित्र मुस्कुराइरहेको तस्वीर



जिन्दगी गरिबी र अभावमै बित्यो । भने जस्तो मीठोमसिनो खाने इच्छा, राम्रो लाउने रहर र देशविदेश डुल्ने कामना कहिल्यै पूरा भएन । एकप्रकारले अरूले दिएको जदौरी लाएर नै जिन्दगी काटियो ।
जुनबेला खान हुन्थ्यो बिहाको निम्तो खान जाउँ भन्दा तिनी जान मान्दिन थिइन् । धेरै बिहेहरूमा नगए पछि सोचेँ ‘किन जान मान्दिनन् ?’ शिक्षकको थोरै तलब महिनाभरको खर्च चलाउन पत्नीको गहनाहरू धितो राखियो । कति गहनाहरू त सावाब्याज तिर्न नसकेर पच भयो । बिहेमा जानका लागि गहनाहरू थिएनन् । आइमाइहरू बिहेमा गहनाले सजिएर पहेलै भएर आउथे । साथीभाइको अगाडि लाजमर्दो भइएला । तिनी जान्नथिन् । तर कहिल्यै गहना किन्दिएनौ भनेर गुनासो गरिनन् ।
बाजेको चौरासीमा क्यामेरा लिएर मधेस आउँनु भनेर बुबाले भन्नुभएको थियो । ति दिनहरूमा आजभोलिजस्तो डिजिटल क्यामेरा थिएन । ३६वटा फोटो खिच्ने रीलको दाम १२५ रूपिया पथ्र्याे । त्यो किन्ने पैसा नभएर नै बाजेको चौरासीमा हामी पतिपत्नी जान सकेनौँ ।
लाहुरे भाइले छुट्टीमा आउँदा गहना किनी दिन्थ्यो तर अर्को पटक आउँदा दिदीको नाक कान बुच्चै । यस्तो अवस्थामा फोटो खिचेर फ्रेममा सजाउने कल्पना नै हुँदैनथ्यो । तिनी बाचुन्चेल तिनको सिङ्गल ठूलो तस्वीर फ्रेमभित्र राखेर झुन्डाउन सकिएन ।
रोग लागेपछि त फोटो खिच्ने रहरै हरायो । मधुमेह, थाइराइड, उच्च रक्तचाप, मृगौलाको रोगहरू । डायलाइसिस गर्दागर्दै मुटुको रोग थपियो । आखिर रोगहरूले तिनलाइ पराजित गरे, तिनको प्राणान्त भयो ।
मृत्युपछि फ्रेमभित्र राखिएका तिनको नाममा श्रध्दान्जली पत्रहरू थुप्रै आए । ती फ्रेमभित्र राखिएका तिनको नामका श्रद्धाञ्जली पत्रहरू जति हे¥यो मन भक्कानिएर आउँने... आखिर रुवाएर नै छाड्ने । यसरी रोइरहने हो भने बाँच्न सकिन्न ।
फ्रेमभित्र राखिएका श्रद्धाञ्जली पत्रहरूको साइज नापेर त्यसै अनुसारको तिनको मुस्कुराइरहेको सिङ्गल तस्वीरहरू प्रिन्ट गरेर ल्याउँछु । श्रद्धाञ्जली पत्रहरू हटाएर ति फ्रेमहरूभित्र तिनको मुस्कुराइरहेको सिङ्गल तस्वीरहरू राख्छु । बाचुन्जेल फ्रेमहरूभित्र राख्न नसकिएको सिङ्गल तस्वीरहरू...मरेपछि नै भएपनि फ्रेमहरूभित्र राख्छु । र, फ्रेमहरूभित्र सजिएको तिनको मुस्कुराइरहेको तस्वीरहरू हेरेर म मुस्कुराउने असफल प्रय।स गर्छु ।

२०७५।९।२२ धरान
















१०१
जीवनको नियम

ूज्बखष्लन भहउभचष्भलअभम उबष्ल,
 यलभ अबल तचगथि गलमभचकतबलम षिभुक कगााभचष्लन।ू

जीवनको नियम अकाट्य र साश्वत छ । जीवनको नियम पनि युध्दकैजस्तो हुन्छ । युध्दको परिणाम जीत वा हार टुङ्गो नलागुन्जेल वीरतासाथ लडिरहनु हो । जीतमा प्राप्ति र हारमा ज्यानसमेत गुम्ने हुन्छ । 
खेलमा पनि युध्दको नियम लागु हुन्छ । जीत वा हार हुन्छ । खेलको नियम मान्छेले बनाएको हो । त्यसमा फेरबदल गर्न सकिन्छ । प्रतियोगितामा भाग लिने सबै खेलाडिले जित्दैन । हार्ने निश्चित भए पनि खेलको अन्तिम समयसम्म अथवा हारजित नभएसम्म खेलाडिले उत्साहसाथ खेल्छ । आफ्नो खेल कौशल देखाइरहन्छ ।
मैले पनि युध्दमा योद्धाले झैँ, खेलमा असल खेलाडिले झैँ आफ्नो बिरामी पत्नीलाइ बचाउन सङ्घर्ष गरेँ । सबै सामथ्र्य लगाएँ । सम्पत्ति खर्चेँ । आखिर प्रकृतिको नियम... म, डाक्टर र अहिलेको स्वास्थविज्ञानले तिनलाइ बचाउन सकेन । अल्पायुमै तिनको निधन भयो । 
निधन हुनेबेला सम्म पनि ‘मर्दैछुु’ भन्ने तिनको एउटा मनले भनिरहेको अवस्थामा पनि तिनको अर्को मनमा ‘बाँच्छु कि’ भन्ने आशा जगाइरहन सक्नु मेरो जीत थियो । जीउँदा मानिसहरू छुट्टिदा झै मर्ने मान्छेसँग छुट्टिन नपाइदो रहेछ । मर्नेले थाहै नपाइ अपर्झट अकस्मात आँखाको झिमिक्कमा सहज मृत्युवरण तिनको !
झट्का ! रङ्गहीन अन्धकार चारैतिर...अकस्मात अकल्पनिय झट्काले खुत्रुक्कै हुन्छु । कत्रो ? कस्तो ? भोगेपछि मात्र थाहा हुन्छ । निमेषभरमै रङ्गीन दुनिया भष्म... पखेटा काटिएर उजाड मरुभूमिमा खसेको पन्छीझैँ  म  त्यो अवस्थाकोे वर्णन गर्न सक्तिनँ ।  धुलोपिठो चकनाचुर जीवन... भोग्न विवश म !
जीवनको प्राकृतिक अकाट्य र साश्वत नियम ! कहाँ जीवनको सांसारिक पीडाबाट मुक्ति पाउँन सकिदो रहेछ र ? यो पनि जीवनको नियम रहेछ !!!

२०७५ माघ ९ बुधबार , धरान

 

सरण राईको परिचय 


नाम ः सरण राई   पुरा नाम ः सरण कुमार राई बान्तावा रूपाबुङ, (सामेत–छाङछावा), सेवा निवृत सह प्राध्यापक (त्रि. वि.) एवं साहित्यकार
जन्म स्थान ः छिनामखु, भोजपुर, (हाल–टेम्केमैयु गाउँपालिका)
जन्म मिती ः २००४ चैत २४, सोमबार (इश्वी सन १९४८अप्रिल ५) तिथी ११
शिक्षा  ः एम.ए. (अर्थशास्र)
ठेगाना ः १९÷१३९, धनकुटेरोड, धरान, प्रदेश नं. १,  नेपाल
पत्नी ः स्व.लक्ष्मी राई चामलिङ हमराछा, जन्म–२०१० असार २९, आइतबार (इश्वी सन १९५३ जुलाई १२) तिथी १, जन्मस्थान– खार्ताम्छा, दिक्तेल, विवाह–२०३४ फागुण २२, स्वार्गरोहण– २०७५ मङ्सिर २५, मङ्गलबार, (सुमेरु अस्पताल, धापाखेल,ललितपुर) सामेत–सिवीली, पितामाता–स्व.कटकबहादुर राई र स्व. रानीमाया राई बाजे–         स्व.गजुरमान राई भाईबुहारी– स्व.लोकराज राई र सप्तलछी राई, मुलुकराज राई र कुमारी राई, कमलराज राई र सञ्जिता राई
माता पिता ः शिवमाया राई बान्तावा रुछेनबुङ र स्व.मछिन्द्रबहादुर राई
बाजे बोजु ः स्व. ह. कुलमर्दन राई र स्व.कृष्णकुमारी राई
परिवार ः
 छोरा बुहारी– शैलेश राई र  अन्जना राई चामलिङ मुल्याछा, सायन राई र कौशीला राई गुरुङ, सृजनसरण राई, नातिनातिनी– सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई, शुभेन्द्र राई, सेलिन राई,   बहिनी ज्वाई– शुदेशा राई बोहोरा र देबेन्द्र बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र शिवकुमार गुरुङ, भान्जाभान्जी र ज्वाई– अनु बोहोरा डि.सी. र बीरेन्द्र डि.सी, इन्दिरा बोहोरा, डा.दिवशराज बोहोरा र अस्मिता बोहोरा, अमृत गुरुङ र सम्झना राई गुरुङ, सुबिधा गुरुङ.
नोकरीः 
(१)प्रधानाध्यापक–त्रिभुवन धर्मोदय नि.मा.विद्यालय, छिनामखु, भोजपुर(२०२६) 
(२) प्रधानाध्यापक–अरनिको नि.मा.विद्यालय, राजघाट, मोरङ(२०२७) 
(३)अनुसन्धान सहायक–आर्थिक विकास तथा प्रशासन केन्द्र, कीर्तिपुर (२०३०–२०३१)

(४)सह प्रध्यापक– त्रिभुवन विश्वविद्यालय (२०३१–२०६४)
राजनैतिक संलग्नताः 
(१) केन्द्रीय सदस्य–अ.ने.रा.स्व.वि.यु.(२०२६–२०२८) 
(२) सभापति– नेपाल प्राध्यापक संघ, महेन्द्र वहुमुखी क्याम्पस एकाइ समिति, धरान (२०४२–२०४३) 
(३) केन्द्रीय सदस्य– नेपाल प्राध्यापक संघ, (२०४४–२०४५)
(४) जिल्ला समिति सदस्य–ने.क.पा.(माक्र्सवादी) सुनसरी जिल्ला समिति (२०४७)
(५) राष्ट्रिय पार्षद– ने.क.पा.(माले) (२०५६–२०५९)
(६) सचिव– ने.क.पा.(माले) जिल्ला समिति (२०५८)
(७) सदस्य– ने.क.पा.(एमाले) जिल्ला समिति (२०५८–२०६२) 
(८) सदस्य– ने.क.पा.(एमाले) अञ्चल सल्लाकार समिति, कोशी(२०६३–२०६९)
(९) केन्द्रीय सल्लाकार सदस्य– संघिय समाजवादी फोरम (२०७०– २०७५ )
सामाजिक संघ सस्थामा संलग्नताः
(१)सचिव– प्रगतिशील लेखक संघ सुनसरी जिल्ला समिति, (२०२४–२०२६)
(२)सदस्य–नेपाल चेस्ट क्लिनिक (२०३४)
(३)अध्यक्ष– जनहित युवा वमात (२०३७–२०३९)
(४)सचिव– नेपाल जनजाति उत्थान मञ्च (२०४६–२०४८)
(५ अध्यक्ष – नेपाल जनजाति उत्थान मञ्च (२०४८–२०६०)
(६) केन्द्रीय सदस्य– किरात राई यायोक्खा (२०४९–२०५२)
(७) केन्द्रीय सदस्य–नेपाल आदिवासी जनजाति महासंघ (२०५०–२०५२) 
(८)उपाध्यक्ष–सुनसरी जिल्ला समिति, नेपाल बुद्धिजिवी परिषद (२०५४–२०५४)
(९)सदस्य– साहित्य अनुसन्धान परिषल–नेपाल (२०५८– हालसम्म)
(१०)सदस्य–छनोट समिति, बि.पी.स्वास्थ विज्ञान प्रतिस्ठान (२०६१–२०६३)
(११) केन्द्रीय उपाध्यक्ष–नेपाल लोकतान्त्रिक किरात राई संघ (२०६४–२०६६)
(१२) अध्यक्ष –कञ्चनजङ्घा इन्स्टीच्युट अफ हेल्थ साइन्सेज (२०६५–२०६९)
(१३) अध्यक्ष –बिहानी प्रकाशन सहकारी संस्था लि.(२०६४–२०६९)
(१४) केन्द्रयि अध्यक्ष– किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिस्ठान ( किरात राई बान्तावा खिम)(२०६९–२०७४)




प्रकाशित  पुस्तकहरू –
१. केही कथा केही कविता (सहलेखनं)२०३९  
२.साथी  (निबन्ध सङ्ग्रह)२०६४ 
३.मानव संसार (उपन्यास) २०६५ 
४. अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित) 
५. ओइलिने फूल (कविता  सङ्ग्रह )  २०७०
६.उडान युवा मनको  (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा  नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको ) 
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर  

७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८. नौरङ्गी (लघुकथा सङ्ग्रह) २०७६ (हातमा)

पुरस्कारः—
१.राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
२. त्रि.वि. दिर्घ सेवा पदक (२०५८) 
३. भानु रचना पुरस्कार—२०७१ (भानु वर्ष ५१, अङ्क १७८  मा प्रकाशित कथा ‘आमाको मन’ का लागि)
 
सम्मान अभिनन्दन
१ं नेपाल प्राध्यापक संघ, महेन्द्र ब। क्याम्पस एकाइ समिति, धरान (२०६३ं) 
२. त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस, एकाइ समिति, धरान (२०६४) 
३.कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६) 
४. नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
५.नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल  (२०६६) 
६.सुनसरी साहित्य परिषद (२०६७)
७. लक्ष्मी वाचनालय, धरान (२०६८)
८.जनसाहित्यिक मञ्च, नेपाल (२०६८) 
९.किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
१०.प्रबोध, मासिक पत्रिका (२०६८)
 ११.प्रगतिशील लेखक संघ नेपाल, सुनसरी शाखा (२०६९)
१२.पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९)
१३. श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९) 
१४. समिट उच्च मा. वि., धरान (२०७०)
१५.धरान साहित्य महोत्सव समारोह समिति ( २०७१)  
१६. कवि शिरोमणि साहित्य–साधना समाज, धरान (२०७१) 


भ्mबष्(ि(   चबष्कबचबलछण्२नmबष्।िअयm  
फोन नं. –९७७ २५ ५२०७४२ 
मोबाइल–ं९७७  ९८४२०५५२६२




















Comments

Popular posts from this blog

नाैरङ्गीबारे शुभकामना मन्तव्य